काठमाण्डौ । विदेशमा अध्ययन गर्न जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ अब अनलाइनबाटै लिन सकिने भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले आज एक कार्यक्रमबीच विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृतिपत्र लिनसक्ने व्यवस्थाको सुरुआत गरेको हो। शाखाले आजबाटै लागू हुने गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृतिपत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको छ ।

अब विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट लिनका लागि घरमै बसेर फर्म भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्न सक्नेछन्। विद्यार्थीले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको छ। 

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृतिपत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई शाखाले कार्यान्वयनमा ल्याएको हो।