काठमाण्डौ । नेपाल ईन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष साथै नेपाली वाणिज्य महासङ्घको पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सरकार र मातहतका निकायहरुले पूँजीबजारलाई प्राथमिकतामा नपारेका र लगानीकर्तालाई गलत दृष्टिकोणले हेरेको दाबी गरेका छन् । 

नेपाल पूँजीबजार विकास अभियानका संयोजक तिलक कोइरालाले आगामी असार १ गतेदेखि १९ बुँदे मागसहित खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडि अनसन बस्ने भनी घोषणा भएपछि सो अभियानलाई सहयोग गर्न लगानीकर्ताहरुको शनिवार भृकुटीमण्डपमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

सो क्रममा बजारका भेटेरान लगानीकर्ता समेत मानिने पौडेलले बजार घट्ने कारण, बजार बढ्नका लागि आवश्यक सुधारका उपाय लगायतका विषयमा समेत आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । 

'गाडीको लागि पेट्रोल डिजेल आवश्यक हुन्छु पौडेल भन्छन्,'तर गाडीको इन्जिन चलाउन र गन्तव्य सम्म पुर्‍याउन अझ बढी आवश्यक मबिल, ग्रिजको हुन्छ। पुँजी बजार पनि त्यस्तै हो। यहाँ पेट्रोलले मात्र गाडी चल्छ, मबिल र ग्रिजले चल्दैन भन्ने सरकारी निकायहरूको बुझाई छ।'

लगानीकर्ताहरू पुँजी बजार बढ्दा मात्र खुसी हुन्छन्। बजार घट्यो भने आत्तिन्छन, आन्दोलन गर्छन्, दबाब दिन्छन् भन्ने किसिमको राष्ट्रबैंक, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड लगायतका हाम्रा नियामकहरूमा भएको सोच चिर्न आवश्यक छ।’ उनले भने।

नीतिगत अस्थिरता
‘आज हामी लगानीकर्ताहरू बजार घट्यो भनेर जम्मा भएको होइन। हामी बजार घटेको पनि बढेको पनि सहन सक्छौ। विश्वभरको पुँजी बजारमा नै बजार बढ्ने घट्ने प्रक्रिया हुन्छ। तर नीतिगत अस्थिरताका कारणले बजार घटेपछि हामी आन्दोलित हुन् बाध्य भएका छौ।’, उनले भने।

'बजार विकास विस्तार र सुधारको लागि काम गर्देऊ भनेर हामी बारम्बार आन्दोलित हुनु परेको छ। हामी बजार घटेको र बढेको दुवै सहन्छौ। बजार घट्यो भनेर हामीले गुहार मागेको होइन' पौडेल भन्छन्-'तर नियामक निकायहरूको अस्थिर नीतिहरूको कारणले बजार घटेको हामी सहदेनौ।’

आजभन्दा ३ वर्षअघि पुँजी बजार विकास र विस्तारका लागि लगानीकर्ताहरूको आधिकारिक सङ्घ सङ्गठनले दिएका ५८ वटा सुझावहरू कार्यान्वयनको लागि सरकारले नै कमिटी गठन गरेको थियो। तर उक्त विषयहरूमा आजसम्म कार्यान्वयन नभएकोमा उनले आपत्ति जनाए । 

'त्यस्तै हामीले नियामकहरूलाई कम्पनीको बारेमा विभिन्न टिकाटिप्पणी नगरिदेउ, ब्रोकरको क्षेत्र अधिकार विस्तार गर,  बैंकलाई ब्रोकर लाइसेन्स देऊ भनी लगानीकर्तालाई सहज बनाइदेऊ भन्दै आएका छौु पौडेल भन्छन्, 'तर नियामकहरूबाट जहिले पनि नीतिमा अस्थिरता बनाएर लगानीकर्ताहरूलाई पासो बनाएर सकाउने कार्य मात्र भयो।'

सो क्रममा उनले ५२ लाख डिम्याट होल्डर प्रत्येक घर प्रत्येक टोलमा रहेका र उनीहरू प्रत्येकले पुँजी बजारलाई एउटा व्यवसाय मानेका उल्लेख गर्दै पुँजी बजार आम लगानीकर्ताहरूको लागि आफूले गरेको थोरै बचत लगानी गर्ने ठाउँ भएको र सोही रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । 

‘नियामकहरूले समयमा राम्रो कुरा सहितको अन्तर्राष्ट्रिय अभ्यासमा भएका कुराहरू ल्याइदेऊ भनेको हौ। होइन भने पुँजी बजार सुधैका लागि बन्द गरिदेऊ। यसरी लगानीकर्ताहरूलाई पासो थाप्ने बजार हामीलाई किन चाहियोर ?’ प्रश्न गर्दै पौडेल भन्छन्,'नीति निर्माताले नबुझेका कारण हामी सधैँ भिक्टिम भई रहनु परेको छ।'

'हामीले लगानीकर्ताहरूलाई संरक्षण गर भनेको छैनु पौडेल भन्छन् 'हाम्रो एउटै मात्र माग एकरूप समान नीति ल्याइदेऊ भन्ने हो।'

राष्ट्र बैंक, धितोपत्र बोर्ड, अर्थ मन्त्रालय लगायतको निकायहरूमा व्यक्तिगत रूपमा यी कारणहरूले, यी नीतिहरूले गर्दा बजार बिग्रियो भनी आफ्ना कुराहरू राख्दा पनि लगानीकर्ताहरूलाई अपभ्रंश बनाएर बजार घट्यो भने मात्र चिच्याउँछन् भन्ने बनाइएकोमा रोष प्रकट गरे । ‘हामीले बजार बढेर ३२०० हुँदा पनि यी कुरा आवश्यक छ भनेर बजेटमा, मौद्रिक नीति मार्फत सुझाव दिएका थियौ। तर हामीले दिएको सुझावहरू अहिले सम्म मनन भएन।’, उनले भने।

पुँजी बजार बिगार्ने, अस्थिर बनाउने, लगानीकर्तालाई उत्तेजित बनाउने, लगानीकर्तालाई मनोबल गिराउने जस्ता काम नीति निर्माताहरूबाटै भइरहेको उनको आरोप छ । 

सेयर कारोबार रोक्का
विश्वव्यापी मूल्य मान्यताअनुसार नै बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर बजारमा कारोबार गर्न देऊ भनेको उनले प्रष्ट पारे । ‘तर हिजो राष्ट्र बैंकले बजार बढेको बेला आफैले खोलेको लघुवित्त कम्पनीहरूलाई समयसीमा तोकेर नै अनिवार्य रूपमा सेयर बेच्नु पर्छ, हटाउनु पर्छ भनेर निर्देशन दिँदा आम लगानीकर्ताहरूले उक्त सेयर किन्न बाध्य भए। जसका कारण बजारमा आज यो अवस्था सृजना भएको छ।’–उनले भने।

‘दुनियाँमा कतै नभएको यी संस्थाहरूले यतिभन्दा सेयर कारोबार गर्न पाइँदैन भन्न मिल्छरु’ उनले प्रश्न गर्दै भने । 

फेक आइडीको आतङ्क
उनले लगानीकर्ताहरूलाई विवादित हुने किसिमको कुनै कार्यहरू नगर्न पनि अनुरोध गरे । ‘साना लगानीकर्ता, ठूला लगानीकर्ता, बजार बुझेका लगानीकर्ता, बजार नबुझेका लगानीकर्ताहरू भन्ने हुँदैन।, उनले भने–‘सामाजिक सञ्जालमा भएका फेक आइडीहरू बहिष्कार गर्न आवश्यक छ। फेक आइडीबाट लगानीकर्ताहरूलाई नचाहिने कुरामा विवादित गरिने कार्य भइरहेको छ। पुँजी बजारको लागि राम्रो सोच्ने, बुझेको कुरा गर्नेले फेक आइडीको सहारा लिनु पर्दैन।'

४/१२ को नीति
पुँजी बजारमा ४/१२ को नीतिले बजारमा आफूसँग भएको पुँजी सतप्रतिशत लगानी गर्ने सबै लगानीकर्ताहरूलाई गाह्रो भएको उनको विश्लेषण छ । ‘लोन लिन पाउने लगानीकर्ताहरूको अधिकार होइन र ?’ प्रश्न गर्दै पौडेल भन्छन्, 'होइन भने पुँजी बजार व्यापार नै होइन भन्ने घोषणा गरी बन्द गरिदिनुपर्छ।'

लगानीकर्ताहरूले आफ्नो हैसियतअनुसार लोन लिन्छु भन्न पाउनुपर्नेमा उनको जोड छ । ‘तर आज यस्ता विषयहरूमा राज्यका निकायका अव्यवहारिक नीतिले गर्दा नै लगानीकर्ता प्यानिक भएका छन्। दुनियाँमा कतै नभएको कुरा हामीलाई पनि चाहिँदैन।’उनले थपे–‘हामीले अन्तर्राष्ट्रिय बजारमा भएका वेस्ट प्राक्टिस चाहियो मात्र भनेका छौ। त्यसैले नियामकहरूले हाम्रो माग बुझ्न आवश्यक छ।’

बजारमा विविध प्रडक्टको आवश्यकता
नेपाली पुँजी बजार आज पनि सामान्य 'वान वे' पुँजी बजार रहेको उनको दाबी छ ।  बजारमा विविध प्रडक्टहरूको आवश्यकता रहेको उनले बताए । ‘त्यसबारे विचार गर्नु पर्दैन ?' प्रश्न गर्दै पौडेल भन्छन्,'लगानीकर्ताहरूको लागि राज्यका निकायहरूका मान्छेहरू एक इन्च पनि संवेदनशील नभएको देखिन्छ।'

आज नोक्सानी हुँदा लगानीकर्ताहरूलाई मात्र नभएर सबैलाई नोक्सानी भएको तथ्य नबिर्सन उनले राज्य र तिनका निकायलाई आग्रह गरे । ‘आज ठूलो मात्रामा कर घटेको छ, अन्य क्षेत्र सुषुप्त हुँदा पुँजी बजारले गर्दा पुँजी बजारले नै तरलता प्रदान गरेको थियो। त्यसैले पुँजी बजारमा तेल मात्र हालेर हुँदैन, समय समयमा ग्रिज, मबिल लगाउन पनि उत्तिकै आवश्यक हुन्छ।’

मर्जर र सेयर रोक्का
‘मर्जर र प्राप्ति हुँदा दुनियाँमा कतै पनि सेयर कारोबार रोक्का गरिँदैन। हामीले पटक पटक नियामक निकायहरूलाई मर्जर र प्राप्ति हुँदा सेयर कारोबार रोक्का गर्नु हुँदैन भनेर माग पनि उठाएका थियौ। तर आज प्रविधिको विकास, लगानीकर्ताहरूको सङ्ख्या बढेको अवस्थामा पनि उक्त व्यवस्थाले नै निरन्तरता पाएको छ।’ उनले भने–‘ सबै नराम्रो कुराको सँगालो हो त हाम्रो नेपाली पुँजी बजाररु वर्षौँसम्म नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर रोक्का गर्दाको पीडा आज लगानीकर्ताहरूलाई भएको छ। लामो समयसम्म कारोबार रोक्दा कति लगानीकर्ताहरूलाई समस्या परेको छ।  कतिको घर खर्च व्यवहार चलाउनु पर्ने हुन्छ। कतिको लोनमा हुन्छ। लामो समयसम्म इन्भेस्टमेन्टको कारोबार रोक्का भएको कारण नै आज कम्पनीको मूल्यमा डिजास्टर आएको छ।'

लगानीकर्ताहरू ४ वर्ष, ३ वर्ष अघिदेखि सारेको मागहरु राखेर फेरि आन्दोलित हुनु परेको र आफूहरु नोक्सानी जति पनि लिन तयार रहेको, पूर्ण रूपमा नाफामा राज्यलाई कर तिर्न तयार रहेको, तर आफ्ना मागहरूको विषयमा गम्भीर बनिदिनुपर्नेमा उनको जोड छ । ‘हाम्रो लागि मात्र छ भने हामी कम्प्रमाइज गर्न पनि तयार छौ। तर हाम्रो बजार पुँजी बजार जस्तो बनाईदिनुस।’, उनले भने।

उनले अगाडि थपे–‘हामीलाई पटक–पटक नीतिगत अस्थिरताले आन्दोलित नबनाई दिनुस् भन्ने मात्र हाम्रो माग हो। हामीलाई पटक–पटक अस्थिर नीतिहरूले प्रहार नगरियोस्, अन्तर्राष्ट्रिय स्तरका नीति अवलम्बन गरियोस्, लगानीकर्तालाई सेयर बजार लगानीको एउटा प्लेटफर्म हो भन्ने महसुसको होस् भनेर नै हामी आज जम्मा भएको मेरो बुझाई छ।’