काठमाण्डौ । नवस्थापित स्वतन्त्र पुँजी बजार संघको नेतृत्वमा लगानीकर्ताहरु पुँजी बजार सुधारका माग राख्दै आन्दोलनरत छन्। उनीहरुले माइतीघर मण्डला, नेपाल राष्ट्र बैंक, नियामक निकाय; नेप्से र सेबोनका साथै सामाजिक सञ्जालहरुमा निरन्तर पुँजी बजार सुधारका मागहरु उठाउँदै आएका छन्।

सेयर धितो कर्जाको ४ करोड र १२ करोडको नीति खारेज गर्नुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स, ब्रोकर कमिसन घटाउनुपर्ने, बजारमा स्थिर नीति ल्याउनुपर्नेजस्ता मागसहित लगानीकर्ताहरु आन्दोलनमा छन्। 

स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्कीले बजारको हित र सुधार चाहने आमलगानीकर्ता, सरोकारवाला साथै संघसंगठनहरुलाई एकीकृत भएर मोर्चा खडा गरी अगाडि बढ्न आग्रह गरेका छन्। ‘पुँजी बजारलाई अहिले नियामक निकायहरुले नियमन गर्नेभन्दा पनि नियन्त्रण गर्न खोजिएको देखिन्छ। त्यसैले यस्ता कदमका विरुद्ध एकढिक्का भएर अगाडि बढ्न आवश्यक छ’, उनले भने।

‘मौद्रिक नीति आएको पहिलो दिनदेखि नै हामीले सडक साथै सामाजिक सञ्जालहरुमा खबरदारी गरिरहेको छौँ, हाम्रा माग पूरा नभएसम्म हामी निरन्तर सडकमै हुने छौँ’, कार्की भन्छन्, ‘अहिले बजारमा झन्डै ७०० अंकको करेक्सन आएको छ। यसका साथै मौद्रिक नीति आएको डेढ महिनापछि मात्र केही लगानीकर्ता संगठनहरु बोल्दा आमलगानीकर्ता अचम्मित छन्। ढिलै भए पनि उहाँहरुको विज्ञप्ति आएको छ।’

नियामक निकायहरुले कडाइ गर्दा, बजारलाई हानी गर्ने कुनै पनि कदमहरु उठ्दा, दिगो पुँजी बजार बनाउन साथै ठूलो संख्यामा आएको नयाँ लगानीकर्तालाई संरक्षण गर्दै पुँजी बजार लगानीका लागि सुरक्षित भएको विश्वास दिलाउनका लागि आफूहरु आन्दोलनमा उत्रिएको कार्कीले स्पष्ट पारे। ‘अहिले जसरी बजार घट्यो, त्यो अस्वाभाविक र अप्राकृतिक छ’, उनले भने। विगत केही दिनको कारोबार रकम र लगानीकर्ताको मनोबलका साथै प्राविधिक विश्लेषणले पनि अब बजार बढ्ने संकेत देखाएको पनि कार्की बतिाउँछन्। ‘अब प्यानिक सेल सकिएको देखिन्छ’, उनले भने, ‘केही समयपश्चात् नेप्से परिसूचकले पुरानो रेकर्ड ब्रेक गरेर नयाँ अल–टाइम हाई बनाउनेमा विश्वस्त छु।’ 

‘अहिले धेरैजसो कम्पनीका सेयर सस्तो मूल्यमा आएको छ। त्यसैले अहिले स्टप–लस गर्नेभन्दा पनि राम्रा कम्पनी छनौट गरेर खरिद गर्ने बेला हो’, सुझाव दिँदै कार्कीले भने, ‘रातपछि दिन आउने ध्रुवसत्य कुरा हो। बजार निरन्तर घट्ने भन्ने हुँदैन, बजार जसरी घट्छ त्यसरी नै बढ्छ।’