प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५/७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाण्डौले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको अन्त्यपछि प्रदेशको अर्थतन्त्र चालू आवमा सकारात्मक दिशातर्फ बढेको पाइएको छ । 
 
केन्द्रीय तथ्याङ्क विभागले प्रदेश नं ५ ले चालू आवमा ७ दशमलव ३७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने जनाएको छ । प्रदेशमा चालू आवको ६ देखि नौ महीनासम्मको आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा तयार गरिएको तथ्याङ्कअनुसार कूल गार्हस्थ्य उत्पादनको स्थिर मूल्य वृद्धिदर आधारभूत मूल्यमा ७ दशमलव ३७ प्रतिशत हुने विभागको प्रारम्भिक अनुमान रहेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो । 
समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीयक र सेवा क्षेत्र गरी तथ्याङ्क विश्लेषण गर्दा विगत दुई वर्षमा प्राथमिक क्षेत्रको कूल गार्हस्थ्यमा योगदान केही घट्न गए पनि द्वितीयक र सेवा क्षेत्रको योगदान बढेको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रदेशमा चालू आवकोे कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र अर्थात् कृषि तथा वन, मत्स्य, खानी तथा उत्खनन क्षेत्रले ३१ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ । 
 
अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर ६ दशमलव ३ प्रतिशत हुने अनुमान छ । यस्तै द्वितीयक क्षेत्रअन्तर्गत निर्माण, उद्योग, विद्युत्, ग्यास र पानीको १८ प्रतिशत योगदान छ । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि दर ८ दशमलव १ प्रतिशत हुने अनुमान गरिएको छ ।
 
सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेण्ट, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रको ५२ प्रतिशत योगदान रहेको अनुमान छ । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर ७ दशमलव ७ प्रतिशत हुने अनुमान छ ।
 
औद्योगिक वर्गीकरणअनुसार चालू आवमा कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले ३१ प्रतिशत तथा गैरकृषि क्षेत्रले ६९ प्रतिशत योगदान दिएको विभागले जनाएको छ । आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि तथा वन क्षेत्रले ३० दशमलव १८ प्रतिशत योगदान दिएको छ । यस क्षेत्रको मूल्य अभिवृृद्धि वार्षिक वृद्धिदर ६ दशमलव २८ प्रतिशत रहने विभागको अनुमान छ । प्रमुख बाली धान, गहुँ, मकैलगायतको  उत्पादनमा वृद्धि भएकाले वार्षिक वृद्धिदर बढेको हो । यस प्रदेशमा चालू आवमा आधिकांश कृषि क्षेत्रको उत्पादन बढ्ने अनुमान गरिएको छ । मत्स्यपालन क्षेत्रले ० दशमलव ७५ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रको ० दशमलव ६९, उद्योग क्षेत्रले ६ दशमलव ४६, विद्युत्, ग्यास र पानीले ० दशमलव ७४, निर्माण क्षेत्रले ९ दशमलव  ६८, थोक तथा खुद्रा व्यापार क्षेत्रले १० दशमलव ३९, होटल तथा रेष्टुरेण्ट क्षेत्रले १ दशमलव ७३ तथा यातायात, सञ्चार र भण्डारण क्षेत्रले ७ दशमलव ०५ प्रतिशत योगदान दिएको विभागले जनाएको छ । 
 
वित्तीय मध्यस्थताअन्तर्गतका बैंक तथा बीमा कम्पनी, सामाजिक सुरक्षा योगदान क्षेत्रले ४ दशमलव ४४, रियल स्टेट तथा व्यावसायिक सेवा क्षेत्रले ६ दशमलव ८४, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले चालू आवको कूल गार्हस्थ्य उत्पादनमा ३ दशमलव २३, शिक्षा क्षेत्रको ८ दशमलव ८४, स्वास्थ्य क्षेत्रको २ दशमलव ४३ तथा अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रले ६ दशमलव ५५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागका अधिकृत अवधेशकुमार चौधरीले जानकारी दिनुभयो ।
 
प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले कृषि, उद्योग र पर्यटनका हिसाबले प्रदेश अगाडि रहेकाले आर्थिक वृद्धिदर अझै बढ्ने विश्वास व्यक्त  गर्नुभयो । “प्रदेशमा नदीजन्य पदार्थको उत्खनन र निकासी तथा ठूला होटल खुल्ने क्रम बढ्दो छ । त्यसैले सेवा र खानी तथा उत्खनन क्षेत्रको योगदान बढी हुनुपर्छ”, उहाँले भन्नुभयो ।