-भक्तराज रसाइली
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले बजार निरन्तर घटेर प्यानिक अवस्था सिर्जना हुँदा समेत सम्बद्ध निकायहरु गम्भीर नबनेका आरोप लगाएका छन् । 

शुक्रबार १० बुँदे मागपत्र बुझाउन धितोपत्र बोर्ड गएका लगानीकर्ताहरुले बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र अन्य उच्चपदस्थ कर्मचारीलाई अगाडि राखेर बजारको समस्याको बिषयमा सम्झाउने कोशिश गरेका हुन् । 

‘तपाईहरुले बेवास्ता गर्दा बजार ध्वस्त भइसक्यो, लगानीकर्ताले आफ्नो ९० प्रतिशत लगानी गुमाइसके ।’ लगानीकर्ताहरुले बोर्डका अध्यक्षसँग गुनासो गर्दै भने–‘बजारबाट ८० प्रतिशत लगानीकर्ता भागिसकेका छन् । यहाँहरुको यस्तै रबैया हो भने बाँकी रहेका २० प्रतिशत पनि भाग्छन् । बाँकी रहेकालाई भगाउने कि नभगाउने ? यहाँहरुले भनिदिन पर्यो ।’ 

लगानीकर्ताले सो क्रममा आफूहरु धितोपत्र बोर्डमा ‘बजार बढाइदेऊ’ भन्ने अनुरोधसहित नआएको स्पष्ट पार्दै गर्नुपर्ने सुधारका कार्य समयमै हुनुपर्ने र महिनौदेखि अड्किएका केही कुरालाई समेत निश्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । 

‘तपाईहरुको सक्रियता हुने हो भने बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कुरा आजको भोलि कार्यान्वयनमा आउनसक्छ ।’ लगानीकर्ता हरि ढकालले सो क्रममा भने–‘तर, यहाँहरुले ब्रोकर लाइसेन्सको मुद्धालाई समेत यहाँहरुले मेलम्चीको पानीजस्तो ठूलो बनाइदिनुभयो र मेलम्चीको पानी आउने मिति सरे झै यसको मिति समेत यो वा त्यो बाहानामा सारिरहनुभएको छ । यो बिषयमा बोर्डको भूमिका सन्तोषजनक छैन ।’ 

‘लगानीकर्ताको हितमा आवश्यक नियम चाहि किन ढिलो बन्छ ?लगानीकर्ताको सम्पत्ति स्वाहा भइसक्यो, यो बिषयमा तपाईहरु किन गम्भीर बन्नुहुन्न ?’

लगानीकर्ता तिलक कोइरालाले एफपीओको कतिपय नियम परिवर्तन गर्न रातारात लागिपर्ने धितोपत्र बोर्ड लगानीकर्ताको हितको बिषयमा गम्भीर नदेखिनु दुःखद भएको टिप्पणी गरे । ‘लगानीकर्ताको हितमा आवश्यक नियम चाहि किन ढिलो बन्छ ?’ प्रश्न गर्दै उनले भने–‘लगानीकर्ताको सम्पत्ति स्वाहा भइसक्यो, यो बिषयमा तपाईहरु किन गम्भीर बन्नुहुन्न ?’

उनले सेयर बजार निकै संवेदनशील विन्दूमा रहेको र ठूला लगानीकर्तामध्येका केहीलाई बैंकहरुले मार्जिन कल गर्न थाले भने फ्री फलको डरलाग्दो अवस्था आउनेतर्फ नियामकलाई सचेत गराए । ‘फ्री फलको अवस्था आयो भने के होला ? तपाईहरुले सोच्नुभएको छ ?’ पुनः प्रश्न गर्दै उनले थपे–‘तपाईहरुले अब पनि खेलाँची गर्नुभयो भने फ्री फलको अवस्था आउने पक्का छ, त्यतिबेला बजारलाई माथि उठाउँछु भनेर केही अर्थ हुने छैन ।’

उनले सेयर बजार ध्वस्त भइरहँदा रमिते बनेर नहेर्न धितोपत्र बोर्डका अध्यक्षलाई आग्रह गरे । ‘सेयर बजार ध्वस्त भएर लगानीकर्ताको सम्पत्ति स्वाहा भए यसले सरकारलाई पनि असफल बनाउँछ ।’ कोइरालाले भने–‘धितोपत्रबजार डूबाउने भनेर तपाई(अध्यक्ष)को करिअर पनि बुढेसकालमा ड्यामेज हुन्छ ।’