काठमाण्डौ । कोभिड १९ का कारण अर्थतन्त्र शिथिल बन्दै गइरहेको वर्तमान परिस्थितिमा पछिल्लो समय राजनीतिक घटनाक्रम पेचिलो पनि बन्दैछ तर सेयर बजार भने निकै पोटिलो बन्दै गइरहेको छ। नेप्से परिसूचक २४४० अंक पार गरिसकेको अवस्था छ भने दैनिक कारोबार रकम पनि ८ अर्ब रुपैयाँ माथि भइरहेको छ।
विश्वव्यापी महामारीका रुप लिएको कोभिडको भ्याक्सिन आज बुधबारदेखि नेपालमा पनि लगाउन सुरु भएको छ। अर्थतन्त्रका सम्पूर्ण क्षेत्र करिब ८० प्रतिशत क्षमतामा सञ्चालनमा आइसकेका छन्। कोभिडले थिलथिलो भएको अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारसमेत गम्भीर रहेको र अर्थतन्त्र चलायमान हुँदै गइरहेको देखिन्छ।
यसअघि अन्य क्षेत्रमा लगानीको अवसर गुमिरहेका कारण सेयर बजारमा नै लगानी ओइरहेको र बजार बढेको कतिपयको दाबी छ। अब भने अवस्था सामान्य बन्दै गइरहेको र अर्थतन्त्रका अन्य क्षेत्रमा सेयर बजारको लगानी बाहिरिँदैसमेत गइरहेको छ।
यता बैंकहरुमा कर्जाको ब्याजदर अति न्यून भएपछि कर्जाको माग ह्वात्तै बढेको छ। सिद्धान्ततः ब्याजदर कम हुँदै जाँदा कर्जाको माग बढ्ने गर्छ। जसको असर कालान्तरमा तरलता खुम्चिन्छ।
छोटो समयमै बजारले छलाङ मारिरहेको छ। दिनानुदिन सूचक, कारोबार र बजार पुँजीकरणले नयाँ–नयाँ रेकर्ड बनाउँदै पनि गइरहेको देखिन्छ।
पूर्वबैंकर तथा सेयर बजार विश्लेषक अनलराज भट्टराई सेयर बजार पछिल्लो समय बढ्नुमा बैंक तरलताको उपलब्धता र न्यून ब्याजदरलाई नै आधार मानिएको बताउँछन्। ‘यदि तरलता खुम्चिँदै जान्छ भने बजारमा त्यसको नकारात्मक असर पर्ने सम्भावना अति नै रहन्छ’, भट्टराई भन्छन्, ‘कोभिडका कारण बचत भएको रकम र खर्चमा कमी भएका सो लगानी सेयर बजारमा आएका कारण साउनयता बजारले नयाँ उचाइ लिइरहेको देखिन्छ।’
‘बजार बढ्दा जोखिम पनि बढिरहेको हुन्छ’, उनले थप प्रस्टाउँदै भने, ‘हाल सीसीडी रेसियो ७५ प्रतिशत पुगिसकेको छ र यो निरन्तर बढ्दो क्रममा छ। सीसीडी रेसियो बढ्दै जानु निकट समयमा बैंक ब्याजदर पनि बढ्नु हो, यसले सेयर बजारलाई नै नकारात्मक असर पार्छ। यद्यपि तत्काल आत्तिहाल्नुपर्ने अवस्था भने छैन।’
बढ्दो बजारमा जोखिम पनि बढ्ने भएकाले चनाखो तथा सजगतापूर्वक लगानी गर्न भट्टराईको सुझाव छ। राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतको निर्णय पनि कारक तत्व हुन सक्ने जिकिर गरेका उनले ब्याजदर र तरलता क्षणिक हुने भएकाले यसैका कारण बजार बिग्रन पनि सक्ने उनको ठम्याइ छ।
विश्वभरि नै हाल अर्थतन्त्र डाउन भए पनि सेयर बजारले नयाँ उचाइ लिइरहेको र लगानीकर्तामा आत्मविश्वास बढेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा सेयर बजारविज्ञ गोपाल भट्टको बुझाइ छ। तरलताकै कारण अहिले सबैको हातमा पैसा भएको जिकिर गरेका उनी यसकै असरले सेयरको माग बढेको दाबी गर्छन्। ‘तर ब्याजदर बढेमा बजार तल जान्छ’, उनले भने, ‘हाल ठूला व्यापारी, ठूला लगानीकर्ता र विदेशबाट समेत अवैध पैसा आइरहेको छ, जसका कारणसमेत दैनिक कारोबार रकम ८ अर्ब रुपैयाँ हाराहारी भएको छ।’
बैंकको लगानी र ठूला लगानीकर्ताको पैसामात्र हाल बजारमा नरहेको दाबी गरेका भट्टले विदेशबाट अवैध पैसा आइरहेकाले सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताए। बजारको उत्तारचढाव सामान्य रहेको उल्लेख गर्दै भट्ट बजार अझै माथि जान सक्ने दाबी गर्छन्। ‘लगानीकर्ताको मनोविज्ञान र विदेशबाट सेयर बजारमा आउने पैसा नरोकिएसम्म बजार तल आउँदैन’,उनले भने।
नेप्से परिसूचकले अलटाइम हाई ब्रेक गरिसकेको अवस्था छ भने छोटो समयमा करेक्सन बिना नै बजार निकै माथि लम्किरहेको छ। बजार माथि उकालो लाग्दै गर्दा लगानीकर्ताले जोखिमलाई समेत नजरअन्दाज गर्नुहुँदैन। बैंकले सुख पर्दा छाता दिन्छ र दुःखमा सोही छाता आफूसँग तान्छ।
ब्याजदर र तरलता बजारका अल्पकालीन विषय हुन्। बजार जुनसुकै बेला तल–माथि हुनसक्ने भएकाले व्यक्तिले क्षमतालाई आँकलन गरेर कथंकदाचित बजार घटे बैंकको मार्जिन कलले त्रसित भई बजार क्र्यास नहोला भन्न सकिन्न।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago