• सूर्यनारायण पौडेल

काठमाण्डौ । नेपालको सेयर बजारले विसं २०७८ भदौ ६ गते ३ हजार २२८ विन्दुलाई छोएर ओरालो यात्रा तय गरेको थियो।

बैंकिङ क्षेत्रको सूचकाङ्कले भने २०७८ साउन ११ गते नै २ हजार १८५ विन्दुलाई छोएर ओरालो यात्रा तय गरिसकेको थियो।

नेप्से परिसूचक भने २०७९ असार १० गते न्यूनतम बिन्दु अर्थात् १ हजार ८०७ सम्म झरेको थियो। जुन अघिल्लो बुलिस बजारको उच्चतम बिन्दु पनि हो। त्यसपछि नेप्से परिसूचक १ हजार ८०० देखि २ हजार २०० बीचमा पटकपटक साइडवेजमा चलिरहेको छ ।

विगत दुई वर्षदेखि नेप्से सूचकाङ्क साइडवेजमा चलिरहँदा पनि होटेल एन्ड टुरिजम, निर्जीवन बीमा, जलविद्युत्, वित्त, विकास बैंक र अन्य क्षेत्रमा साना ठूला उतारचढावहरू आइरह्यो।

यो अवधिमा होटेलको सेयरमा लगानी गर्ने लगानीकर्ताहरूले राम्रै पैसा कमाए। युनिलिभर र बोटलर्स(तराई) नेपालको सेयरमूल्य पनि राम्रै बढ्यो। यस बीचमा बैंकिङ क्षेत्रमा लगानी गरेर बस्ने लगानीकर्ताहरू भने हेरेको हेरै भए  ।

बैंकिङ क्षेत्रको सूचकाङ्क निरन्तर ओरालो लागि विसं २०८० मंसिर २० गते सम्ममा आइपुग्दा बैंकिङ सूचक १ हजार १३० बाट बिस्तारै सम्हालिएर बढ्न खोजेको जस्तो देखिन्छ ।

यस बीचमा बैंकिङ क्षेत्रमा पनि सानोतिनो उतारचढाव भने नआएको होइन। विगतमा बैंकिङ क्षेत्रको सेयरलाई ‘ब्लु चिप’ को रूपमा लिने गरिन्थ्यो। बैंकको सेयरमा लगानी गर्ने र आईपीओ पारेका लगानीकर्ताहरूले घरघडेरी जोड्ने तथा मनज्ञ्य आम्दानी भएको कथा सुन्न पाइन्थ्यो।

तर गएको बुलबाट अहिलेसम्म आइपुग्दा बैंकिङ क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरूले बुलिस बजारको मज्जा खासै चाख्न पाएका छैनन्  । हाल बैंकको सेयरमूल्यमा अलिकति बृद्धि हुने बित्तिकै ठूलो सप्लाई आइहाल्छ, जसले गर्दा समग्र बजार माथि जान सकेको छैन  ।

यसै सन्दर्भमा बाँदरको कथालाई जोड्दा प्रासंगिक हुन्छ जस्तो लाग्छ । प्रचलित उखान नै छ बाँदरको जस्तो व्यवहार नगरौं अर्थात् ‘डोन्ट एक्ट लाइक अ  मंकी ।’

नेपालको धितोपत्र बजारको आजभोलिको अवस्थालाई हेर्ने हो भने बाँदरको कथासँग मिल्दोजुल्दो भइरहेको छ। 

यो कथामा वैज्ञानिकहरुले बाँदरहरूको व्यवहार अध्ययन गर्न एउटा बन्द कोठामा केहि बाँदरहरुलाई राखेर त्यहाँ एउटा भर्‍याङ माथि केराको घरिसमेत झुन्ड्याएछन् । जब भर्‍याङ माथि चढेर बाँदर केरातर्फ अगाडि बढ्न खोज्थ्यो, त्यसलाई पानीको फोहोराले माथिबाट हानिन्थ्यो  ।

जसले गर्दा बाँदर भाग्दथ्यो। यसरी बाँदरहरूले भर्‍याङमाथि चढेर केरा टिप्न खोज्दा निरन्तर माथिबाट पानी खनाइदिने भएकाले अन्य बाँदरहरूले कुनै बाँदर भर्‍याङमा चढ्ने प्रयास गर्यो भने उसलाई अरू बाँदरहरूले तान्ने र पिट्ने गर्दथे।

अब वैज्ञानिकहरुले त्यहाँबाट एउटा बाँदर झिकी अर्को नयाँ बाँदरलाई पठाएछन् । यसपालि भने माथिबाट पानी खन्याउन रोकिएछ। तैपनि नयाँ बाँदरले भर्‍याङ चढ्ने बित्तिकै अन्य पुराना बाँदरहरुले उसलाई चढ्न रोक्ने र पिट्ने गर्दा रहेछन् ।

यसैगरी, वैज्ञानिकहरूले उक्त कोठाबाट पुराना बाँदरहरूलाई क्रमशः झिक्दै नयाँ बाँदरहरू त्यहाँ पठाउँदा  र माथिबाट पानी नखन्याउँदा पनि यदि कुनै बाँदरले भर्‍याङ चढेर केरातर्फ जाने प्रयास गरेमा अरु बाँदरहरुले उसलाई रोक्ने र पिट्ने गर्दा रहेछन्। 
 

हाल नेपालको सेयर बजारमा पनि विशेषगरी बैंकिङ क्षेत्रको सेयरमा पनि यहि बाँदरको कथा लागू भइरहेको भान हुन्छ।

पुराना लगानीकर्ताहरू बैंकको सेयर बेचेर भागिरहेका छन् र उनीहरू बजारमा मूल्य बढिरहेका अन्य कम्पनीका सेयरतर्फ  दौडिरहेका छन्।

नयाँ लगानीकर्ताहरूले पनि पुरानै लगानीकर्ताहरूको जस्तो व्यवहार गर्नाले समग्र सेयर बजार लामो समयदेखि १ हजार ८०० देखि २ हजार २०० विन्दुसम्मको गोल चक्करमा रुमल्लिरहेको छ। जबसम्म लगानीकर्ताहरूको व्यवहार सुध्रिदैन तबसम्म सेयर बजारले बुलिसको यात्रा तय गर्न सक्दैन।
-लेखक पौडेल, विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका अर्थशास्त्रका सह-प्राध्यापक हुन् ।