काठमाण्डौ । राम्रा केही बैंकसँग मर्जरमा जाने हल्ला फैलिएसँगै मेगा बैंकको सेयरमा अचाक्ली खरीद चाप देखिएको छ । 

बजारमा मेगा बैंक ग्लोबल आइएमई बैंक वा नवील बैंकसँग मर्जरमा जान लागेको हल्ला चलाइएको छ । यही हल्लाको प्रभावले मेगाको सेयर किन्न लगानीकर्ताबीच तछाडमछाडको अवस्था चलेको हो । 

तर, यी दुवै हल्लामा भरपर्दो आधार भने छैन । मर्जरकै मौसम भएकाले यस्ता हल्ला आइरहन्छन्, यस्तो बेलामा बजारमा फैलिएको खबरको सत्यतथ्य जाँचेर मात्र खरीदबिक्रीको निर्णय लिनु उचित हुन्छ । 

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले केही वाणिज्य बैंकसँग छलफल जारी रहेको र तीमध्ये कुनै पनि बैंकसँग मर्जरमा जाने गरी छलफल टुंगिनसकेको बताएका छन् । तर, उनले मेगा बैंकले बैंकिङ इतिहासमै ब्रेक थ्रु गर्ने र एउटा मात्र होइन, ३–४ वटा बैंक नै मिसिएर निकै ठूलो बैंक बनाउने अभियान थालिएको बताएका छन् । 

उनको यो अभिव्यक्तिले समेत मेगाको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

यहीकारण मार्केट डेप्थमा यो समाचार तयार पार्दासम्म करिब ३ लाख कित्ता बराबरको सेयर खरीद अर्डर पोष्ट भएको छ । बिक्रीतर्फ ८८ हजार ६१५ कित्ता पोष्ट भएको छ । 

यो समाचार तयार पार्दासम्म(१ः५२ सम्म)मा मेगा बैंकको सेयर मूल्य ३.०३ प्रतिशतले बढेर प्रतिकित्ता २०४ रुपैयाँको उचाईमा पुगिसकेको छ ।