– अनन्त्य सुन्दर (प्रशिक्षार्थी पत्रकार)

काठमाण्डौ । विश्व वित्तीय बजारमा बुल र बियर सर्वाधिक प्रयोग हुने शब्द हुन्। यी शब्दको प्रयोग सेयर बजारमा मात्र नभएर क्रिप्टोकरेन्सी, फोरेक्स मार्केट, बोन्डलगायत अन्य थुप्रै वित्तीय बजारहरूमा प्रयोग हुने गरेको छ। 

सामान्य भाषामा बजारमा बुल भन्नाले बढ्दो बजार साथै बियर भन्नाले घट्दो बजारलाई बुझिन्छ।

बियर र बुल अर्थात् नेपालीमा भालु र साँढेलाई बजारमा विम्बका रूपमा प्रयोग गरिन्छ। साँढे र भालुबीच लडाइ हुँदा साँढेले आफ्नो सिङले हान्दै अगाडि बढ्ने र भालुले आफू जोगिँदै पछि पर्छ। त्यसैले बढ्दो बजारलाई साँढे अर्थात् ‘बुल मार्केट’ र घट्दो बजारलाई भालु अथवा ‘बियर मार्केट’ भनेर बुझिन्छ। 

लगानीकर्ताले पनि भालु र साँढेले गरेको जस्तै बियरमा राम्रो कम्पनीहरूमा सुरक्षित लगानी गर्छन्। अनि बुल अर्थात् बढ्दो बजारमा जोखिमपूर्ण लगानी गर्छन्।

सेयर बजारमा बुल सुरु भएसँगै कम्पनीको मूल्य निरन्तर बढ्छ। कुनै एक कम्पनी अथवा सेक्टरमात्र नभएर सम्पूर्ण बजार नै बढ्ने गर्छ। बुल मार्केटमा लगानीकर्तामा बजारबाट मुनाफा कमाउने आशा पनि धेरै हुन्छ।

कोरोना कहर सुरु भएसँगै नेपाली सेयर बजार पनि बुलमा छ। मार्केटमा तरलता बढ्नुका साथै नयाँ लगानीकर्ताको आगमनपश्चात नेपाली सेयर बजारले दैनिक रूपमा नयाँ रेकर्ड कायम गर्दै आएको छ। अहिले अधिकांश कम्पनीको सेयर मूल्य आकासिएको छ। 

बुल मार्केटमा नाफामात्र नभएर घाटामा भएका कम्पनीहरूको मूल्यमा पनि ठूलो उछाल आउने गरेको छ। बुल मार्केटको अवधि केही महिना हुनुका साथै वर्षौं लामो पनि हुन् सक्छ।

बुल मार्केट कम्पनीहरूको सेयरमूल्य बढ्ने भएकाले बजारमा लगानी गर्नेको संख्या धेरै हुन्छ। त्यसैले अहिले नेपाली सेयर बजारमा पनि लगानीकर्ताको संख्या पनि बढ्दो हुन्छ। लगानीकर्ताको कम समयमा धेरै मुनाफा कमाउने चाहनाले अधिकांश लगानीकर्ताले बजारमा ‘एग्रेसिप’ खरिद गर्छन्। 

बुल बजारमा बिक्री गर्नेभन्दा खरिद गर्नेको संख्या धेरै हुन्छ। साथै, बुल मार्केटमा आईपीयो निष्कासन गरी सेयर बजारमा कारोबार हुने कम्पनीहरूको संख्या पनि उच्च हुन्छ। 

नेप्से विन्दु, लगानीकर्ताको संख्या, कारोबार रकम, नयाँ कम्पनीहरूको आईपीयो निष्कासन साथै अन्य कारकहरूलाई हेर्ने हो भने नेपाली सेयर बजारमा पनि बुल मार्केट सुरु भएको छ। यो कति महिना वा वर्षसम्म जान्छ ? भन्ने यकिन साथ भन्न सकिन्न।

नेप्से विन्दु हेर्ने हो भने अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमनपश्चात नेपाली सेयर बजार बढ्ने क्रममा छ। अर्थमन्त्री खतिवडाको कार्यकालमा नेप्से बिन्दु १३००–१४०० तिर थियो। अर्थात् बजार बियरमा थियो। त्यस बेला अहिलेको तुलनामा कारोबार रकम पनि न्यून, २–३ अर्ब रुपैयाँमात्र थियो। गत असोजमा अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै नेप्सेको विन्दु साथै कारोबार रकममा पनि ठूलो उछाल आएको हो। नेप्से विन्दुमा आएको उछाल हेर्दा अहिले नेपाली सेयर बजार बुलमा छ। अहिले नेप्से ३००० विन्दु नजिक पुग्नुका साथै दैनिक कारोबार १५ अर्बभन्दा बढी हुन थालेको छ। 

सेयर बजारमा कमाउने भनेको नै घट्दो बजारमा खरिद गरेर बढ्दो बजारमा बेच्ने लगानीकर्ताले हो। तर बुल मार्केटमा लाभांश दिने–नदिने र राम्रा–नराम्रा सबै कम्पनीहरू बढ्छन्। त्यसैले प्राविधिक विश्लेषण गर्नुका साथै ट्रेन्ड हेरेर लगानी गर्ने लगानीकर्ताले बजारबाट राम्रो नाफा आर्जन गर्न सकिन्छ।