-अर्जुन तिमल्सिना
एकादेशमा एउटा सामान्य भरिया थियो । उसको दैनिकी मालसामान तथा इँट्टा बोकेर बित्थ्यो । एकदिन उसलाई सुनको भारी बोक्नुपर्ने प्रस्ताव आयो। भारि बोक्ने मात्र प्रस्ताव भए त केही थिएन, बोकेको सुन एउटा आग्लो डाँडासम्म पुर्याउनुपर्ने र उक्त सुन  डाँडाको मन्दिरमा सूनको जलप लगाउन प्रयोग हुनेछ भनियो । सुन  बेकेको ज्याला भने उक्त भरियाले जति बोक्न सक्छ, त्यति नै अहिलेको बजार मूल्य अनुसार उसले  पाउनेछ भनियो । भरियालाई विश्वास लागेन, तर सबैले दिने भनेपछि बोक्न तयार भयो । भरिया अचम्ममा पर्यो, जिन्दगीमा यस्तो पनि प्रस्ताव आउँदो रहेछ–दैनिक इँट्टा बोकेको भरियाललाई सुन खानीसम्म पुगेपछि उसले सके जति सुन बोक्न खोज्यो । सधैं एउटा मात्र भारी बोक्ने, भरियाले त्यो दिन तीनवटा भारी एकैपटक बोक्ने आँट गर्यो । किनकि उसमा यस्तरी लोभ जाग्यो कि बोकेर मन्दिरसम्म पुर्याएमा सुनकै मूल्य बराबर ज्याला छ । सुनखानीबाट तीनवटा भारी बोकेर केही समथर हिंड्दै थियो, उ थचक्क भूँइमा घूँडा टेक्न पुग्यो । उठ्न खोज्यो, तर सकेन । उसले सोच्यो अब तीनवटा त सकिन्न एउटा यहीँ फालेर दुइवटासम्म पुर्याउन सकेन पनि ठीकै छ भन्ने लाग्यो । र, एउटा बाटैमा फाल्यो। त्यसपछि  केही समथर हिंडेपछि डाँडाकाँडा आयो, चढ्दै गर्दा फेरि थचक्कै बस्यो । फेरि पनि उठ्न खोज्यो, सकेन । अनेक कोशिश गरेपछि उसले फेरी अर्को भारी पनि फाल्ने विचार गर्यो र अन्तमा मन्दिर पुग्दा एउटा मात्र भारीको ज्याला लियो र आफ्नो भाग्यलाई दोष दिंदै उसले बोकेका तीनवटा भारी सम्झियो । त्यो सबै ल्याउन पाएको भए त म अर्बपति नै हुने थिएँ नि ! 

यो कथा शेयर ब्यापारीसंग किन मिल्छ भने हामी शेयर ब्यापारी पनि त्यस्तै लोभी हुन्छौ, सुनको भरियाजस्तै । अहिले बजार बढ्दै गएको छ । आज किने भोलि फाइदा छ । कोही आफूले किनेको बढेन, अरु नै सेक्टर बढ्यो भनिरहेका छन् । कोही व्यापारको रणनीति मिलेन भनिरहेका छन् ।  कुर्दा कुर्दा हैरान भइयो भन्ने पनि छन् । अनि हामी त्यही भरियाले झै सकीनसकी बोक्दैछौ अजंगको भारी ।  बजार भर्खर बढ्न सुरु गरेको छ र २५ सयसम्मको इन्डेक्स ढिलो चाँडो पक्का हुन्छ । अहिले किनेको शेयर त्यो बेला दुर्इ तीन गुणा र अहिलेको सुनकै भाउ आउँछ। अब त्यसमा धेरै विवाद बजारमा छैन । यथार्थमा हामी त्यही सुनको भरिया झै सेयरका भरिया न हौ ।  फरक के छ भने हामीले बोकेको भारी न बजारमा कसैले देख्दैन, न बाटोमा भेटेकोले देख्छ न घर परिवारले नै देख्छ । धेरै देखे त्यही एउटा झोला छ, न पसल छ न केही । कतिले त झोला पनि बोक्न आवश्यक छैन । अहिले सबै शेयर अभौतिकीकरण भइसक्यो, एउटा पानामा अर्बौको सम्पत्ति हुन्छ ।  समानता के छ भने अहिले किनेको शेयरको भ्यालु केही बर्षमात्र कुर्न सके सुन होइन, हिराकै मूल्य हुन्छ र अघिल्लो बुलमा  भएको पनि हो । इतिहास दोहोरिन्छ र शेयर बजार एउटा कुमालेको चक्र नै हो भन्ने बुझेकाहरु अहिले तँछाडमछाड गर्दै बजार छिर्दै  छन् । दिनकै दशौं हजार  कित्ता किन्दै छन् र नै बजारमा दैनिक अर्बौको कारोबार हुँदैछ । 

यथार्थमा जिराको मूल्यमा किनेर हिराको मूल्यमा बेच्न सक्नु नै शेयर ब्यापारको मज्जा हो । १०–२० रुपैयाँ त किराना पसलबाट पनि आउँछ नि । अर्को समानता के छ भने सूनको भरियामा जस्तै लोभको  भाँडो शेयर व्यापारीमा पनि हुन्छ ।  अन्तमा मन्दिर पुग्दा एउटा मात्र भारी भए जस्तै भोलि बजारले नयाँ नयाँ रेकर्ड बनाउँदा धेरै लगानीकर्तासँग थोरै मात्र सेयर हुन्छ । उनले फालेको  भारी बोक्न बजारमा फेरी नयाँ नयाँ  भरिया आउँछन, अनि सुनको अन्डा दिने कुखुरो भन्दै शेयर किन्छन् । कहिलेकाहीँ सुनको भारि भनेर फलामको भारी अरुलाई बोकाएर छोड्ने पनि यही बजार हो  र बजार यही चक्र फेरि घुम्न थाल्छ । 

शेयर बेचेर निस्कनेले पनि त्यही भन्छ–‘मसँग यति कित्ता शेयर त थियो त सस्तैमा फालेँ ।’ अनि भन्छ–‘भाग्यमा नै यत्ति थियो ।’ 

शेयर बजारका बादशाह वारेन बफेटले भनेका छन्–‘मानिस प्रायः आफूलाई सानो लगानीबाट बिस्तारै धनी बनाउनु भन्दा चिट्ठा काटेर एकै पटकमा धनी बन्न बढ्ता उचित ठान्छ ।’ यो भनाइ बफ़ेट्ले अक्टोबर १९८८ मा एउटा  पत्रिकाको अन्तरबार्ताको क्रममा भनेका थिए । खासगरी बिकसित देशमा चिठ्ठा काट्ने चलन हुन्छ । अहिले देश बिदेशमा धेरै नेपाली छन् उनीहरुले पनि त्यहाँ चिठ्ठा काटेर पैसा खेर फाल्नु भन्दा सानो सानो पैसा पुंजीबजारमा लगाउँदा पछि राम्रो प्रतिफल दिन्छ । 

यो भनाइको तात्पर्य एकैपटक ठूलो सपना देख्नु भन्दा बिस्तारै आफ्नो सामर्थ्य अनुसारको भारी बोक्नु उचित हुन्छ भन्ने नै हो । शेयर बजारमा अहिले धेरै फेरबदल आएको छ । आधारभूत ज्ञानले मात्र पनि काफी छैन, प्राबिधिक ज्ञान पनि लगानीकर्तामा हुन आवश्यक छ, किनभने नेपालको शेयर बजारले पनि हेर्दा हेर्दै निकै फड्को मारिसक्यो ।

गत हप्ता पनि बजारमा उत्साह कायमै रह्यो ।  हप्ताको सुरु र अन्त्यमा केही अंक गुमाए पनि समग्रमा बजार बढ्न पुग्यो । कारोबारले बजारलाई राम्रै साथ दिएको छ । अन्तिम दिन झन्डै २ अर्बको कारोबार हुनुले आगामी दिनमा पनि बजार बुल रनमा नै चल्ने देखिन्छ । 

जहाँसम्म १३६० को प्रतिरोध काट्न नसकेको भन्ने मनोबैज्ञानिक प्रभाब छ, त्यो यो हप्ता अथवा आउने हप्ता ब्रेक गर्ने संभावना प्रबल छ । किनकि बजारको मुभमेन्ट हेर्दा प्राबिधिक हिसाबले पनि त्यो देखिन्छ भने आधारभूत हिसाबले पनि कारोबारले साथ दिनु र बजार एककदम पछि हट्दै दुर्इ कदम फड्को मारेको हुँदा केही अंक गुमाइहाले पनि त्यो खरिद गर्ने अवसर हुनेछ र बजारले चाँडै नयाँ गन्तव्य र उचाई तय गर्नेछ ।