काठमाण्डौ । लामो समयावधि चलेको बियरिस ट्रेन्डलाई केही साताअघिदेखि बुलिस ट्रेन्डले पकड जमाएकोमा दोस्रो बजारमा धितोपत्र कारोबार मापक नेप्से सूचकांक अल्पकालीन कारोबारीले नाफा सुरक्षित गरेकाले मंगलबार सामान्य करेक्सन आएको छ ।
निरन्तर बढिरहेको नेप्सेको पारो साताको तेस्रो कारोबार दिन मंगलबार झिनो अंकको ब्रेक लागेको हो ।
बजारले बुल रन समातेपछि हिजोआज ब्रोकर हाउसहरुमा समेत लगानीकर्ताको घुइँचो थामिनसक्नुछ । ब्रोकर हाउसका पार्किङसमेत ठूला र साना सवारीसाधनले भरिभराउ हुने गरेका छन् ।
स्रोतका अनुसार छोटो समयमा नै सूचीकृत कम्पनीका सेयरमूल्यमा प्रतिकित्ता २०० हाराहारीमा नाफा बुक गर्न म्युचुअल फन्डहरु सक्रिय हुँदा बजारमा सामान्य गिरावट आएको हो । यद्यपि ‘हंग्री इन्भेस्टर’ को बजारप्रति चासो बढ्दा आगामी दिनमा नेप्सेले उकालो गति पक्रने देखिन्छ ।
सरकारले विभिन्न विकासे योजनाहरुमा संलग्न ठेकेदारहरुको रकम भुक्तानी सुरुगर्दै गरेकोले तरलता बढ्ने देखिन्छ भने बैंकहरुले दोस्रो त्रैमासमा ब्याज आम्दानीबापत मात्रै अर्बौं रकम थपिँदा आगामी दिनमा तरलता बढ्दा त्यसको प्रत्यक्ष सकारात्मक असर सेयर बजारमा पर्ने जानकारहरु बताउँछन्।
साना लगानीकर्ताहरुमा अभूतपूर्व उत्साह देखिँदै आएको बजारमा मध्यम लगानीकर्ताहरुको केही हुल बजार प्रवेशको लहरमा उत्रिएका छन् । ठूला लगानीकर्ताहरु भने अहिले पनि पर्ख र हेरकै द्विविधामा रहेका छन् ।
आज दिनभरिको कारोबार ट्रेन्डलाई नियाल्दा बजारमा व्यापक लचकता आयो । उसो त यतिबेला कम्पनीका सेयरमूल्य घटे खरिद गर्ने चाप बढेको र बढे बेच्ने घमासान रस्साकस्सी हुँदा बजारमा लचकता देखिएको हो ।
नेप्से सूचकांक हिजोको तुलनामा आज ७.४८ अंकले गिरावट आउँदा १२६३.३८ को विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ सूचकांक पनि २ अंकको गिरावटसँगै २७४.२८ को विन्दुमा झरेको छ ।
आजको दिन नेप्से उपसमूहमा रहेका १२ वटामध्ये ५ वटा समूहमा हरियाली छायो भने ७ वटामा रातो पोतियो । यो दिन सबैभन्दा बढी व्यापार समूहमा ६५.०७ अंकको बढोत्तर िदेखियो भने वित्त समूहमा ८.४४ अंकको बढोत्तरी भयो । त्यस्तै होटेल्स, विकास बैंक र अन्य समूहमा क्रमशः ५.४१, ०.७ र ५.२१ अंकले बढोत्तरी भयो ।
यस दिन सबैभन्दा धेरै जीवन बिमा समूहमा ५१.६६ र निर्जीवन बिमा समूहमा ४८.८ अंकको गिरावट आयो । यसैगरी बैंकिङ, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फन्ड समूहमा क्रमशः १०.३६, ११.३५, ३.६८, ८.७२ र ०.०८ अंकले गिरावट आयो ।
सबैभन्दा धेरै कमाउने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृत १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता सेयर १ अर्ब २ करोड ६४ लाख ४३ हजार ६६६ रुपैयाँमा कारोबार भयो ।
आजको दिन प्रभु बैंकको संस्थापक सेयरको उच्च कारोबार भयो । यो स्क्रिप्टको मात्रै ११ करोड ४३ लाख रुपैयाँको कारोबार भयो ।
यसैगरी नागरिक लगानी कोषको ७ करोड २२ लाख, एनआईसी एसिया बैंकको २ करोड ८६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८१ लाख, हिमालयन डिस्टिलरीको २ करोड ४९ लाख, डिप्रोक्स लघुवित्तको २ करोड २४ लाख र प्रभु बैंकको २ करोड ४ लाख रुपैयाँबराबरको कारोबार भयो । यस्तै कुमारी बैंकको संस्थापक सेयर, एनएमबी बैंक र साल्ट ट्रेडिङको क्रमशः १ करोड ८५ लाख, १ करोड ७८ लाख र १ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
धेरै कमाउने र गुमाउने कम्पनीहरु
आजको दिन राइराङ हाइड्रोपावर र साल्ट ट्रेडिङका सेयरधनीहरु धेरै कमाए । दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लाग्यो । त्यस्तै मञ्जुश्री फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढ्यो ।
यो दिन दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा झन्डै ९ प्रतिशतको गिरावट आयो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19