काठमाण्डौ । विगत लामो समयदेखि लगानीकर्ताहरुले गरेको माग अनुसार नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले बैंकहरुको सहायक कम्पनीलाई सेयर ब्रोकर सेवाको लाइसेन्स वितरणका लागि आवेदन आह्वान गरे पनि यसको बजारमा सकारात्मक प्रभाव पर्न नसकेको देखिएको छ ।
लगानीकर्ताहरुले लामो समयदेखि माग्दै आएको बैंकहरुका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सको प्रक्रिया अगाडि बढे पनि बजारमा त्यसले सकारात्मक प्रभाव पार्न नसकेको देखिएको हो ।
एकातिर वर्षभरिको रिटर्न पाउने समयको रुपमा चिनिएको साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले राम्रो नाफा बढाइरहेका छन् । उनीहरुले यो वर्ष पनि राम्रै रिटर्न दिने सहजै अनुमान गर्न सकिन्छ । तर, यो विषयले पनि बजारमा सकारात्मक प्रभाव पार्न सकेको छैन ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको निकै सहज अवस्था छ । तरलता सहज भए पनि ब्याजदर भने घट्न सकेको छैन । यसले सेयर धितोकर्जाको दर समेत सस्तिन सकेको छैन । यसले समेत बजारमा सकारात्मक प्रभाव पार्न नसकेको कतिपयको दाबी छ ।
पछिल्ला केही दिनमा बजारमा केही लघुवित्त कम्पनीहरुको सेयरमा तीव्र कर्नरिङ भइरहेको हरेक दिनको मार्केट फ्लोरसिटले देखाइरहेको छ । यसर्थ सीमित लघुवित्त कम्पनीहरुको सेयरमा दैनिकजसो उछाल आउने गरे पनि यसले समग्र्र बजारको अवस्थालाई खासै सकारात्मक प्रभाव पार्न सकेको छैन ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४.२ अंकले घटेर १२५९.६४ को विन्दूमा सीमित हुन पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२७ अंकको गिरावट आएको छ ।
यो दिन बित्त समूहको सूचकमा १.०३ अंक तथा माइक्रोफाइनान्स समूहमा ०.२३ अंकको बढोत्तरी भएको छ ।
बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । यो दिन बैंकिङ समूह ३.४९ अंकले घटेको छ भने होटल समूहमा ४.७१ अंक, विकास बैंक समूह ३.७ अंक, जलविद्युत समूह १०.२८ अंक, निर्जीवन बिमा समूह २४.५६ अंक, जीवन बिमा समूह २३.०७ अंक, उत्पादन तथा प्रशोधन समूह १९.६१ अंक, अन्य समूह १.५१ र म्युचुअल फण्ड समूह ०.०९ अंकले घटेका छन् ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६९ कम्पनीका १४ लाख ६७ हजार ४६४ कित्ता सेयर ४७ करोड ४१ लाख ५१ लाख ७२९ रुपैयाँमा किनबेच भएको छ ।
नेपाल बैंकले यो दिन ५ करोड १२ लाख बढीको कारोबार गरेको यो दिन कृषि विकास बैंकले २ करोड ९५ लाख, ग्रामीण विकास लघुवित्तले १ करोड ९२ लाख, प्रभू बैंकले १ करोड ८४ लाख, सानिमा बैंकले १ करोड ५१ लाख बढीको सेयर कारोबार भएको छ ।
एनसीसी बैंकको १ करोड २६ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन एनसीसी बैंककै १ करोड २४ लाख बढीको साधारण सेयर समेत किनबेच भयो ।
छिमेक लघुवित्त विकास बैंकले १ करोड १४ लाख, लुम्बिनी विकास बैंकले १ करोड १० लाख र एभरेष्ट बैंकले १ करोड ८ लाख बढीको कारोबार गर्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा लघुवित्त कम्पनीहरु चम्किए । ५ वटा कम्पनीको सेयरमा पोजिटिभ सर्किट लाग्यो ।
स्वरोजगार लघुवित्त, स्पर्श लघुवित्त, स्वाभिमान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र नेपाल एग्रो लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यो दिन महिला सहयात्रा माइक्रोफाइनान्सको मूल्यमा पनि ९.३४ प्रतिशतको बढोत्तरी भयो ।
यो दिन हिमालयन पावर पार्टनर लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.०५६ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19