Ganesh Raj Pokharel
►गणेशराज पोखरल(डेपुटी सीइओ)-सिटिजन्स बैंक इन्टरनेशनल
बैंक तथा बित्तीय संस्था लगानी बिस्तार गर्न नसक्ने अवस्थामा छन् । यसले आर्थिक गतिविधिमा संकुचन ल्याई प्रक्षेपित आर्थिक वृद्धिदर हासिल हुन नसक्ने अवस्था नै सिर्जना भएको देखिन्छ । यो सकसपूर्ण अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?
-अहिले नेपालका वाणिज्य बैंकहरुमा २१ सय अर्बभन्दा माथिको निक्षेप छ। सबै बित्तीय संस्थाको जोडेर हेर्ने हो भने करिब २५०० अर्बको निक्षेप छ, यो भनेको हाम्रो जीडीपी साइजको लगभग बराबर हो । करिब १९०० अर्ब बराबरको ऋण वाणिज्य बैंकहरुले प्रवाह गरेको अवस्था छ ।
अहिलेको अवस्थामा सबै बैंकहरु दवाबमा छन् । प्राय सबै बैंकको ८ अर्ब पूँजी पुुगेको छ, अब सबैलाई रिटर्न चाँडै चाहिएको छ । बैंकिङ भनेको रातारात कमाउने बिजिनेश होइन, सयौं वर्षसम्म टिकेर निरन्तर भइरहने बिजिनेश हो ।
अहिलेको अवस्था हेर्ने हो भने ८ अर्बको पूँजीमा १० प्रतिशतकै दरमा बोनस बाँड्नका लागि पनि ८० करोड रुपैयाँ बाँड्ने पैसा चाहियो । कमाएको खुद नाफामा पनि २० प्रतिशत रिजर्ब नै राख्नुुपर्ने हुन्छ । १०० करोड कमायौं भने त्यसको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ नचलाउने गरी हामीले रिजर्बमा राख्नुुपर्ने हुन्छ । अरु विभिन्न खालका रिजर्ब समेत राख्नुुपर्ने कारणले नाफा कमाउने दवाबमा बैंकहरु परेपछि केही समस्या भएको हो कि ? पूँजी बढी भएर धेरै नाफा कमाउनुुपर्ने बाध्यताका कारण समेत बैंकहरु केही अत्तालिएका हुन् कि भन्ने लाग्छ ।
अर्कोतर्फ, बैंकहरुले विभिन्न किसिमको अनुपातहरुको व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । जस्तोः सीसीडी रेसियो बढीमा ८० प्रतिशत हुनुपर्ने, त्यो भन्दा माथि गएपछि नियमनकारी निकायहरुले नियमन गर्छन् । अन्य विभिन्न किसिमका अनुपातहरु समेत छन्ः बेस रेटको आधारमा लोन दिनुुपर्ने, स्प्रेड दर ५ प्रतिशत बढी हुन नहुने । यस्ता विभिन्न किसिमका कम्प्लाइन्स रेसियोहरुलाई व्यवस्थापन गर्दै बैंकहरुले काम गरिरहेका हुन्छन् ।
पुससम्मको बित्तीय अवस्था हेर्दा २ वटा बैंकहरुको स्प्रेड ५ प्रतिशतभन्दा माथि नै थियो । संस्थागत निक्षेप ४५ प्रतिशतभन्दा माथि हुन नहुने भन्ने खालका प्रावधानहरु पनि छन् । यस्ता विविध फ्रेमवर्क छन् ।
हाम्रै बैंकको अवस्था हेर्नुभयो भने स्प्रेड ४ प्रतिशत भन्दा तलै छ । हामी ५४ –५५ अर्बको लोन लिएर हिँडेका छौ । अब ४ प्रतिशतको स्प्रेड र ५४ अर्बको लोन छ, यसबाट धेरै ठूलो पैसा हुँदैन । खर्च समेत हाम्रो ठूलै भइरहेको हुन्छ । यसले गर्दा बैंकहरुले साइज बढाएर व्यापार गर्न खोजेका कारण सबैलाई हतार भएको हो । किनभने यो ६ महिनामा ओभरअल इण्डष्ट्रिको ग्रोथ हेर्ने हो भने डिपोजिट १२२ अर्बले बढेको देखिन्छ भने लोन चाहि करिब १९० अर्बले बढेको देखिन्छ । डिपोजिट बढी बढ्नुुपर्ने र लोन कम बढ्नुपर्नेमा यहाँ उल्टो भइरहेको छ । अहिलेको मुख्य समस्या नै यही हो ।
आफ्नो स्रोत र अवस्था अनुसार बैंकहरुले योजना बनाएका भए हुन्थ्यो, त्यो देखिएन । बैंकहरुलाई पनि हतारो परेको देखियो, प्रतिस्पर्धा अलिक बढी नै भयो । बढेको पूँजी अनुसार रिटर्न दिने दवाबले समेत समस्या आइरहेको हो कि जस्तो लाग्छ ।
हालको समस्याको एउटा जड सरकारको नीतिगत कमजोरी पनि हो ?ढुकुटीमा पैसा थुपार्ने सरकार समेत दोषी हो ?
-तपाईले भनेजस्ता कारण धेरै बैंकरहरुले भन्दै आएका कारण नै हुन् । रेमिटान्सको ग्रोथ कमजोर भयो, यहाँले भनेजस्तो पूँजीगत खर्चहरु नबढेर सरकारी ढुकुटीमा पैसा रह्यो, त्यो कारणले पनि गर्दा यस्तो भएको हो कि भन्ने कुरा पनि स्वभाविक नै हो ।
तर, यहाँ सुधार गर्नुपर्ने केही सामान्य कुराहरु पनि छन् । म तपाईलाई एउटा कुरा भनौं, जस्तो सञ्चयकोष जस्ता संस्था, नागरिक लगानीकोषजस्ता संस्था, जोसँग ठूलो निक्षेप हुन्छ, त्यस्ता संस्थाको कारोबार बैंक तथा वित्तीय संस्थाहरुबाट गरिदिए सहज हुन्छ जस्तो लाग्छ । यस्ता ठला संस्थाको निक्षेप करिब २५ प्रतिशतको हाराहारीमा छ । त्यो कारोबार राष्ट्रबैंकबाट किन गर्नुपर्योे ? वाणिज्य बैंकमा राखिदियो भने त्यो पैसाले धेरै काम गर्नसक्छ । राष्ट्रबैंकमा चांहि केवल बैंक तथा वित्तीय संस्थाको बैंकिग कारोबार र बाँकी अन्य सबै संस्थाहरुको बैंकिङ कारोबार बैंक तथा वित्तीय संस्थाहरुबाटै गर्ने मेकानिजम बनाउने हो भने यसले धेरै हदसम्म राहात दिन सक्छ ।
अर्को, अहिले संस्थागत निक्षेपको ४५ प्रतिशतको सिलिङ हटाउँदा धेरै संस्थालाई राहत हुने देखिन्छ । ४५ प्रतिशतको संस्थागत निक्षेपको सिलिङ हटाएर त्यसको साटो एउटा संस्थाबाट लिनसक्ने निक्षेपको अधिकतम सीमा हालको २० प्रतिशतबाट घटाई ५ प्रतिशत कायम गर्दा व्यवहारिक हुन्छ । यदि यस्तो व्यवस्था हुनसक्ने हो भने ब्याजदरको होडबाजी, निक्षेपका लागि चल्ने बार्गेनिङ तथा तानातान जस्ता धेरै विकृतिहरुको समाधान हुने थियो । यहीकारण संस्थागत पैसा वाणिज्य बैंकमै आउने मेकानिजम बनाउँदा फाइदा हुन्छ ।
निक्षेपको समस्या बैंकहरु गाउँमा नगएर आएको हो भनी आदरणीय गभर्नर ज्यूले पनि भन्ने गर्नुहुन्छ । हामी जान तयार छौ, तर हामीलाई पूर्वाधार र कनेक्टिभिटी चाहिन्छ, सुरक्षा चाहिन्छ । पूर्वाधार तयार गरिदिने हो भने हामी भनेको ठाउँमा जान्छौ । हामी काम गर्ने मान्छे हो, हामी धेरै रेगुलेटेड फ्रेमवर्कमा काम गरिरहेका हुन्छौ । हामी अनुशासित पनि छौ ।
जनताको पैसा चलाउने कुरा हो, सुरक्षा तथा पूर्वाधारका कुराहरु तथा अरु सेवाप्रदायक संस्थाहरुको उपस्थिति पनि सँगसँगै भइदिए बैंकहरुलाई पनि राम्रो हुन्थ्यो । राज्यले पूर्वाधार दिने हो भने हामीलाई कहीँ पनि जान समस्या छैन ।
हुम्लाको सर्केगाड, दाङको बंगलाचुली, झापाको हल्दीबारी, बर्दियाको बढैयाताल छ, यस्ता दुुर्गम ठाउँहरुमा हामीले शाखा पनि खोल्यौं । अझै पनि हामी शाखा खोलिरहेकै छौ ।
तपाईलाई सुनेर रमाइलो लाग्ला, ४–५ वर्ष अगाडि वृद्धभत्ता बापतको रकम घरमै गएर बाँड्ने नीति सरकारले लिएर आयो । त्यसपछि सिटिजन्स बैंक मात्र त्यस्तो एउटा बैंक हो, जस(हामी)ले तीनवटा जिल्ला: बाग्लुङ, सुर्खेत र बाँकेका करिब १ लाख ६ हजार मान्छेलाई घरमै पुुगेर पैसा बाँडेका थियौं, शाखारहित बैंकिङको माध्यमबाट । हामीले विगतमा पनि काम गरेर देखाएका छौ । काम गर्न बैंकहरु अझै उत्साहित छन् ।
तरलताको समस्यामै केन्द्रीत भइदिनुहोस् न । केही वर्षदेखि एउटै समयअवधिमा तरलताको समस्या दोहोरिरहेको छ । दोषी को हो ? हामी बैंकर पनि कतै चुक्यौ कि ? वा, सरकारकै पोलिसी कमजोर भएर हो ?
-पोलिसीको कुरा त मैले अगाडि पनि गरिसकेँ । लगानीकर्ताले पनि फटाफट यसबाट रिटर्न खोज्नुुभएन । बैंकहरुले पनि आफूसँग जति साधनस्रोत छ, त्यो अनुसारको लगानी गर्नुपर्छ, त्यो भन्दा बढी त उपाय नै छैन । तपाईले अहिले देख्नुुभएन सिस्टममा यत्रो हल्लाखल्ला कसरी भयो ? बैंकर्स संघ लाग्नुपर्यो, राष्ट्रबैंकले समेत बैठक राख्नुुपर्यो । यो सबै किन भयो त ? भन्दा तपाईले उठाएको इस्यूको जवाफ नै यहीँ छ नि । हाम्रो डिपोजिटको ग्रोथ १३–१४ प्रतिशतको हुने, लोनको ग्रोथ चाहि १६–१७ प्रतिशतको भइदियो । डिपोजिटको ग्रोथभन्दा लोनको ग्रोथ कम हुनुुपर्यो, अनि न त्यो सर्भाइभ हुन्छ । होइन भने त यहाँले भनेजस्तो सीसीडी रेसियो निकै ठूलो समस्या बनिरहेको छ । हामीमा त धन्न क्यापिटललाई पनि काउण्ट गरिदिएको छ, इण्डियामा त सीडी रेसियोको आधारमा हिसाब हुन्छ । तर, हामीकहाँ त कम्तीमा डिपोजिट र पूँजीलाई जोडेर लोनसँग तुलना गरी अनुपात निकालिने हुनाले हामीलाई राष्ट्रबैंकले झनै सजिलो गराइदिएको छ । त्यसकारण अरुले भन्दा पनि बैंकरहरुले नै सम्हालिनुुपर्ने अवस्था देख्छुु म । हामीले आफूलाई कति उठाउने हो, हाम्रो आफ्नो साइज हेरेर अगाडि बढ्नुुपर्यो ।
तरलता अभावको अल्पकालीन समाधान चाहि के होला ?
-तत्कालका लागि समाधान भनेको लोन नबढाउने नै हो । राष्ट्रबैंकको निर्देशनले प्रोडक्टिभ क्षेत्र जस्तै: कृषि, टुरिजम, उर्जा लगायतका क्षेत्रमा तोकेरै निश्चित लगानी गर्न भनेको छ । यस्ता उत्पादनशील क्षेत्रमा पनि बैंक बिस्तारै जानुुपर्ने अवस्था छ । बैंकहरुले पनि आफ्नो धैर्यता गुमाउनुुभएन, संयमित हुनुुपर्यो । र, आफूसँग जति साधन छ, त्यो अनुसारको ग्रोथ हुनुुपर्छ । नत्र भने अनावश्यक प्रतिस्पर्धा हुन थाल्छ । त्यसपछि यही डिपोजिटको रेट १५–२० प्रतिशतसम्म पुुग्नसक्छ । अनि जसले उद्योग चलाएर बस्नुुभएको छ, उहाँहरु देशमा टिक्न सक्नु होला त ? त्यस्तो अवस्थामा कोही टिक्नसक्दैन । बैकिङ क्षेत्रमा संयमता र अनुशासनको आवश्यकता म धेरै देख्छु। एकदुुईवर्षमै कहाँबाट कहाँ पुुग्ने विजिनेश होइन यो । यसको लगानी सयौं वर्षसम्म, पाँचौ–दशौ पुस्तासम्म टिक्ने विजिनेश भएको हुनाले यसलाई धेरै सुशासन, अनुशासित, एउटा फ्रेमवर्क र रेगुलेसनमा चलाउनुपर्छ ।
अल्पकालीन राहातकै कुरा गर्दा राष्ट्रबैंकले हालै सीसीडीको क्यालकुलेसन एकमहिनाको एभरेज रेटमा गणना गर्ने भनिदिएको छ, यसले समेत अहिले सबै बैंकहरु राहातमा छन् ।
यहाँले अघि भनेजस्तो ७–८ वर्षदेखिको ट्रेण्ड हेर्दा दोश्रो त्रैमाससम्म चाहि केही समस्या देखिएकै हो । तर, अब तेश्रो र चौथो क्वार्टरमा गएर अवस्था केही सहज हुँदै जानेछ । हाम्रो सरकारको चलन अन्तिम त्रैमासमा बढी खर्च गर्नेछ, यसले गर्दा यो अब अलिक सहज पनि हुन्छ ।
राष्ट्रबैंकले ब्याजदरमा धेरै राम्रो गर्न खोजेको छ, ब्याजदर करिडरको व्यवस्था लागू गरेर । यो व्यवस्थाले ब्याजदर ३, ५ र ७ को रेञ्जमा रहोस् भन्ने फ्रेमवर्क दिएको देखिन्छ । स्थिर प्रकृतिको इकोनोमी होस्, उच्छृंखल टाइपको इकोनोमी नहोस् भन्ने केन्द्रीय बैंकको चाहना प्रष्ट देखिन्छ । त्यहाँ पनि पढेका, अनुभवी र अत्यन्त विद्धान मान्छे हुनुहुन्छ । उहाँहरुले त्यो पोलिसी लिएर आउनुुभएको छ । हामी चाहि नाफामुखी संस्था हो । नाफामुखी संस्था धेरै उग्र बन्न खोज्छन्, त्यसलाई नियन्त्रण उहाँहरुले गरिरहनु भएकै छ । उहाँहरुले दिएको फ्रेमवर्कमा हामी काम गर्छौ । आम मान्छेको हित हेरेर उहाँहरुले नीति बनाउनुुहुन्छ । उहाँहरुले दिएको फ्रेमवर्कले हामीलाई बाटो देखाउँछ । नत्र भने हाम्रो बाटो नेपालगञ्जतिर चल्ने टाँगाको जस्तो हुन्छ । घोडामा लगाएको पट्टाजस्तो हामीले हाम्रो बाटो मात्र देखिरहेका हुन्छौ, यताउति देख्दैनौ । त्यो देखाउने काम उहाँहरुले गर्नुहुन्छ । सबै कुरा ठीक छ, हामीले केवल उग्रतालाई व्यवस्थापन गरेर संयमित भई अगाडि बढ्यौं भने भोलिको दिन सुखद छ ।
अहिलेको सरकार पनि स्थिर छ, सबै जोशिलो वातावरण बनेको छ । डूबेका थुप्रै संस्थाहरु छन्, त्यसलाई जगाउने समय पनि आएको छ । जस्तोः आज सूर्य नेपाल सफल हुने, तर जनकपुर चुरोट कारखाना डूब्ने अवस्था कसरी आयो ? समीक्षा गर्ने बेला भएको छ । सयौं सरकारी संस्थानहरु धराप भएको हामीले देख्यौं, यो सबै हामीले जनशक्तिलाई म्यानेज गर्न नसकेर हो । हामीले हिजो हरेक सरकारी क्षेत्रमा एबीसीको सिद्धान्त लगाइदियौ । ए भनेको आफ्नो मान्छे, बी भनेको भनसुन र सी भनेको चाप्लुसी र चाकडी । जागिरमा पनि हामीले एबीसी लगाइदियौं, बृत्तिविकासमा पनि एबीसी नै लाग्यो । एबीसीबाट जागिर खाएकाहरुको आफ्नो–आफ्नो ग्रुपिजम भयो, त्यसले ओभरअल अर्गनाइजेसनको लक्ष्य प्राप्तिको राजमार्गमा नलागेर एबीसीको राजमार्गमा लागेको हुनाले हाम्रो देशका विभिन्न संस्थानहरु धराशायी भए ।
बैकिङमा चाहि एबीसी प्रवृति छ कि छैन ?
-हामीमा त्यो छैन । जस्तो हामीमा काठमाण्डौ भ्यालीभित्र जागिर खानलाई ग्राजुुएसनमा प्रथम डिभीजन नै चाहिन्छ । फस्ट डिभिजन भएका मानिसहरुको बीचमा प्रतिस्पर्धा हुन्छ । कसैलाई भनसुन गरिरहनुु पर्दैन । तपाईले टेस्ट पनि गर्नुहोला, हामीले भ्याकेन्सी खुलाएको बेलामा । हामीले फस्ट डिभीजन भएका मान्छेलाई जाँचमा बोलाउँछौ । म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्टको कुरा गरेको हो मैले । ती पदमा फस्ट डिभीजनलाई मात्र लिन्छौ, किनभने हामी लोकसेवा आयोग होइन, मासलाई बोलाउन सक्दैनौ । फस्ट डिभीजन भएका र ३० वर्ष उमेर ननाघेकाहरुले सिटिजन्स बैंकमा जागिरका लागि जाँच दिन पाउँछ । सकभर कम उमेर भएका प्राथमिकतामा पर्छन् ।
पढेलेखेका र क्षमतावान युवाहरु, जसको सोर्स छैन, जसले एबीसी लगाउन सक्दैनन्, उनीहरुलाई के अनुुभूत होस् भने केही संस्था त छ देशमा,जसले स्वच्छ ढंगले काम गर्छ । जसले गर्दा तिनै युवाहरु भोलिका दिनमा हाम्रो एम्बेस्डर बनेर बजारमा जानुुहुन्छ, तपाई यहाँ जागिर खानुुहोस् या नखानुुहोस् तर, हामीले गरेको निश्पक्ष कामको त पक्कै चर्चा गर्नुहुन्छ नै ।
लोनमा एबीसी हुने त कुरै भएन । संस्थाको अवस्था, लोन लिनेको ऋण तिर्नसक्ने क्षमता, उसको आर्थिक अवस्था पनि हेर्छौ । कुनै पनि संस्थाको क्यास फ्लो के छ । अर्को पाटोमा कर्मचारीहरु कस्ता छन् ? जुन कम्पनीले लोन लिन खोजेको हो त्यसको व्यवस्थापन कस्तो छ ? ऋण लिन खोजेको संस्थाको मार्केटिङ रणनीति कस्तो छ ? ग्रोथको स्टेजमा छ कि डिक्लाइन छ ? संस्थाले लोन तिर्नसक्ने क्षमता, अरु विजिनेश तथा सक्सेस स्टोरीहरुको बिषयमा पनि हामीले ध्यान दिएका हुन्छौ । यी सबै कुरा हेरेर लामो प्रक्रिया पूरा गरी, त्यसमा फिट भएको व्यक्ति र संस्थाले मात्र ऋण पाउँछ । फेरि, कानून पनि त कडा छ नि ।
बैकिङ पहुँच बिस्तारको कुरा केही समयअघि गरिरहनुुभएको थियो, हामीले अहिलेसम्म के गर्यौं ? यो आर्थिक वर्षभित्र कति शाखा बिस्तार गर्ने योजना छ ?
-हामीले भर्खरै ६ वटा शाखा खोल्यौ। अहिले अञ्चललाई हेर्ने हो भने कर्णाली अञ्चलमा ५ वटा जिल्ला: हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुुगु छन् । हामी जुम्लामा छौ, त्यहाँ हाम्रो एटीएम चल्छ । कर्णाली अञ्चलकै पहिलो एटीएम हामीले चलाएका हौं । डोल्पाको दुनैमा हामी छौ, भेरी नदीको छेउमा शाखा चलाएर बसेका छौ । तीनवटै ठाउँमा हाम्रा साथीहरुले शानदार विजिनेश गरेका छन् । जोफालमा हामीले ब्राञ्चलेस बैकिङ चलाएका छौ । कर्णाली अञ्चलमा हाम्रो ४ वटा शाखा र एउटा शाखारहित बैकिङ छ । हुम्लामा एउटा शाखा थप्ने योजना छ । यो आर्थिक वर्षभित्र ९ वटा नयाँ शाखा थपिएलान् ।
कतिपय बैंकहरुले प्रदेशस्तरको हेडक्वार्टर समेत खोलिरहेका छन्, तपाईहरुको योजना के छ ?
-धेरैले प्रदेशभित्रका शाखाहरुलाई हेर्ने गरी कार्यालयहरु खेलेका छन् । त्यहाँबाट उसले सबै फाइल हेर्छ, हेड अफिस पठाउँछ । बरु पछिल्लो कालमा शाखाहरुलाई नै बढी अधिकार प्रत्यायोजन गरेका छौ, किनभने हामीसँग योग्य शाखा प्रबन्धकहरु हुनुुुहुन्छ । उहाँहरुले त्यही अधिकार अनुसार काम गरिरहनुुभएकै छ । अनलाइन सिस्टम छ, सबै अनलाइनमै भेटिन्छन्, काम गर्न त्यति गाह्रो छैन अहिले ।
सिटिजन्स बैंक अरुभन्दा केही पृथक हिँड्न खोजिरहेको देखियो, प्रडक्टहरुमा पनि पृथकता छ ?
-हामीसँग फास्ट ट्रयाक लोन छ, यो हाम्रो सीइओ सरको अवधारणा हो । हामीले यसअन्तरगत डेढ–दुई अर्बको लोन दिएका छौ । तीन दिनमा लोन दिने र त्यो चाहि एकदमै मार्जिनलाइज्ड पिपलहरुलाई दिने भन्ने हो । बैंकहरुले प्राय बाटो नभएको जग्गा धितो राखेर लोन दिंदैनन्, तर यसमा चाहि खेतीयोग्य जमीन राखेर पनि ५ देखि १० लाख रुपैया ऋण दिने काम गर्यौं । कृषि क्षेत्र र तल्लो तहको व्यक्ति, जसले अनौपचारिक क्षेत्रबाट ३६ प्रतिशत भन्दा बढीमा गाउँघरमा लोन लिइरहेका छन्, उनीहरुलाई सस्तोे दरमा ऋण प्रदान गरिरहेका छौ । यस्तो लोनको बेनिफिट लिने मात्र हामीसँग ३–४ हजार मान्छे भइसक्नुुभएको छ ।
‘वान जोन वान प्रडक्ट’ भन्ने अर्को स्कीम पनि छ । जस्तोः मेची अञ्चलमा चियाखेती बढी लोकप्रिय छ भने त्यसलाई लोन दिने, यस्तै जनकपुर अञ्चलमा माछा छ भने त्यसको खेतीका लागि लोन दिने । क्षेत्रगत रुपमा सफल र स्थापित उत्पादनहरुका आधारमा ल्याइएको अवधारणा समेत सफल नै भयो ।
तर, समग्रमा के चिज फरक भन्दा पनि सबै बैंकले गर्ने एउटै चिज हो । कोही पुराना छन् अलिक बढी विश्वासिलो देखिन्छ । कोही केही नयाँ छन्, उहाँहरुले विश्वास जित्नुुपर्ने बाँकी छ ।
हामीसँग डिजिटल पेमेन्टको सुविधा समेत उपलब्ध छ । टिकट किन्नुुपर्यो, बिजुली तथा इन्टरनेटको बिल तिर्नुपरे मोवाइलबाटै तिर्न पाइने सुविधा छ । यस्ता थुुुप्रै खालको सेवाहरु हामीकहाँ उपलब्ध छ ।
हामी हाम्रा कस्टमरप्रति धेरै सजग छौ । हाम्रो स्टाफले तपाई जतिपटक बैंक आउनुहोस्, नमस्कार गर्छन्, अभिवादन गर्दछन । हामीमा नमस्कार कल्चर व्यापक छ, जुनसुकै शाखामा गए पनि । हामी कस्टमरको ह्यापीनेश हाम्रो ह्यापीनेश र कस्टमर हाम्रो देउता हो भन्ने मान्यता राख्छौ । यहीकारण हामी मुस्कानसहितको बैकिङ गरिरहेका छौ । नमस्कार त हाम्रो कस्टरमले पाउनैपर्छ, चाहे जो कस्टमर आओस् । उसले नमस्कार नखाई जान पाउने अवस्था छैन, यो हामीले कल्चर नै बनाएका छौ । चेञ्ज आउँछ, प्रयास गर्नुपर्छ । हामीजस्तो मान्छेले जीवनमा धेरै गर्न सकिन्छ, तर सिक्नुु चाहि पर्छ । कति वर्ष जागिर खानुुभयो भन्ने महत्वपूर्ण होइन, तपाईमा कति डेडिकेसन छ, तपाई कति भित्रैबाट त्यो चिजलाई ग्रहण गर्नुहुन्छ, सेल्फ मोटिभेटेड भएर काम गर्नुभएको छ कि प्रायोजित किसिमले काम गर्नुभएको छ भन्ने कुराले सफलता निर्धारण गर्छ । र, म यही विश्वासले अगाडि बढिरहेको हुन्छु।
आदरणीय डा. शंकर शर्माजस्ता व्यक्तित्व हाम्रो बैंकको अध्यक्ष हुनुहुन्छ । धेरै पढेलेखेका र सुन्दर मान्छेहरुको जमात छ यहाँ । राजन सरजस्तो मान्छे यहाँ हुनुहुन्छ, उहाँको नेतृत्व हामीले पाएका छौ । १४ अञ्चलमै ब्राञ्च छ । सबै प्रदेशमा शाखा छन् । साढे ८ सयले रोजगारी पाएका छन् । वार्षिक करिब रु. ५० करोड बढी सरकारलाई कर मात्र तिर्छौ ।
तपाईले अघि प्रविधिको कुरा गरिरहनुुभएको थियो । सबै कुरा डिजिटल हुन थालिसक्यो । पछिल्लो कालमा डिजिटल बैकिङ गर्दै जाँदा जोखिम पनि बढ्न थालेको छ । केही समयअघि नेपालमा स्वीफ्ट ह्याक प्रकरण भयो, छिमेकमा पिएनबी प्रकरण भयो । नेपालमा एटीएम फ्रडमा विदेशी मानिसहरु पक्राउ परेका खबर पनि बेला–बेला बाहिर आइरहन्छन् । डिजिटल बैकिङमा हामी कति सुरक्षित छौ ?
-तपाईले धेरै राम्रो प्रश्न गर्नुभयो । हामीले सुरक्षामा धेरै लगानी गरेका छौ । जस्तो: भूकम्प आयो, के गर्ने ? हाम्रो डाटा रिकभरि सेन्टर भैरहवामा छ । हेड अफिसमा हाम्रो निकै ठूलो डाटा सेन्टर छ, त्यहाँ भएभरको कारोबार रिफ्लेक्सन हुन्छ, त्यो डूूब्यो वा चलेन भने त्यसको ब्याकअपले (रियल टाइम ब्याकअप)एकसेकेण्डमै काम गर्न थाल्छ, त्यो ब्याकअप भैरहवामा छ । तपाईले भूकम्पको जोन हेर्नुभयो भने पूर्वतिरबाट काठमाण्डौ भागतर्फ एकदमै धेरै भूकम्पीय जोखिममा पर्छ । भैरहवा चाहि अलिक सेफमा पर्ने हुनाले धेरै बैंकले त्यहाँ डाटा रिकभरी सेन्टर राखेका छन्, हाम्रो पनि त्यहीँ छ ।
देशका समग्र बैंकहरु चाहि कति सुरक्षित र संवेदनशील पाउनुुभएको छ ?
-सबैले लगानी गरेका छन् । किनभने राष्ट्रबैंकले वर्षमा एकपटक निकै राम्रो निरीक्षण र अनुगमन गर्छ । आएर एकडेढ महिना बसेरै एक/एक चिज हेर्छ, आन्द्राभूँडी सबै निकाल्छ । सिस्टमको पाटोमा पनि सबै कुरा हेरेर जान्छ । आवश्यकता अनुसार अन्य बेलामा पनि निरीक्षण हुन्छ । तर, प्रविधिमा धेरै परिवर्तनहरु आइरहेका हुन्छन् । चोरमाथि चकार भन्छन् नि, केही न केही फ्रडका उदाहरणहरु देखिरहेका हुन्छौ । फेरि यस्तो फ्रड विदेश र विकसित देशहरुमा पनि भइरहेकै हुन्छन् । यसबाट हामीले आत्तिने होइन, तर एउटा चिज फ्रड पत्ता चाहि लाग्छ । फ्रड त भयो, तर फ्रड भएको कुरा थाहा त भयो नि ! जो मान्छेको पैसा खाताबाट गयो, फलानाको खातामा यस्तो भयो भन्ने पत्ता त लाग्यो नि ! त्यसकारण यसले गर्दा हाम्रो सिस्टमहरुलाई विभिन्न किसिमका मेकानिजमबाट पूर्ण सुुरक्षित बनाउने कोशिश सबै बैंकले गरेका छन् । इण्डष्ट्री सुरक्षित छ । अहिले त झन् कस्टमरहरुसँग सम्बन्धित सूचनामा पनि पूरै अपडेट हुनुुपर्छ भन्ने सिस्टम आएको छ । यस्ता कुराहरुमा पनि बैंकहरु सचेत छन् । कुनै पनि कस्टमरको बिषयमा डिटेल जानकारी नभई उसको खाता नखोल्ने, त्यस्ता किसिमका प्रविधिहरु आएका छन् । तपाई विश्वास गर्नुहोस् पछिल्ला ३–४ वर्षमा नेपालको बैकिङ क्षेत्रमा निकै ठूलो परिवर्तन आएको छ । पहिलाजस्तो पुरातन बैकिङ अब इतिहास भइसक्यो । सिस्टमले धेरै फाइदा गरेको छ, यसलाई पूर्ण सुरक्षित बनाउने काममा इञ्जिनियरहरु लागिरहनुुभएकै छ । हामीले पनि टेक्नोलोजीमा मस्त लगानी गर्नुपर्छ र आफूलाई पूर्ण सुरक्षित गराउन हामी तयार बन्नुुपर्छ ।
अन्तमा, दुुईतिहाई बढी बहुमतको सरकार बनेको छ । अहिले सत्ता सम्हाल्नेहरुले चुनावी घोषणापत्रमार्फत नै आर्थिक समृद्धि र विकासको एजेण्डालाई प्रमुखताका साथ समेटेका थिए । उनीहरुले भन्दै गरेको आर्थिक विकास र समृद्धिको स्वर्णिम युुग अब सुरु होला ?
-स्थिर सरकार बनेकोले कुनै न कुनै परिवर्तन हुन्छ भन्ने कुरामा म निकै आशावादी छु। हामी त फ्रेमवर्कमा काम गर्ने हो, त्यसलाई नाघेर अगाडि बढ्न सक्दैनौ । मैले अघि नै भनेँ नि हामी नियमनमा हुन्छौ । जस्तो हामीलाई यो क्षेत्रगत लगानी गर भनेर स्पष्ट निर्देशन दिइन्छ, हामी त्यसभन्दा यताउता जानुु पनि हुँदैन । हामी व्यापार गर्ने मानिस हौ, धेरै सोच्ने समय पनि हुन्न । हामीलाई नियामकले धेरै विषयबस्तुमा बाटो देखाइरहेको हुन्छ, त्यो भन्दा बढी दायाँबायाँ गर्नु हुँदैन।
अहिलेको सरकारप्रति जनताको निकै ठूलो आशा छ । हामी बैंकरको पनि ठूलो आशा छ । देशमा अब वैदेशिक लगानी पनि आउँछ भन्ने मेरो आशा छ ।
विदेशी लगानी आएपछि बैंकहरुले समेत तरलता सहजताको वातावरण पाउनेछन् । र, विभिन्न उत्पादनशील क्षेत्रमा लगानी गर्ने बग्रेल्ती अवसरहरु अब सिर्जना हुन्छ भन्नेमा म अझ धेरै आशावादी छु। नेपाली बैंकहरुले पनि यो मौका पाउँछन् । विदेशी बैंकहरु पनि आउने वातावरण बनाउनुुपर्छ, किनभने उनीहरुसँग धेरै ज्ञान र प्रविधि हुन्छ, हामी बैंकरहरुले समेत उहाँबाट सिक्ने मौका पाउँछौ । त्यसका लागि विदेशी बैंक र लगानीकर्ताले स्थिर सरकार खोजिरहेका हुन्छन् । अब सरकार स्थिर छ, त्यही भएर म धेरै आशावादी छु। हाम्रो देशमा अब स्वर्णिम युुग सुरु हुने भयो भन्ने मलाई लागेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago