– अर्जुन तिमिल्सिना
काठमाण्डौ । छोटो समयमै उच्च विन्दु चुमेको बजारमा केही दिनयता लगातार करेक्सन आइरहेका छन्। यसले विशेषगरी साना तथा नयाँ लगानीकर्ताहरु आत्तिएको अवस्था सिर्जना भएको छ। जसका कारण यस्ता लगानीकर्ताहरु धमाधम सेयर बेचेर सम्पत्ति सुरक्षित गर्नतिर लागेका छन्। तर टाठाबाठा लगानीकर्ताहरु यही अवसरको सदुपयोग गर्दै लगानी झनै थपिरहेका छन्।
बजारमा आज भारी करेक्सन आउँदा लगानीकर्ताहरु मनोविज्ञानमा निकै असर परेको छ। बुलिस ट्रेन्डमा रहेको बजार कतै बियरिसमा फर्किने त होइन भन्ने आशंका प्रशस्त उब्जिएका छन्। तर बजार विज्ञ तथा जानकारहरु भने अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बरु सेयर किनेर होल्ड गर्दा भविष्यमा राम्रै प्रतिफल प्राप्त हुने बताउँछन्।
पूर्वबैंकर तथा विश्लेषक अनलराज भट्टराईले बजारमा १–२ दिन गिरावट आउँदैमा लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन्। ‘बैंक ब्याजदर वैशाखयता बढ्दैन किनकि बैंकहरुको आधार दर अहिलेको बढेको छैन र बढ्ने कुरा पनि छैन’, उनले भने, ‘बढिहाले पनि ब्याजदर एकल अंकमै सीमित हुन्छ।’
भट्टराईले आउँदो वर्षको बजेट बजारमैत्री हुने पनि दाबी गरे। ‘यसले बजार बढ्न निकै सपोर्ट गर्छ’, उनले भने।
बजारमा पुनरकर्जामार्फत १२० अर्ब रुपैयाँ आउन लागेको पनि भट्टराईले बताए। ‘जेठमा सरकारी खर्च झन बढ्छ’, उनले भने, ‘अहिले प्रणालीमा रहेको तरलता व्यवस्थापन राष्ट्र बैंकबाट भइरहेकै छ। त्यसैले तत्काल तरलता संकट आउने कुनै सम्भावना छैन।’
तेस्रो त्रैमासमा बैंकहरुको वित्तीय विवरण पनि निकै राम्रो आउन सक्ने भट्टराईको अनुमान छ। ‘यी सबै कुराले बजारमा सकारात्मक प्रभाव पार्ने नै देखिन्छ’, उनले भने, ‘लगानीकर्ताहरुको मनोबल उच्च हुनुपर्यो। सेयर होल्ड गर्न पनि सक्नुपर्यो। प्यानिक सेल गर्नुपर्ने कुनै कारण नै छैन।’
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले अहिले बजार घट्नुमा मुख्यगरी ४ कारण रहेको बताएका छन्।
विभिन्न सञ्चारमाध्यममा तरलतामा दबाब परेको भन्ने समाचार आउँदा पनि बजारमा केही असर गरेको उनको तर्क छ। ‘राष्ट्र बैंकले उल्टो रिपो तोकेको छ, प्रणालीमा तरलता टन्नै छ’, उनले भने, ‘तत्काल ब्याज बढ्ने कुनै सम्भावना छैन।’
रौनियारले दोस्रो कारणका रुपमा सर्वोच्च अदालतको पछिल्लो फैसलालाई लिएका छन्। यो फैसलाले अब संसद् आयु २ वर्ष लम्बिएको भन्दै उनले यसले बजारमा झनै सकारात्मक प्रभाव पार्ने बताए। ‘अब अर्थमन्त्रीका रुपमा जो आए पनि पुँजीबजारमैत्री नै हुनेछ’, उनले भने।
रौनियारले तेस्रो तर्कका रुपमा बजारमा करेक्सन आउनु स्वाभाविक भएको बताएका छन्। ‘छोटो अवधिमै बजारले उच्च विन्दु चुम्यो’, उनले भने, ‘बजार लगातार बढ्नेमात्र होइन कहिलेकाहीँ करेक्सन पनि आउनुपर्छ। यसले बजारलाई झन मजबुत पार्छ।’
अल्पकालीन लगानीकर्ताले प्रफिट बुक गर्नुलाई रौनियारले बजारमा करेक्सन आउनुको चौथो कारणका रुपमा उल्लेख गरेका छन्। ‘बजारमा दीर्घकालीन लगानीकर्तामात्रै छैनन्, अल्पकालीन लगानीकर्ताहरुले प्रफिट बुक गर्दा पनि बजारमा करेक्सन आउँछ’, उनले भने, ‘बजार करेक्सन आउँदा लगानीको अवसर सिर्जना हुनुका साथै साना तथा नयाँ लगानीकर्ताहरुलाई प्रवेशको उचित वातावरण पनि बन्छ।’
बजार बढ्दैमा मात्तिने र घट्दैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको रौनियार बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19