-नवराज सुवेदी
नेपालको पूँजीबजारले आगामी दिनमा सुखद फड्को मार्ने नै छ । जसका लागि अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयन, देशैभरि सञ्जाल रहेको बित्तीय संस्थाबाट सेयर कारोबार, मार्जिन ट्रेडिङ, पूर्वाधारमैत्री अन्तरर्राष्ट्रिय स्तरको पूँजीबजार र चुस्तदुरुस्त लगानीकर्तामैत्री नियामक निकाय आदिको आवश्यकता रहन्छ । र, यसका अलावा अन्य थुप्रै विषयवस्तुको पनि सम्बोधन हुँदै जानुपर्दछ । 

निकट भविष्यमै आउन लागेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली नेपालको पूँजीबजारको इतिहासकै कोशेढुंगा साबित हुनुपर्दछ । 

अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण कार्यान्वयनसँगै विद्यमान कारोडमा सीमित दैनिक कारोबार बढेर अरबौंको उचाईमा पुग्नेछ । यो व्यवस्थाको बढी फाइदा सीमित ५० जना दलाल र राज्यलाई हुन्छ । उनीहरुले वार्षिक अरबौं फाइदा लिन सक्छन्, तर लगानीकर्तालाई भने हातमा लाग्यो शून्य हुनेछ । तसर्थ, हामी लगानीकर्ताले अबको दिनमा सम्बन्धित सरोकारवाला निकायसँग आपसी छलफल र समझदारीबाट ब्रोकर कमिसन बढीमा ०.२५ प्रतिशत तिर्ने गरी विद्यमान चर्को कमिशन घटाइनुपर्छ । 

हाल लगानीकर्ताको  हितमा खुलेका सम्पूर्ण संघ–संगठनले पनि  यो विषयमा तत्काल ध्यान दिन आवश्यक छ । उनीहरुले समेत अनलाइन कार्यान्वयनसँगै विद्यमान ब्रोकर कमिसन बढीमा ०.२५ प्रतिशत हुने गरी सबै सरोकार पक्षसँग जोडतोडका साथ माग  उठान गर्नुुपर्दछ । 

यसो हुन सक्यो भने लगानीकर्तालाई मात्र फाइदा हुँदैन, दलाल र राज्यले समेत यसको फाइदा लिन सक्नेछन् । तसर्थ, आपसी समझदारीकै माध्यमबाट सिंगो पूँजीबजारको बिस्तार तथा विकासमा केन्द्रीत भएर अगाडि बढ्नुपर्ने वर्तमान आवश्यकता देखिन्छ । 

यो काम हुन नदिन बेला–बेला केही  अराजक तत्वले असान्दर्भिक भूमिका खेल्ने गरेको र ती पूँजीबजारका भाइरस हामीले पहिचान गरिसकेको हुँदा बाधक बनेको खण्डमा ती माफियाले चर्को मूल्य चुकाउनुपर्नेछ । हामीलाई विश्वास छ, पक्कै पनि त्यसो हुने छैन ।

हामी सहमतिबाटै दलाल कमिसन बढीमा ०.२५ प्रतिशत होस् भन्ने चाहिरहेका छौ । यो बिषयलाई तोडमोड गर्न खोजिए, टार्न खोजिए वा बेवास्ता गरिए यसका लागि पुनः लगानीकर्तालाई सशक्त आन्दोलनमा उतार्न हामी तयार छौ । 
(लेखक नेपाल पूँजीबजार संघका अध्यक्ष हुन् ।)