– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले ब्रोकरले कमाएर महँगा गाडी चढे भनेर डाहा गर्नु गलत भएको बताएका छन्। 

बिजाशालासँगको कुराकानीमा कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)का सञ्चालकसमेत रहेका रानाभाटले ब्रोकरले मात्रै नभएर लगानीकर्ताले पनि महँगो गाडी चढेमा सेयर बजारमा थप आकर्षण हुने तर्क गरे। ‘लगानीकर्ताले पनि राम्रो गाडी चढेमा र राम्रो घर बनाएमा अरुलाई पनि सेयर बजारमा आउन उत्पे्ररणा मिल्छ’, उनले भने, ‘लगानीकर्ताले पनि कर तिरेर नै कमाएका हुन्छन्। म त लगानीकर्ताले पनि शानदार गाडी चढेर हिँड्नुपर्छ भन्छु। कसैलाई गाडी चढ्ने इच्छा छ भने चढ्नुपर्छ।’

अब ब्रोकरको न्यूनतम चुक्तापुँजी नै १५ करोड रुपैयाँ भएपछि राम्रा गाडी चढ्नु ठूलो कुरो नभएको रानाभाटको तर्क छ। ‘त्यसैले गाडी चढ्न किन हिच्किचाउने ?’, उनले प्रश्न गरे।

अर्को प्रसंगमा रानाभाटले नियामक निकायमा जो आए पनि ब्रोकरकै घाँटी थिच्ने काम गर्ने गरेको भन्दै दुःखेसो पोखे। ‘हामीलाई झड्केलो छोराजस्तो व्यवहार गरिन्छ’, उनले भने, ‘हामीले राज्यलाई कानुनी रुपमा कर तिरेका छौँ। नियामकले भनेभन्दा बढी मापदण्ड पूरा गरेर ब्रोकरेज सेवा दिइरहेका छौँ। तर, पनि हाम्रै घाँटी निमोठ्नेमात्रै काम भइरहेको छ।’

बजारमा एउटा दह्रो नयाँ स्टक एक्सचेन्ज आएमा त्यो राम्रो नै हुने रानाभाट बताउँछन्। ‘तर, भएको स्टक एक्सचेन्जलाई धरासायी बनाउन नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको हो भने त्यो राम्रो होइन’, उनले भने, ‘अहिले भएको स्टक एक्सचेन्जलाई सुधार नगरेर नयाँ ल्याउन खोज्नु भनेको भोलि पुरानो स्टक एक्सचेन्जसँग नै गाभ्ने रणनीति हो।’