काठमाण्डौ । बढ्दो बजारमा आम्दानी पनि बढिरहेको बेला भने आमलगानीकर्ताहरुले न्यूनतम सुविधासमेत नपाएपछि बजार नियामक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकरलेस कारोबारका विषयमा आन्तरिक छलफल सुरु गरेको छ। 

पछिल्लो समय अनलाइन प्रणालीबाटै सेयर किनबेच गर्न सकिने भएपछि कारोबार रकम बढेर ब्रोकहरुको कमिसनबाट हुने आम्दानी ह्वात्तै बढेको छ। तर ब्रोकहरुले न्यूनतम पूर्वाधार निर्माणमा समेत लगानी गर्न नमानेका कारण आमलगानीकर्ताहरुको सहजताका लागि ब्रोकरलेस कारोबार नेपालमा कार्यान्वयन गर्ने विषयमा नेप्सेले आन्तरिक छलफल सुरु गरिएको बताएको छ । यसले आमलगानीकर्ताको लागत कम हुने र ब्रोकरहरुको सिन्डिकेट पनि अन्त हुने नेप्सेका अधिकारीहरुको दाबी छ । 

यो विषयमा लगानीकर्ताहरुको धारणा चाहिँ के छ त ? नेपालमा ब्रोकरलेस कारोबार कार्यान्वयन आएमा आमलगानीकर्ताहरुलाई राम्रै हुने लगानीकर्ताका नेताहरुको धारणा छ। यद्यपि यस किमिसको कारोबार सुरुआत गर्न नियामक निकाय बढी दृढ हुनुपर्ने भन्दै उनीहरुले अन्यथा यो विषय ‘हात्ती आयो हात्ती आयो, फुस्सा’ जस्तै मात्र हुने तर्क गर्छन्। 

किनकि यसअघि नियामक निकायले पुँजीबजार विस्तार र विकासका लागि विभिन्न योजना सार्वजनिक गरे पनि कार्यान्वयन नभएका प्रशस्तै उदाहरणहरु रहेको उनीहरु बताउँछन्। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार नेप्सेको ब्रोकरलेस कारोबार कन्सेप्ट राम्रो रहेको बताउँछन्। ‘यसले पुँजी बजार विकास र विस्तार टेवा पुग्छ, लगानीकर्ताको कमिसन बच्छ’, उनले भने, ‘यो कन्सेप्ट साच्चिकै कार्यान्वयन गर्न खोजिएको हो भने हाम्रो पूर्णसमर्थन रहनेछ।’

यस विषयमा बजारमा निकै चर्चा चलिरहेको केही दिनभित्रै नेप्सेका अधिकारीहरुसँग बसेर छलफल गरिने रौनियारले बताए। ‘ब्रोकर कमिसन केही घटे पनि आमलगानीकर्ता सन्तुष्टि हुने अवस्था छैन’, उनले भने, ‘यदि ब्रोकरलेस कारोबार कार्यान्वयन भए यसले बजारमा ब्रोकरहरुलाई झनै प्रतिस्पर्धी बनाउनेछ, आमलगानीकर्ता पनि लाभान्वित हुनेछन्।’

लगानीकर्ताका अर्का नेता नयन बास्तोला अहिले देशविदेशमा बसेर सेयर बजारमा लगानी भइरहे पनि ब्रोकरहरु लगानीकर्तामैत्री हुन नसकेका बताउँछन्। ‘सामान्य कुराका लागि पनि ब्रोकर हाउस नै धाउनुपर्ने अवस्था छ’, उनले भने, ‘यदि ब्रोकरलेस कारोबार कार्यान्वयन हुने हो भने यसले आमलगानीकर्ताहरुलाई सहज रुपमा कारोबार गर्ने वातावरण बन्छ।’

नेप्सेले चाहे ब्रोकरलेस कारोबार असम्भव नरहेको उल्लेख गर्दै बास्तोलाले यसलाई कार्यान्वयनमा ल्याउन भने निकै चुनौतीपूर्ण रहेको तर्क गरे। ‘ब्रोकरलेस कारोबार कार्यान्वयनमा ल्याउन अहिलेकै पूर्वाधार र प्रविधिले साथ दिन्छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘अहिलेको प्रविधिका कारण लगानीकर्ताहरुले धेरै समस्या भोग्दै आएका छन्। त्यसैले यो कार्यान्वयनमा ल्याउने हो भने पहिले पूर्वाधार र प्रविधिलाई सशक्त पार्न आवश्यक छ।’

यदि ब्रोकरलेस कारोबार प्रणाली कार्यान्वय भएर पुँजी बजार विकासमा निकै ठूलो टेवा पुग्ने बास्तोलाले बताए। ‘हामीले बजारमा १० अर्ब रुपैयाँमाथिसम्म कारोबार पुगेको अनुभव गरिसकेका छौँ’, उनले भने, ‘यदि यो प्रणाली कार्यान्वयनमा आए कारोबार रकम २० अर्ब रुपैयाँ माथि पुग्नेछ। जसले बजारको स्थिरता कायम गर्न सघाउ पुग्नेछ।’

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेप्सेले गृहकार्य थालेको ब्रेकरलेस कारोबार असम्भव रहेको बताउँछिन्। ‘न यहाँ इन्टरनेट राम्रो सुविधा, न रियल टाइम कारोबार नै व्यवस्थित छ’, उनले भनिन्, ‘यस्तो अवस्थामा ब्रोकरलेस कारोबारको कल्पना गर्नु आफैँमा दिवास्वप्न हुनेछ।’

सेयर बजारमा जताततै समस्या रहेको उल्लेख गर्दै पोखरेलले ब्रोकरलेस कारोबारको सपना देखाएर नियामक निकायले आमलगानीकर्ताहरुको आँखामा छारो हाल्ने काममात्रै गर्न खोजेको दाबी गरिन्। ‘यदि यो प्रणाली कार्यान्वयनमा आयो भने आमलगानीकर्ताहरुलाई धेरै राम्रो हुनेछ तर यो सम्भव नै छैन’, उनले भनिन्।

सक्रिय युवा लगानीकर्ता दीपेन्द्र अग्रवाल हाल बजारमा देखिएका तमाम समस्या निवारणको अचुक अस्त्र ब्रोकरलेस कारोबार बन्न सक्ने बताउँछन्। ‘अहिले केही ब्रोकरहरुले कारोबारको नाममा ठगीधन्दा चलाइरहेका छन्, आमलगानीकर्ताहरु ब्रोकरहरुकै बदमासीका कारण विभिन्न समस्यामा पर्ने गरेका छन्’, उनले भने, ‘यदि यो प्रणाली लागू भए ती सबै समस्याबाट आमलगानी मुक्त हुन सक्नेछन्, पुँजीबजारको राम्रै विकास हुन्छ।’
तर यो प्रणाली कार्यान्वयनमा आउनेमा अग्रवाल विश्वस्त देखिँदैनन्। ‘यसअघि पनि अर्थ मन्त्रालयबाट स्वीकृत भएको पुँजी बजार विकास र विस्तारसम्बन्धी ५८ बुँदा केही बुँदा अझै कार्यान्वयन हुन सकेका छैनन्’, उनले भने, ‘नियामक निकायकै कर्मचारीको मिलेमतोमा बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने काम रोकिएको छ, यस्तो बेला ब्रोकरलेस कारोबारको परिकल्पना गर्नु बेकार हुनेछ। यो सबै नियामक निकायले आमलगानीकर्तालाई रनभुल्लमा पार्ने काममात्र हो।’