-भक्तराज रसाइली
काठमाण्डौं । नेपाली सेयर बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको खरिदबिक्रीमा मध्यस्थकर्ताका रुपमा महत्वपूर्ण भूमिका सेयर ब्रोकरहरुले गरिरहेका हुन्छन् । 

ब्रोकरबिनाको सेयर बजार कल्पनासम्म गर्न सकिन्न । नेपालमा समेत ५० वटा ब्रोकर र तिनका शाखाले लगानीकर्ताको सेयर कारोबारमा समन्वयकारी भूमिका खेलिरहेका छन् । 

यही क्रममा हामीले गत सातादेखि थालनी गरेको ब्रोकर वाच स्तम्भमा यो पटक ब्रोकर नम्बर ४५ अर्थात् इम्पेरियल सेक्युरिटिज कम्पनी प्रा.लि.लाई छनौट गरेका छौ । 

इम्पेरियल सेक्युरिटिज वि.सं. २०६८ साल भाद्र १५ मा स्थापना भएको ब्रोकरेज हाउस हा । यहाँको एमडी र चेयरमेनका रुपमा भक्तिराम घिमिरे छन् । ५ जना प्रमोटर रहेको घिमिरेको ब्रोकर हाउसमा २७ जना कर्मचारीहरु कार्यरत छन् ।

एमडी तथा चेयरमेनको रुपमा कार्यरत घिमिरे शंकरदेव क्याम्पसका डीग्रीहोल्डर हुन् । २०६१ सालमा एमबिएस उत्तीर्ण गरेकेपछि उनले विभिन्न कलेजमा प्राध्यापन समेत गरे । 

घिमिरेले नेतृत्व गरेको ब्रोकर हाउसको मुख्य कार्यालय काठमाण्डौं २९ स्थित अनामनगर हनुमानस्थानमा रहेको छ । हाल नेपालगञ्जस्थित धम्बोडी चोकमा दुर्गम कार्यक्षेत्र शाखा समेत सञ्चालनमा रहेको घिमिरे बताउँछन् । 

पाइपलाइनमा वीरेन्द्रनगर, सुर्खेतको शाखा छ भने स्याङ्गजा, नुवाकोट, अत्तरिया, कोहलपुरमा थप शाखा विस्तार गर्न आवेदन दिएको घिमिरेले जानकारी दिए ।

दैनिक २ देखि ३ सय ग्राहक आफ्नो अफिसमा सेवाग्राहीका रुपमा आउने गरेका उनी बताउँछन् । उनले कारोबार संख्याका आधारमा आफ्नो कम्पनी टप फाइभमा पर्ने दाबी समेत गरे । ‘रिटेल लगानीकर्ताको फ्लो मेरोमा धेरै हुन्छ । यहाँ सेयर बेचेका सेयर कारोबारीहरुलाई समयमै भुक्तानी हुन्छ ।’

हाल उनकोमा कुल ग्राहक संख्या ३३ हजार ३ सय ९१ जना रहेको छ ।

घिमिरे आफूलाई सर्भिस प्रोभाइडर र कमिसन एजेण्ट ब्रोकरका कित्ताका रुपमा उभ्याउन चाहन्छन् । 

ग्राहकमुखी सेवा भएकाले सबैबाट आजसम्म माया पाइरहेको उनको भनाई छ । 

सेयर खरिदबिक्रीमा आफ्नो बिद्वतामा सीमित बनाइरहेको नियामक र सम्बन्धित निकायहरुले फूलफेज ब्रोकरका रुपमा कार्य गर्न आफू सदैव तयार रहेको उनले बताए । 

किन ४५ नम्बर नै ब्रोकर नै ? भन्ने बिजशालाको प्रश्नमा घिमिरे भन्छन्–‘भनेको बेलामा काम गर्नसक्ने र ग्राहकको सहजतालाई विशेष प्राथमिकता दिने ब्रोकर भएकोले । जागिरेहरुलाई सहज होस् भन्ने हेतूले नै कार्यालय समय बिहान ९ बजेदेखि बेलूकी ६ बजेसम्म ब्रोकरेज सेवा अन्तर्गत शीघ्र सर्भिस नै हाम्रो पहिचान रहेकोले ।’ 

ब्रोकर सेवा आफैंमा नियमन हुने क्षेत्र भएकाले नेपाल राष्ट्रबैंक, सेबोन, नेप्से, सिडिएससी र स्टक ब्रोकर एसोसिएशन अन्तर्गत रहेर उच्च नैतिकताका साथ संस्थागत संस्कृतिलाई जोडदार अपनाउँदै आचारसंहिताभित्र रहेर काम गर्नुपर्ने विश्वासमा आफूहरु अडिग भएको घिमिरेको दाबी छ । 

सिडिएससीले अनुमति दिएको पहिलो फेजमा नै डीपी सेवा प्रारम्भ गरेको बताउने घिमिरेका अनुसार १८ हजारलाई डिम्याट सुविधा उपलब्ध गराउन सफल भएको र यसमा १ सय बढी संस्थागत लगानीकर्ता रहेका छन् । 

पूँजीबजार आफ्ना लागि समेत चाखलाग्दो क्षेत्र भएको र अन्यलाई समेत थप रोजगारी दिने राम्रो प्लेटफर्म भएकै कारणले ब्रोकरको भविष्य उज्वल रहेको घिमिरे दाबी गर्छन् ।

विश्वमा समृद्धि हासिल गर्न कुनै पनि राष्ट्रको पूँजी बजारको उल्लेखनीय भूमिका रहने अनि अझ दोस्रो बजारले ठूला ठूला प्रोजेक्टका लागि पूँजी निर्माण गर्ने र तरलतामा सहज हुने भएकै कारणले समेत ब्रोकर व्यवसायको क्षेत्र राम्रो भएको उनको प्रष्टीकरण छ ।

पछिल्लो क्वार्टरमा १८९ कम्पनीको १ अर्ब ५६ करोड २२ लाख १५ हजार कारोबार गरेको घिमिरेले जानकारी दिए ।

अहिलेसम्म नियामक सेबोन र नेप्सेले कार्वाही नगरेको दाबी गरेका उनको ब्रोकर हाउसलाई ग्राहकको केवाइसीका विषयमा बजार संचालक तथा नियामकले स्पष्टीकरण भने सोधेको घिमिरेले जानकारी दिए ।

तरलता सहज हुँदा बैंक तथा वित्तीय संस्थाको प्राथमिकताको क्षेत्रमा पर्ने, तरलता टाइट हुँदा सबैभन्दा सुरुमा प्रहार भोग्नुपर्ने सेयर बजारप्रतिको बैंकहरुको कठोर कैंचीप्रति रुष्ट हुँदै यसतर्फ ध्यान दिन जरुरी रहेको उनले सुनाए । 

नियामक सेबोन र नेप्सेले नीति तथा कार्यक्रम ल्याउँदा मिहिन अध्ययनका साथमा व्यवहारिकताको ख्याल गर्नुपर्नेमा उनको जोड छ । 

लहड र अन्धाधुन्द भइदिंदा सेयर बजार चेपूवामा पर्नसक्ने भएकाले चनाखो हुन जरुरी रहेको उनले अथ्र्याए । 

ब्रोकरहरुले आफ्ना लागि समेत सेयर खरिदबिक्री गर्दा बजारको दायरा फराकिलो हुने भएकाले यस विषयमा सबै सम्बन्धित निकायहरुले ध्यान पुर्याउन आवश्यक रहेको उनको सुझाव छ । 

नयाँ अनलाइन प्रणालीका समस्याहरु हल हँुदै गए भने र नयाँ थप ब्रोकर शाखा उपत्यका बाहिर पुगेको खण्डमा बजारको दायर फराकिलो बन्दै दिगो र राम्रो सेयर बजारको कल्पना यथार्थमा परिणत हुने घिमिरेको भनाई छ । 

हाल सेयर बजारमा बैंकका सेयरको ७० प्रतिशतको हाराहारीमा दबदबा रहँदा उत्पादन र सेवा क्षेत्रका कम्पनीहरुलाई सरकारले पब्लिक कम्पनी बनाई सहुलियत दिनुका साथै दोश्रो बजारमा त्यस्ता कम्पनीहरु सूचीकृत गराउन नेप्सेले भूमिका खेल्नुपर्ने उनको निचोड थियो । 

समयसापेक्ष प्रविधि  परिवर्तनलाई अंगाल्दै दायरा र क्षेत्र बढाउन सेबोन र नेप्सेले ढिलाइ गर्न नहुने उनको थप सुझाव छ । अहिले पनि ब्रोकरलाई संगठनका रुपमा नलिई व्यक्तिका रुपमा व्यवहार गरिएको प्रति उनको असन्तुष्टि समेत देखियो ।

त्यहीँ भेटिएका सेयर लगानीकर्ताको नजरमा चाहि कस्तो छ त ब्रोकर नम्बर ४५ ?

सीता विष्ट पन्थी(उद्यमी)पुरानो बानेश्वर-४० वर्ष
-विगत १० वर्षदेखि सेयर बजारमा संलग्न रहेकोमा ४५ नम्बरमा चाहिँ स्थापनाकालदेखि नै अर्थात् ७ वर्षदेखि सेवा लिइरहेकी छु । उहाँहरुले सक्दो सहयोग गरिनै रहनु भएको र एकदम राम्रो सेवासुविधा पाइरहेकी छु । कारोबार गर्दा पाउनुपर्ने भुक्तानी पनि समयमा नै पाउने भएकोले केही गुनासो छैन ।

निराञ्जन प्रजापति(इञ्जिनियर)गठ्ठाघर-३५ वर्ष 
-साढे २ वर्षदेखि ४५ नम्बर ब्रोकरसँग कारोबार गरिरहेको छु । उहाँहरुले दिनुपर्ने सम्पूर्ण सुविधा आफूले पाएकोले हर्षित छु । साथीमार्फत ४५ मा जोडिएको मलाई मार्जिन लेण्डिङ्गको सुविधा ब्रोकरले थपेमा राम्रो हुन्छ जस्तो लाग्छ ।

दिनेशबहादुर मानन्धर(व्यापारी) बल्खु-४८ वर्ष
-२
वर्षदेखि इम्पेरियल सेक्युरिटिजमार्फत सेयर कारोबारमा सक्रिय छु । सबै सेवासुविधा ठीकै छन् । अझ कर्मचारीहरुको व्यवहार मलाई राम्रो लाग्छ । मेरो गुनासो चाहिँ सेयर किन्दा २ दिनभित्र दिनुपर्ने, तर लिंदा ७ दिन लाग्ने भएकाले यसलाई तालमेलमा ल्याउन पाए राम्रो हुन्थ्यो ।

रोहण सेढाइँ (शिक्षक)शंखमूल-३० वर्ष
-यस कम्पनीको सुरुवातदेखि नै यहीँबाट कारोबार गरिरहेको हो । फूल टाइम लगानीकर्ताका रुपमा म यहीँबाट सेयर कारोबारमा सक्रिय रहेको र ब्रोकर र मेरोबीचको समझदारीमा धेरै सुविधा पाएकाले सन्तुष्ट नै छु । अनलाइन बैंकिङ्ग सेटलमेण्ट ब्रोकरले नै गरिदिए हुन्थ्यो र आज किनेर भोलि नै सेयर बिक्री गर्न पाउने चाहना छ।