काठमाण्डौ । पूँजीबजारको विषयमा पर्याप्त जनचेतना फैलिन सकेको छैन । यहीकारण समेत पूँजीबजारको विकास र बिस्तार हुन नसकेको र दूरदराजका जनतामा पूँजीबजारको विषयमा पर्याप्त ज्ञान नरहेको बेला–बेला चर्चा हुने गरेको छ । 

पूँजीबजारको विकास र बिस्तारमा अपेक्षित सुधार हुन नसकिरहेको बेला नेपाल स्टक एक्सचेञ्जले विभिन्न उपायहरु लगाएर बजारको विकास र विस्तारमा ध्यान दिन थालेको छ । 

यही क्रममा नेप्सेले पूँजीबजारको विषयमा जनचेतना विस्तार र आर्थिक सचेतना वृद्धिको उद्देश्यले टुरिजम बोर्डको सिको गर्दै ‘भिजिट नेप्से’ कार्यक्रम संचालनको घोषणा गरेको छ । 

टुरिजम बोर्डले समेत पर्यटन प्रवद्र्धन लक्षित कार्यक्रम भिजिट नेपाल घोषणा यसअघि नै गरिसकेको छ । 

नेप्सेले त्यसकै सिको गर्दै ‘भिजिट नेप्से’ कार्यक्रम ल्याएको हो । पहिलो चरणमा यो कार्यक्रम स्कूल, कलेज तथा विश्वविद्यालयका विद्यार्थी केन्द्रीत हुनेछ । नेप्सेका कर्मचारीहरुले सम्बन्धित स्कूल, कलेज तथा विश्वविद्यालयको लिखित आग्रहपछि सम्बन्धित ठाउँमा गएर पूँजीबजारका विषयमा विद्यार्थीहरुमा जनचेतना फैलाउनेछ । 

सो क्रममा नेप्सेसँग सम्बन्धित पूँजीबजारका निकाय तथा प्रणालीको बारेमा समेत जानकारी दिइने नेप्सेबाट जारी सूचनामा उल्लेख गरिएको छ । 

नेप्सेले ‘भिजिट नेप्से’ कार्यक्रममा सहभागी हुन इच्छुक सम्बन्धित स्कूल, कलेज तथा विश्वविद्यालय लगायतका शिक्षण संस्थाले नाम, ठेगाना, तथा विद्यार्थी संख्या उल्लेख गरी आफ्नो कार्यालयमा पठाउन आह्वान गरेको छ । 

‘भिजिट नेप्से’ कार्यक्रममा सहभागी बन्न कुनै शुल्क नचाहिने र यो कार्यक्रम पूर्ण निःशुल्क हुने नेप्सेको प्रष्टोक्ति छ ।