काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको सेयरमा खरीदारी बढेसँगै नेप्से परिसूचकमा सामान्य बढोत्तरी भएको छ । 

बजार घटाउने गिरोहहरुको हौवा र चलखेलको विषयमा लगानीकर्ताहरु जानकार हुन थालेपछि र सुनियोजित ढंगले बजार घटाइरहेको विषय बुझ्न थालेपछि बाली भित्र्याउने समयको संवेदनशीलतालाई लगानीकर्ताले बुझ्न थालेको जस्तो देखिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५/७६ मा नाफामा राम्रो बढोत्तरी गरेका छन् भन्ने संकेत केही बैंक तथा कम्पनीले प्रकाशित गरेका वित्तीय विवरण र तेश्रो त्रैमासका लागि कतिपय कम्पनीले प्रकाशित गरेका वित्तीय विवरणले गरिसकेको छ । यसकारण समेत बैंक तथा वित्तीय संस्थामा लगानी गरेकाहरुले यो वर्ष राम्रै रिटर्न पाउने अवस्था छ ।

सूचिकृत यस्ता कम्पनीहरुले चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेपछि धमाधम गत वर्षका लागि लाभांशको घोषणा गर्न थाल्नेछन् । 

वर्षभरिको उतारचढावपूर्ण अवस्था भोगेका लगानीकर्ताहरुले प्रतिफल पाउने बेलैमा सेयर बिक्री गर्न थालेपछि यो विषयमा विभिन्न पक्षहरुले सचेत गराउने काम गरेका थिए । बाली भित्र्याउने समयमै कतिपय गिरोहहरुले सोझा लगानीकर्तालाई अनेकन हौवा फिजाएर भड्काउने प्रयास समेत जारी राखेकै छन् । तर, यस्ता प्रयासहरुको पर्दा खुल्न थालेसँगै लगानीकर्ताहरु थोरै आशावादी देखिएका छन् । सोमबारको बढोत्तरी सामान्य मात्र हो, यसलाई दिगो बनाउन लगानीकर्ता सजग बन्नुको विकल्प नहुने बजारका जानकारहरु बताउँछन् । 

यस्तै, भावनाबाट प्रेरित भएका लगानीकर्ताले खरीदारी बढाउँदा नेप्से परिसूचक ३.१८ अंकले बढ्यो । बलिया र राम्रा कम्पनीको सेयरमा केही खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १.०८ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.२४ अंकको बढोत्तरी देखियो । 

यो दिन बैंकिङ समूह २.५९ अंकले बढ्यो भने माइक्रोफाइनान्स समूहमा २३.४ अंकको उछाल आयो । विकास बैंक समूह ३.७८ अंकले बढेको यो दिन वित्त समूहमा ५.१९ अंक, जलविद्युत समूहमा १.४८ अंक, निर्जीवन बिमा समूहमा १.३४ अंक र अन्य समूहमा २.२ अंकको बढोत्तरी देखियो । यो दिन उत्पादन तथा प्रशोधन समूह ४.१६ अंकले घट्यो भने निर्जीवन बिमा समूहमा १५.७९ अंक र म्युचुअल फण्ड समूहमा ०.०१ अंकको गिरावट आयो । 
यो दिन बजारमा १६६ कम्पनीका १२ लाख ८ हजार ३४२ कित्ता सेयर ३५ करोड ८ लाख १२ हजार ५७२ रुपैयाँमा किनबेच भयो । 

यो दिन यूनाइटेड इन्स्योरेन्सले सबैभन्दा बढी २ करोड ३८ लाख बढीको कारोबार गर्यो । प्रभू बैंकले २ करोड २३ लाख, साना किसान विकास बैंकले २ करोड ९ लाख, शिवम सिमेन्टले १ करोड ८४ लाख, कृषि विकास बैंकले १ करोड ५२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३५ लाख, नेपाल बैंकले १ करोड ७ लाख, मेगा बैंकले १ करोड ५ लाख बढीको कारोबार गरे । 

प्राइम कमर्सियल बैंकको ९६ लाख बढीको संस्थापक सेयर कारोबार भएको बजारमा सानिमा बैंकले ९३ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल एग्रो लघुवित्तको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । 

सिर्जना फाइनान्स वित्तीय संस्थाको मूल्य ९.७० प्रतिशत, स्वाभिमान लघुवित्तको सेयर मूल्य ९.३४ प्रतिशत तथा स्पर्श लघुवित्तको मूल्य ९ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।