काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जरमा जाने प्रस्ताव हिमालयन बैंकको वार्षिक साधारणसभाबाट अस्वीकृति भएसँगै अब धितोपत्र दोस्रो बजारमा यी बैंकको सेयर कारोबार रोक्काको विषयलाई लिएर टीकाटिप्पणी हुन थालेको छ।
झन्डै डेढ वर्षदेखिको मर्जरको प्रयास असफल हुनुका साथै मर्जर प्रक्रिया भाँडिँदा यी बैंकमा रहेको सर्वसाधारणको लगानी लामो समय बन्धक हुने देखिएपछि सम्बन्धित बैंकदेखि नियामक निकायसम्मको आलोचना हुन थालेको छ। मर्जर प्रयोजनका लागि ६ महिनाभन्दा बढी समयदेखि यी दुवै बैंकको धितोपत्र कारोबार रोक्का छ। अब मर्जर भाँडिएका कारण सेयर कारोबार फुकुवामा थप जटिलता बढेको छ।
कतिपय अर्थशास्त्री र सेयर बजार जानकारले मर्जरको नीति ठीक भए पनि मर्जरकै लागि सेयर कारोबार रोक्का गर्ने नीति भने बेठीक भएको तर्क गरेका छन्। यो नीतिले ठूलाबडालाई फाइदा हुने तर साना लगानीकर्ताहरु मर्कामा पर्ने उनीहरुको भनाइ छ।
अर्थशास्त्री एवं बजार जानकार मुक्तिबहादुर खत्री मर्जरका लागि लामो समयसम्म सेयर कारोबार रोक्का गर्ने नीति लगानीकर्ताका लागि उचित नभएको बताउँछन्। ‘हाम्रोजस्तो सानो अर्थतन्त्र भएको देशमा बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जरको नीति लिइनु ठिकै हो तर मर्जरकै नाममा सर्वसाधारणको लगानी लामो समयसम्म बन्धन बनाउने गरी सेयर कारोबार रोक्का गर्नु भने उचित होइन’, उनले भने।
सेयर कारोबार रोक्का नै गर्नुपर्ने हो भने छोटो समय १–२ महिनाका लागि गर्न उचित हुने खत्रीको सुझाव छ।
अर्कोतर्फ मर्जर भाँडिँदा त्यसको सजाय आमलगानीकर्ताले पाउन नहुने खत्रीको भनाइ छ। ‘नियामक राष्ट्र बैंकले मर्जर तोड्ने संस्था, त्यसका संस्थापक र सञ्चालकलाई कारबाही गर्नुपर्छ’, उनले भने, ‘त्यस्तै मर्जरमा जाने संस्थाका विषयमा गहिरो अध्ययन गरेरमात्र मर्जर प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्नुपर्ने देखिन्छ।’
मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुले पनि आफूहरु पूर्ण सहमत भएको अवस्थामा मात्रै मर्जरको नीति अवलम्बन गर्नुपर्ने खत्रीको सुझाव छ।
सेयर बजार विश्लेषक रवीन्द्र भट्टराई पनि मर्जर नीतिमा राष्ट्र बैंकले आफ्नो नीतिनियम परिमार्जन गर्न आवश्यक रहेको बताउँछन्। ‘जसरी राजनीतिक पार्टीहरुमा सत्ता हत्याउन र शासन गर्न अनेक तिकडम हुन्छन्, त्यसरी नै कर्पोरेट संस्थामा पनि हुने गर्छ’, हिमालयन बैंकको एजीएमबाट मर्जर अस्वीकृत भएकोप्रति टिप्पणी गर्दै भट्टराईले फेसबुकमा लेखका छन्, ‘यसलाई नेपाल राष्ट्र बैंकले पनि स्वीकार गर्नुपर्छ। तर साधारणसभाबाट पारित गरेको लाभांश सेयरधनीहरुलाई बाँड्न भने रोक्न हुँदैन।’
यसैगरी मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्नेजस्तो खराब नियममा परिमार्जन गर्न आवश्यक रहेको पनि भट्टराईको विचार छ। ‘मर्जरका नाममा विगत धेरै वर्षदेखि कम्पनीका सेयरधनीले यसको पीडा व्यहोर्दै आएका छन्’, उनले लेखका छन्, ‘त्यो कुरा नियामकले बुझ्न जरुरी छ। मर्जका कुरा चल्दै गर्छन्, कारोबार पनि चल्दै गर्नुपर्छ।’
मर्जरका विषयमा अन्य देशको अभ्यास पनि हेर्न भट्टराईले सुझाव दिएका छन्। ‘सर्वसाधारणको सम्पत्ति बन्धक राखेर कति समयसम्म हाँसेर रमिता हेर्छौ ?’, भट्टराईले लेखेका छन्, ‘आँखा खोला नियामक।’
नेपाल धितोपत्र बोर्ड सेबोनका प्रवक्ता एवं कार्यकारी निर्देशक निरज गिरी पनि कम्पनीहरुको मर्जर प्रक्रियामा सेयर कारोबारको नीतिलाई परिमार्जन गर्न आवश्यक रहेको स्वीकार गर्छन्। ‘हामीले पनि मर्जर प्रक्रियामा कम्पनीहरुको सेयर कारोबारको रोक्का गर्ने अहिले नीति व्यवहारिक नभएको हो कि भन्ने लागेको छ’, उनले भने, ‘त्यसैले यसलाई व्यवस्थित गर्न धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकलगायतका नियाकले समन्वय गर्न आवश्यक देखिएको छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19