– अनन्त्य सुन्दर

काठमाण्डौ। नेपालीको महान चाड दसैँ नजिकिँदै गर्दा व्यापारीहरुले राजधानीमा विभिन्न जिल्लाबाट खसीबोका ल्याउने क्रम सुरु भएको छ। अधिकांश खसीबोका पूर्वको झापा, मोरङ, सुनसरी साथै पश्चिमको दाङ, सल्यान, सुर्खेतलगायत अन्य जिल्लाबाट राजधानीमा ल्याएर बिक्री–वितरण हुने गरेको छ।

अहिले नेपालका विभिन्न जिल्ला साथै भारतबाट दैनिक रुपमा ४० देखि ५० खसीबोका टुकुचा खसी बजारमा आउने गरेको छ। खसीबोका आउन सुरु गरेसँगै किन्ने आउने ग्राहकको पनि संख्या बढ्दो छ। सोह्र–श्राद्ध सकिएसँगै खसीहरुको संख्या पनि बढ्ने व्यापारीहरु बताउँछन्।

राजधानीमा खसीको माग ८० देखि ८५ हजार भए पनि उपभोक्ताको माग पूर्ति गर्न नसकेको व्यापारीहरुको गुनासो छ। पोहोर साल बाढीपहिरोका साथै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मूल्यमा कडाइ गर्दा राजधानीमा झन्डै ४५ हजार खसीमात्र बिक्री भएको व्यापारी बताउँछन्। ‘हरेक वर्ष दसैँमा खाद्य व्यवस्थाले व्यापारीहरुसँग सरसल्लाह नगरी खसीबोकाको मूल्य तोक्दिने गरेको छ। उक्त मूल्य चलन–चल्तीभन्दा कम हुने भएकाले किसानहरुले दसैँको बेला खसी बिक्री गर्न ल्याउँदैनन्’, टुकुचाका एक व्यापारीले भने।

अरु बेला किसानहरुले रु. ६५० प्रति केजी खसी बेच्छन्। ‘दसैँमा खाद्य संस्थानले खसीको मूल्य ५५० प्रतिकेजी तोक्दिन्छ। किसानले वर्षौंदिन पालेको खसी चाडपर्वको मुखमा घाटा खाएर कसरी बेच्ने ?’, ती व्यापारीले प्रश्न गर्दै भने, यसपालि पनि खाद्य व्यवस्थाले खसीबोकाको मूल्य सधैँझैँ कम तोकेमा राजधानीलाई पुग्ने खसी नआउने र खसीको हाहाकार हुनेछ।’

बर्खाको समयले गर्दा अहिले अधिकांश ठाउँहरुमा बाढीपहिरो आएको छ। त्यसैले सधैँझैँ यस वर्ष पनि राजधानीमा पर्याप्त खसी बाख्रा ल्याउन कठिन रहेको अर्का व्यापारीले बताए। 

नेपालमा भारतबाट पनि झन्डै २५ प्रतिशत खसीबोका आउँछ। ‘त्यसैले सरकारले भारतबाट खसीबोका ल्याउन बाटो सहज बनाएमा राजधानीमा मासुको माग सजिलै पूर्ति हुन्छ’, ती व्यापारीले भने।

‘हरेक वर्ष दसैँमा खाद्य संस्थानले सस्तो मूल्य भन्दै २ देखि ३ हजार खसी ल्याएर बिक्री गर्छ। राजधानीमा खसीको माग भने ८५ हजार भएकाले उक्त खसीबोका औँलामा गनिने उपभोक्ताले मात्र पाउँछन्। सरकार साथै खाद्य संस्थानले मूल्यमा कडाइ गर्दा चाडपर्वमा सधैँ उपभोक्ता मारमा पर्ने गरेका छन्’, अर्का व्यापारी भन्छन्, ‘राजधानीमा खसी पालन हुँदैन। बाहिर जिल्लाबाट ल्याउँदा हरेक जिल्लाका ट्राफिक प्रहरीलाई पैसा तिर्नुपर्छ।’ 

एउटा व्यापारीले बाहिर जिल्लाबाट खसी–बाख्रा राजधानीसम्म ल्याउँदा झन्डै १००० खर्च हुन्छ। गाडीबाट खसी झार्न साथ संघलाई ५० रुपैयाँ बुझाउनुपर्छ। ‘त्यस्तै हरेक महिना हामीले ८२ हजार भाडा तिर्नुपर्छ। त्यसमाथि खाद्य व्यवस्थाले मासुको सधैँ कम मूल्य तोक्दिन्छ। हामी व्यापारी भने चाडपर्वमा सधैँ मारमा पर्ने गरेका छौँ। सरकारले हाम्रो समस्या देखेर पनि नदेखे झैँ गर्ने गरेको छ’, ती व्यापारीले भने।