-भक्तराज रसाइली
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेड(सिडिएससी)ले लगानीकर्ताले हाल प्रयोग गर्दै आइरहेको अनलाइन सफ्टवेयर ‘मेरो शेयर’मा विद्युतीय निर्देशन पूर्जी(इलेक्ट्रोनिक डेलिभरी इन्स्ट्रक्सन स्लीप) जारी गर्ने सुविधा थप गरेको छ ।
बिहीबार बिहान एक पत्रकार सम्मेलनको आयोजना गरी सिडिएससीले इडीआइएसको सुविधाको बिषयमा औपचारिक जानकारी गराएको हो ।
यो सुविधासँगै लगानीकर्ताले अब उप्रान्त ‘मेरो शेयर’मार्फत नै आफूले बिक्री गरेको धितोपत्रको कारोबार सम्बन्धी विवरण हेर्न र सोको राफसाफका लागि कारोबार सम्पन्न भएको दिनदेखि कारोबार भएपछिको दोश्रो कार्यदिनसम्मको समयभित्र जुनसुकै बेला पनि आफ्नो खाता रहेको निक्षेप सदस्यलाई निर्देशन पूर्जी जारी गर्न सक्नेछन् ।
यो प्रयोजनका लागि असोज २१ गतेको कारोबार समयपश्चात सम्पूर्ण बिक्रीकर्ता लगानीकर्ताले आफ्नो ‘मेरो शेयर’ पोर्टलमार्फत नै विद्युतीय निर्देशन पूर्जी जारी गर्नसक्ने व्यवस्था गरिएको सिडिएससीको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए । उनका अनुसार सो मितिदेखि कारोबार भएका धितोपत्रको हकमा लाग्ने हस्तान्तरण शुल्क लगानीकर्ताले आफ्ना राफसाफ सदस्यलाई बुझाउने र सो शुल्क सम्बन्धित राफसाफ सदस्यमार्फत कारोबारको राफसाफ तथा फछ्र्यौट प्रणालीमार्फत नै संकलन गर्र्ने व्यवस्था गरिएको छ ।
विद्युतीय निर्देशन पूँर्जीको प्रयोगसँगै लगानीकर्तालाई नेपाल स्टक एक्सचेञ्जले हाल परीक्षण गरिरहेको र निकै छोटो समयमै संचालनमा ल्याउने तयारी गरिरहेको पूर्ण स्वचालित कारोबार प्रणालीको प्रयोग गरी कारोबार गर्न थप सहज हुने गुप्ताले प्रष्ट्याए । उनका अनुसार कारोबार राफसाफकै लागि लगानीकर्ताले निक्षेप सदस्यको कार्याकाल धाउनुपर्ने बाध्यता र समयमा निर्देशन पूर्जी जारी हुन नसकेका कारणले हुने क्लोजआउट सम्बन्धी समस्याको समेत अन्त हुनेछ ।
यसैबीच, सिडिएससीले विश्व लगानीकर्ता सप्ताहको अवसरमा निश्चित अवधिमा हितग्राही खाता खोल्ने शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ । असोज १९ गतेदेखि कात्तिक २ गतेसम्म हितग्राही खाता खोल्दा शुल्क नलाग्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago