काठमाण्डौ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’ सुविधा प्राविधिक समस्या कारण अवरुद्ध भएको छ ।

सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्यका अनुसार ‘मेरो सेयर’मा प्राविधिक समस्या आएकाले सेवा प्रवाहमा कठिनाइ आइरहेको र सिस्टम भेण्डर कम्पनीद्वारा समस्या यकिन गर्ने काम भइरहेको छ । आज आएको प्राविधिक समस्याले आज हुने राफसाफ समेत प्रभावित बनेको भन्दै आचार्यले लगानीकर्तासँग माफी समेत मागेका छन् । 

‘मेरो सेयर’मा समस्या आज मात्रै होइन । प्रायः आइपीओ निष्कासनका बेला यस्तो समस्या आइरहन्छ । यस्तो बेलामा ‘मेरो सेयर’ नचल्ने र प्राविधिक समस्याहरु सिर्जना हुँदा कतिपय लगानीकर्ताहरु इडीआइएस गर्न नसक्दा अनाहकमा क्लोजआउटको जरीवाना तिर्नु परिरहेको छ ।

नेप्सेको शतप्रतिशत लगानी रहेको सीडीएससीले वार्षिक करोर्डौं आम्दानी गरिरहे तापनि प्रविधिलाई थप मजबुत बनाउन नसक्दा धेरै लगानीकर्ताहरुले दुःख खेप्नुपरेको छ ।

हाल बढ्दो बजारमा लगानीकर्ताहरुले ‘मेरो सेयर’मा आफ्नो सेयर मौज्दात चेक गर्न, हकप्रद तथा आइपीओ आवेदन गर्न, इडीआइएस गर्न लगायतका गतिविधिहरु गर्र्दै आइरहेकामा सीडीएससीले यस विषयमा जानकार हुँदाहुँदै पनि लापरवाही गरिरहेको लगानीकर्ताहरुको आरोप छ ।