-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी) ले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’का प्रयोगकर्ता बढेसँगै समस्याहरु बारम्बार दोहोरिने क्रम बढिरहेको छ ।

पछिल्लो समयमा हालसालै दुई लघुवित्त कम्पनीका आईपीओ बाँडफाँडको नतिजा हेर्न लाग्दा ‘मेरो सेयर’मा ट्राफिक बढेका कारण सर्भरले धान्न नसकेर समस्या आइरहेको छ ।

प्रयोगकर्ताहरुको संख्या बढेसँगै यसमा समस्या आउने सिडिएससीका सीइओ देवप्रकाश गुप्ताले पनि स्वीकार गरेका छन् । 

प्रयोगकर्ताहरुले समेत लगआउट नगरिदिने र इन्टरनेटको नेटवर्क कमजोर हुँदा समेत यस्तो समस्या आउने उनको दाबी छ । ‘मेरो सेयर’मा देखिएको सामान्य प्राविधिक समस्याको हल मंगलबार(आज) बेलुकीसम्म भइसक्ने उल्लेख गर्दै त्यसबाहेकका अन्य समस्या नरहेको उनले जिकिर गरे । 

‘मेरो सेयर’ अनलाइन पोर्टलमा करिब ५ लाख प्रयोगकर्ताहरुले आईपीओ, हकप्रद, डिबेञ्चर, इडीआइएस सुविधा लगायतमा सक्रियता बढाउँदै जाँदा सिडएससी भने भरपर्दो समाधानका सट्टा सामान्य समस्या मात्र रहेको तर्क पेश गर्दै पन्छिन खोज्नुले लगानीकर्तामा थप अन्यौल सिर्जना गर्नसक्छ ।

नेपालको सेयर बजार अत्याधुनिकतातर्फ लम्कन खोजिरहेका बेला प्रविधिमा सानातिना समस्या आउनु नौलो कुरो होइन, तर सोही समस्या बारम्बार कैयौं पटक सिडिएससीले हल गर्नुका साटो समस्या नै नभएको जिकिर गरिरहँदा सरोकारवालाहरु आजित भइरहेका छन् । 

सामान्य अवस्थाको ट्राफिक समेत सिडिएससीको ‘मेरो सेयर’ले धान्न नसक्नु र बारम्बार देखिएको समस्या निराकरणका लागि थप क्षमता विस्तार गर्नुका साटो सीइओ गुप्ताले ‘प्रयोगकर्ता बढेपछि समस्या देखिहाल्छ नि’ भन्ने जवाफ दिनुले समेत समस्या समाधानमा सिडिएससी गम्भीर छैन कि भन्ने देखिन्छ ।  

हालको सामान्य अवस्थामा सामान्य भिजिटरलाई समेत धान्न नसक्ने ‘मेरो सेयर’ ब्याण्डविथले बैंक इन्टीग्रेसनको कामसँगै ह्वात्तै बढ्ने अनलाइन सेयर कारोबारीहरुबाट सिर्जना हुने अचाक्ली ट्राफिकको लोड कसरी धान्न सक्ला भन्ने प्रश्न उब्जिएको छ । 

यो विषयमा हामीले नेप्सेको आइटी विभागका एक अधिकारीलाई सोधेका थियौं । नाम उल्लेख नगर्ने शर्तमा उनले बैंक इन्टिग्रेसनमा गइसकेपछि  र अनलाइन ट्रेडिङमा उल्लेख्य सहभागिता बढेसँगै सिडिएससीको ‘मेरो सेयर’को हालको क्षमताले धान्नै नसक्ने दाबी गरे । ‘अहिलेसम्म तपाईहरुले नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या भयो भनेर लेख्नुभयो ।’ ती अधिकारीले भने–‘हेर्दै जानुहोस्, अब यो समस्या सिडिएससीमा विकराल रुपमा देखा पर्नेछ ।’ ती अधिकारीले समेत सिडिएससीले बेलैमा ‘मेरो सेयर’को क्षमता बढाउनुपर्नेमा जोड दिए ।