– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारमा डिम्याट खाता हुनेहरुको संख्या झन्डै ५० लाख पुगेको छ। 

भर्खरै आईपीओ निष्कासन गरेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा झन्डै २७ लाख लगानीकर्ताले आवेदन दिएका थिए। यो संख्या अहिलेसम्मकै उच्च हो। उक्त आवेदन ४ दिनमा परेको हो। 

विगतका दिनहरुमा आईपीओमा एकैपटक धेरैले आवेदन दिँदा सर्भरमा समस्या आउने गरेको थियो। ‘मेरो सेयर’ नचलेर आवेदन दिन छुट्दा सीडीएससीले आवेदकहरुलाई आवेदन दिन समय थप्नुपर्ने अवस्था पनि थियो। 

त्यतिमात्र नभएर कतिपय लगानीकर्ता आफूले बेचेको सेयर समयमा ईडीआईएस गर्न नपाउँदा क्लोजआउटमा परेका घटनाहरु पनि बजारमा प्रशस्त छन्। तर, अहिले २०–२५ लाख लगानीकर्ताले सजिलै आईपीओमा आवेदन दिन सक्ने सिस्टम बनेको छ। यसको श्रेय सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्य र उनको टिमलाई जान्छ।

करिब एक–डेढ वर्षको समयावधिमै झन्डै ३० लाखभन्दा बढी खाताहरु खुलेको सीईओ आचार्य बताउँछन् । ‘अहिले डिम्याट लिनेहरुको संख्या झन्डै ५० लाखको हाराहारीमा पुगेको छ’, उनले भने, ‘त्यस्तै मेरो सेयर लिने झन्डै ४० लाख छन्। भर्खरै आईपीओ निष्कासन गरेको राष्ट्र उत्थान लघुवित्तमा झन्डै २७ लाख लगानीकर्ताले आवेदन दिएका थिए। नयाँ लगानीकर्ताको संख्या बढ्दो छ। त्यसैले त्यहीअनुरुप हामीले पनि सिस्टम अपग्रेड गर्दै लगेका छौँ।’

‘बीचमा आईटीका केही समस्या आएका थिए। लगानीकर्ताले लग–इन नहुने, ह्याङ हुने, समयमा आवेदन दिन नसकिनेजस्ता समस्या झेल्दै आएका थिए’, आचार्यले भने, ‘मेरो सेयर सफ्टवेयर, हार्डवेयरका साथै सर्भर अपग्रेड गरेसँगै अहिले लगानीकर्ताले ती समस्या झेल्नु परेको छैन। अहिले हामीले सिस्टम अपग्रेड गरेसँगै झन्डै ५० लाख लगानीकर्ताले आईपीओमा सजिलै आवेदन दिन सक्ने सिस्टम बनेको छ।’

कोर सिस्टम पनि अपग्रेड गरिएको आचार्यले जानकारी दिए। ‘पहिला सिस्टम डिस्ट्रप्ट बेस्ड थियो’, उनले भने, ‘अहिले वेब बेस्ड भएकाले लगानीकर्ताले सहजै आवेदन दिन सक्ने सिस्टम बनेको छ।’ 

‘लगानीकर्ताले विगतमा आईपीओको रिजल्ट हेर्न घन्टौँ कुर्नु पथ्र्यो’, आचार्य भन्छन्, ‘आईपीओको रिजल्ट आएको बेला लगानीकर्तालाई ईडीआइएस गर्न पनि समस्या हुन्थ्यो। त्यसका साथै त्यस बेला सेयर डिम्याट छरपस्ट हुनुका साथै गोपनीयता कायम नभएका गुनासाहरु आउन थाले। त्यसैले त्यसलाई व्यवस्थापन गर्न सीडीएससीमा आईपीओको रिजल्ट हेर्न मिल्ने छुट्टै पोर्टल हाम्रै लगानीमा डेभलब गर्यौँ।

अहिले सीडीएससीले लगानीकर्ताले नोमिनल रेटमा आवेदन दिन सक्ने सिस्टम बनाएको आचार्यको भनाइ छ। ‘लगानीकर्ताले आईपीओमा आवेदन दिँदा रु. २ मात्र तिर्नुपर्छ। त्यस्तै सेयर परेका आवेदकहरुले भने सेयर सेटलमेन्ट, प्रोसेसिङ साथै डिम्याटमा सेयर पठाउँदा विभिन्न सर्भर र म्यानपावर प्रयोग हुने भएकाले रु. ९ तिर्नुपर्छ’, आचार्य भन्छन्, ‘आईटी म्यानपावर, सफ्टवेयर, हार्डवेयरका साथै आवश्यक पूर्वाधार चाहिने भएकाले आईटी खर्चिलो छ। तर, हामीले दुई रुपैयाँमा नै घरमा बसी–बसी आईपीओमा आवेदन दिन सक्ने सिस्टम बनाउन सफल भएका छौँ।’

‘हाम्रा एक–दुईवटा काम पाइपलाइनमा छन्। डीपीका साथै ब्रोकर चेन्ज गरेपछि केवाईसी फर्म भर्नुपर्छ। त्यसैले हामीले सेन्ट्रलाइज्ड केवाईसी डेभल्ब गर्दैछौँ’, आचार्य भन्छन्, ‘ब्रोकरका साथै नेप्सेलाई डेटाको एसेस दिनलाई एपीआई डेभलप गर्नुका साथै ई–भोटिङका लागि पनि काम गरी रहेका छौँ। ई–भोटिङका लागि कम्पनी रजिस्ट्रेसन कार्यालयमा समन्वय गरिरहेको छौँ।’

सेबोन, नेप्से र सीडीएससी एक–अर्काको परिपूरक भएकाले नेप्से र सेबोनसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने आचार्यले बताए। ‘अहिले पनि मेन्टेनेन्स, इन्टरनेटका साथै प्राविधिक समस्याले गर्दा बेलाबखतमा समस्या आउने गरेको छ’, उनले भने, ‘तर, हामी समस्या नआउने साथै लगानीकर्ताले दुःख नपाउने भरपर्दो सिस्टम बनाउन र अपग्रेड गर्न निरन्तर प्रतिबद्ध छौँ।’