काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेडले संचालन गरेको ‘मेरो सेयर’मा बारम्बार समस्या र त्रुटि भइरहेको स्वीकार गर्दै नियामक धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ ।
सिडिएससीलाई मंगलबार एक पत्र लेख्दै बारम्बार समस्या आइरहे पनि समाधानका लागि किन पहल हुन नसकेको हो भनी बोर्डले तीन दिने स्पष्टीकरण सोधेको हो ।
बोर्डको सुपरीवेक्षण तथा अनुसन्धान विभागले सिडिएससीलाई पठाएको स्पष्टीकरणपत्रमा ‘मेरो सेयर’ सफ्टवेयरबाट सार्वजनिक निश्कासनमा आवेदन गर्न खोज्दा सफ्टवेयर नखुलेका कारण आवेदन गर्न नसकिएको भन्दै व्यापक गुनासो आएको उल्लेख छ ।
विभिन्न संचारमाध्यमहरुमा समेत मेरो सेयरमा समस्या आएको भनी पटक–पटक समाचार प्रकाशन भएपछि बोर्डको ध्यानाकर्षण भएको बताइएको छ।
‘मेरो सेयर’ सफ्टवेयरमा के भएको हो, सोको विवरण साथै, यसरी बारम्बार प्रणालीमा आउने त्रुटिहरुको सुधारका लागि तहाँको योजना यो पत्र प्राप्त भएको मितिले ३ कार्यदिनभित्र बोर्डमा जानकारी गराउनहुन निर्देशानुसार अनुरोध छ ।’–सिडिएससीलाई पठाइएको पत्रमा भनिएको छ ।
यसरी ढिलै भए पनि बजारको नियामक बोर्डले ‘मेरो सेयर’को प्रणालीमा बारम्बार त्रुटिहरु आएको र सुधारका लागि भरपर्दो प्रयास हुन नसकेको यथार्थलाई स्वीकार गरी सिडिएससीलाई स्पष्टीकरण सोधेको छ ।
पूँजीबजारलाई डिजिटाइज्ड बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको सिडिएससीले पछिल्लो समय ‘मेरो सेयर’मा बारम्बार देखिने समस्याप्रति भने बेवास्ता गर्दै आएको थियो । पटक–पटक समस्या आएर ‘मेरो सेयर’ नखुल्दा र सार्वजनिक निश्कासनमा लगानीकर्ताले आवेदन दिन नपाउँदा समेत सिडिएससीको नेतृत्व भने ‘कुनै समस्या छैन’ भन्दै ढाँटिरहेको थियो ।
बिजशालाले ‘मेरो सेयर’मा आएको समस्याको विषयमा पटक–पटक समाचार प्रकाशन गरेको थियो । दैनिक दर्जनौ लगानीकर्ताले समेत सिडिएससीमा फोन गरेर यो गुनासो गर्ने गरेका थिए, तर यो विषयलाई सिडिएससीले लुकाउँदै आएको थियो ।
समस्या समाधान नहुँदा एकदुई कम्पनीको आइपीओ एकैसाथ आउनेबित्तिकै सिडिएससीको सिस्टमले काम नगर्ने समस्या मंगलबारसम्म पनि कायमै रह्यो । अचाक्ली आकर्षण हुने लघुवित्त कम्पनीको सार्वजनिक निश्कासनमा आवेदन खुलेको बेला त झनै बढी समस्या ‘मेरो सेयर’मा आउने गरेको थियो ।
बोर्डको स्पष्टीकरण र तदारुकताका कारण ‘मेरो सेयर’मा आइरहने बारम्बारको समस्या समाधानको आशा गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago