काठमाण्डौ । ‘मेरो सेयर’ पोर्टलमा अधिक भार वहन क्षमता परीक्षण गर्दा समस्या आएको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले मेरो सेयरमा भार वहन क्षमता परीक्षण गर्दा सेवा अवरुद्ध भएको प्रस्ट पारेको छ। लगानीकर्ताले मेरो सेयरमार्फत आफूसँग रहेको सेयरहरु नै गायब भएको भन्दै सामाजिक सञ्जाल तताएपछि सीडीएससीले यस्तो प्रस्टोक्ति दिएको हो। 

सीडीएससीले करिब १ घन्टाअघि केही समयका लागि मेरो सेयरमा लोड ट्युनिङ गरेको थियो। ‘कार्यालय समयमै समस्या पत्ता लगाउन लोड ट्युनिङ गरिएको थियो’, सीडीएससीले भनेको छ, ‘त्यही भएर केही क्षणका लागि डेटा नदेखिने समस्या आयो।’ 

गत बुधबार निष्कासित लिबर्टी इनर्जी हाइड्रोपावर र बिहीबार निष्कासित रिलायन्स लाइफ र समाज लघुवित्तको आइपीओ आवेदन गर्दा मेरो सेयरमा लगातार ५० हजारले चलाउँदा अधिक भार परेको थियो। हिजोआज सामान्य समयमा भने दैनिक औसत १० हजार हाराहारीले मात्र मेरो सेयर चलाउँछन्। सोही समस्यालाई आगामी दिनमा समाधान गर्नका निम्ति आज सीडीएससीले कार्यालयसमयमा नै परीक्षण गर्नुपर्ने भएकाले केही सयम मेरो सेयरमा समस्या आएको हो।

हाल मेरो सेयरमा कुनै पनि समस्या छैन।