तस्विर: भक्तराज रसाइली
►नितेश अग्रवाल-(कार्यकारी अध्यक्ष)१७ नम्बर ब्रोकर
म सेयर बजारमा ०६४ सालदेखि लागेको हुँ ।
पहिला मेरो बुबा सजनकुमार अग्रवालले गरिरहनुभएको विजिनेश हो । यति छिटो लागिहाल्ने योजना थिएन, सेमी अटोमेटेड ट्रेडिङ आउने भयो, बुबाले यो सिस्टम म त्यति जान्दिँन, तिमीले सघाउनुपर्यो भनेपछि सेयर बजारमा प्रवेश गरेको हुँ ।
मैले तीन महिनाजति ओपन आउट क्राईमा पनि काम गर्ने अवसर पाएँ ।
मेरो बुबाले २०५१ सालदेखि नै ब्रोकरेजको काम गर्न थाल्नुभएको हो । त्यो बेला प्रतिनिधिको रुपमा काम गर्नुपथ्र्यो । पहिला उहाँले ६ नम्बर ब्रोकरबाट सुरु गर्नुभएको हो । त्यसपछि २० नम्बर, २२ र १६ नम्बरमा पनि गर्नुभएको थियो । पछि गएर हामीले १७ नम्बरको लाइसेन्स किनेका हौ । हामीले ०६३ सालदेखि १७ नम्बर ब्रोकर सुरु गरेका हौं ।
मेरो बुबाको २०१६ मार्चमा देहान्त भयो । त्यसपछि मेरो काँधमा यो कम्पनीको जिम्मेवारी आएको हो । बुबाको बिरासत अहिले मैले नै थामिरहेको छु ।
बुबाको प्रेरणा
बुबाकै प्रेरणा हो । स्टक एक्सचेञ्ज डिल्लीबजारमा हुँदा म ७ वर्षको जति थिएँ होला, त्यसबेलादेखि नै बुबाले मलाई बेला–बेला त्यहाँ लैजानुहुन्थ्यो । म केही पनि बुझ्दिन थिएँ, तर त्यहाँको दृश्य निकै रमाइलो लाग्थ्यो । अंकल आन्टीहरु कराएर चिच्याउनुहुन्थ्यो । केका लागि यति धेरै मान्छे चिच्याएका होलान् जस्तो लाग्थ्यो ।
त्यहीँबाट सायद मभित्र पनि स्टक मार्केटको बिषयमा खुल्दुली पैदा भयो कि जस्तो पनि लाग्छ । तर, बुबाबाट कहिल्यै पनि दवाब भने आएन । बुबाले मलाई सधैं ‘तिम्रो लाइफमा जे गर्नुछ, गर’ भन्नुहुन्थ्यो ।
हामी मारवाडी हौं । मारवाडीहरु सामान्यतया विजिनेशमै लाग्छन् । एसएलसीपछि साइन्स पढ्ने रहर थियो । ए लेभल गर्न पुगेँ, इकोनोमिक्स, म्याथम्याटिक्स र फिजिक्स बिषय लिएको थिएँ । न साइन्स पूरा, न कमर्स पूरा जस्तो अवस्था भयो । त्यसपछि चाहि म म्यानेजमेन्ट बिषयतर्फ लागेको हुँ ।
घरमै अफिस भएकोले बुबालाई भेट्न लगानीकर्ता आउँथे, उहाँहरुको कुरा सुन्न पाइन्थ्यो । त्यसकारण पहिलादेखि नै अलि–अलि प्रेरित हुँदै गइएको रहेछ । अहिले आएर यसैमा लागियो, सजिलो पनि भएको छ ।
बुबाबाट प्राप्त २ मन्त्र
मैले काम सुरु गर्दा बुबाले मलाई २ वटा कुरा भन्नुभएको थियो । त्यो कुरालाई आजसम्म पनि मैले गाँठै बाँधेर राखेको छु । ‘तिमी स्टक ब्रोकरको रुपमा सफल बन्ने हो भने २ वटा कुरा जिन्दगीमा कहिल्यै नगर्नू’ भन्नुभएको थियो । एउटा चाहि ‘भाउमा नखानू’ भन्नुभएको थियो । अहिले यो कुरा उति सान्दर्भिक छैन, तर ओपन आउट क्राइको बेलामा र बाहिरतिर पनि ब्रोकरहरुले स्टकको प्राइसमै गडबडी गर्ने संभावना हुँदो रहेछ । चाहेको भए कसैले गर्न सक्थ्यो होला, त्यो काम चाहि कहिल्यै नगर्नु भन्नुहुन्थ्यो ।
दोश्रो, आफ्नो लगानीको कम्पनीको सेयरको व्यापार कहिल्यै नगर्नु भन्नुहुन्थ्यो । म त्यसबेला बजारमा भर्खर भर्खर छिरेको थियो, प्रश्न गर्ने बानी थियो ।
मैले दोश्रो सूत्रको बिषयमा बुबालाई प्रश्न गरेको थिएँ । उहाँले मलाई भन्नुभयो–‘तिमीले एकपटक आफ्नो सेयरको कारोबार गर्न थाल्यौं भने तिमीले तिम्रो कामलाई न्याय दिन सक्दैनौ । तिमीले कुनै सेयर किनेर होल्ड गरेका छौ, र तिम्रो कुनै लगानीकर्ताले त्यो सेयर बेचिदिनु भन्दा त तिमीलाई त थाहा छ, उसको सप्लाई कति छ भनेर । उसको सप्लाईले गर्दा बजार तल झर्ने अवस्था छ भने तिमी आफैं बिलखबन्दमा पर्छौ । तिमीलाई थाहा छ सेयरको भाउ घटिरहेको छ, अब पहिला उसको बेचौं कि आफ्नो बेचौं भन्ने हुन्छ । किन्दाखेरि पनि पहिला उसको किन्ने कि आफ्नो किन्ने भन्ने द्विविधा हुन्छ ।’
यस्तो बेलामा कन्फिल्क्ट अफ इन्ट्रेस्ट एकदमै ठूलो हुन्छ भन्नु भएको थियो ।
बुबाले मलाई ‘लगानी गर, सक्रिय कारोबार’ चाहि कहिल्यै नगर भन्नुहुन्थ्यो । मेरा लागि यी मूल मन्त्र बनेका छन् ।
बुबाको राम्रो बानी
इन्टरनपर्सनल स्किल राम्रो थियो बुबाको । बुबाको साथीभाई धेरै थिए । बुबा जेसिजजस्ता दर्जनौ सामाजिक संस्थामा समेत निकै ठूलो सक्रियता थियो । कसैलाई सहयोग गर्न सकिन्छ कि भन्ने भावना थियो । चित्त नबुझेको कुरा फ्याट्ट बोलिदिनुहुन्थ्यो, धेरैलाई काममा सहयोग गर्नुहुन्थ्यो ।
आफ्ना साथीभाई, चिनजानका मान्छेलाई सकेसम्म हेल्प गर्नुहुन्थ्यो । एनआइडिसीका अंकलहरुले भन्नुहुन्थ्यो, त्योबेला आइपीओ एलटमेन्ट हुँदा, आफ्नो अफिसको काम सिध्याएर उहाँहरुलाई सहयोग गर्नुहुन्थ्यो रे । अहिले पनि उहाँहरुले मेरो बुबालाई सम्झनुहुन्छ ।
बुबासँगको नबिर्सने क्षण
बुबाको बानी निकै अन्तरमुखी थियो । मेरो मुखैमा यो राम्रो गर्यौं भनेर कहिल्यै भन्नुभएन । तर, बाहिरका मान्छेहरुले मेरो बिषयमा प्रशंसा गरेको कुरा आमालाई गएर घरमा भन्नु हुँदो रहेछ । अनि आमाबाट म यो कुरा थाहा पाउथेँ । तर बुबाले डाइरेक्ट मलाई कहिल्यै पनि प्रशंसा गर्ने कुरा गर्नुभएन ।
मैले कुनै काम बिगार्दा समेत बुबाले मलाई भन्नुहुन्न थियो । गल्तीको बेलामा बुबा रिसाउनुहुन्थ्यो, तर मलाई ओपन्ली नदेखाउने । मैले काम ह्याण्डल गर्न थालेपछि, उहाँको मनमा सायद आयो होला कि ‘अब काम उसलै गर्ने हो, उसले सही गरे पनि गलत गरे पनि उसको सफलता, उसको असफलता उसले नै पाउने हो । म रिसाएर पनि केही हुनसक्दैन, म खुशी भएर पनि केही हुनसक्दैन । उसले जे गर्छ, उसले आफैंले बुझ्नुपर्छ।’
कुनै काम गर्दा एउटा ठूलै मिस्टेक नै भएको थियो कारोबारको क्रममा । तर, बुबाले किन हतारो गरेको मात्र भन्नुभयो । त्यसपछि हामी बाबुछोरा दुवै गएर लगानीकर्तालाई भेटी त्यो कुरा सल्टाएका थियौ । त्यो बेला ब्लण्डर नै हुँदा पनि धेरै रिसाउनुभएन ।
बुबा नहुँदाको क्षण
बुबा हुँदाको अवस्थामा पनि केही कुरा विचार गरेर निर्णय गर्दा अन्तिममा निर्णय मेरै हुन्थ्यो । मलाई एउटा सुविधाको ठाउँ थियो, त्यो कुरा बुबासँग सेयर गरौं गर्न सक्थेँ । मेरो कुरा मान्ने भए पनि। नमान्ने भए पनि अगाडि बढिसकेपछि मलाई के ढुक्क हुन्थ्यो भने भोलिको दिनमा सफल भए पनि नभए पनि बुबाले पनि स्वीकार गर्नुभएको थियो भन्ने सुविधाको ठाउँ थियो । तर, अब त्यो अवस्था रहेन । जुनसुकै निर्णय लिंदा अब सबै जिम्मेवारी ममाथि आउँछ । जसअपजसको भागिदर मैले नै बन्नुपर्छ ।
तपाईले कुनै निर्णय लिनुभन्दा अघि तपाईको मान्यजनले ठीक छ मात्रै भनिदिनुभयो भने त्यसले निकै ठूलो हौसला दिन्छ । यही कुरा म मिस गरिरहेको छु अहिले । डिसिजन अल्टिमेटम मेरै हो, तर बुबाको त्यो हौसला म मिस गर्छु ।
बुबाको याद
बुबाको जनसम्पर्क एकदमै राम्रो थियो । आजको दिनमा समेत कुनै नयाँ मान्छेलाई गएर भेटेँ भने पनि कुरा गर्दा गर्दै घरपरिवारको कुरा आउँदा ‘सजनको छोरा हो ?’ भन्नुहुन्छ । यस्तो मसँग धेरै भएको छ । उहाँको जनसम्पर्क साह्रै राम्रो थियो । उहाँलाई कतै न कतैबाट मानिसले चिन्थे ।
बुबासँगको स्मरण सुनाउँछन धेरैले, यस्तो धेरै भएको छ । त्यहाँबाट निस्किएपछि म सधैं सोच्छु र बुबाजत्तिकै जनसम्पर्क कसरी बनाउने होला ? भन्ने पनि लाग्छ ।
अविस्मरणीय क्षण
हामी विदेश धेरै सँगै गएनौ । बुबा उहाँको युवा अवस्थामा मोटरसाइकल धेरै चलाउनुहुन्थ्यो । विराटनगरमा ठूलोबुबाको घर छ, मामाघर वीरगञ्ज थियो । बुबा मोटरसाइकल लिएर विराटनगर पुग्ने गर्नुहून्थ्यो, वीरगञ्ज जाने गर्नुहुन्थ्यो । हाइवेमा पनि उहाँका साथीभाई थिए प्रशस्तै । मेरो बुबालाई पछि पनि बाइरोड नै यात्रा गर्न रमाइलो लाग्थ्यो, त्यसबेला बाटोमा पटक–पटक गाडी रोकेर राजमार्ग आसपास उहाँले बनाएका साथीभाईलाई चिनाउनुहुन्थ्यो, त्यो देखेर हामीलाई रमाइलो लाग्थ्यो ।
त्यो बेलाको रोड ट्राभलको कहानी तथा अनुभव पनि सुनाउनु हुन्थ्यो । उहाँको राजमार्ग अनुभव धेरै सुन्न पाइयो ।
एसएलसी सिद्धिएपछि डिस्को जाने साथीहरुले योजना बनाए । मलाई बुबादेखि डर लागिरहेको थियो । बुबालाई गएर ’पापा म आज डिस्को जानेँ’ भनेँ । बुबा त खुशीे हुनुभयो । अनि भन्नुभयो–‘ए तँ आज डिस्को जाने ? ल ५०० रुपैयाँ लिई र साथीभाईसँग मोज गरेर आइज’ भनेर पठाउनुभयो ।
अर्को, म स्कूलमा हुँदा हामीलाई दार्जिलिङ टूरमा जाने भयौं । त्यसबेला पनि उहाँले २–४ हजार दिएर पठाउनुभयो । उहाँ(मेरोबुबा) इण्डियामा पढ्नुभएको रे, त्यसबेला उहाँ कतै जाँदै हुनुहुन्थ्यो रे स्कूलबाटै, त्यो बेलामा हजूरबुबालाई काठमाण्डौमा चिठी लेख्नुभएछ पैसाका लागि, तर उहाँले समयमा हजूरबुबाबाट पैसा पाउनुभएनछ । यही कुरा भनेर बुबाले ‘मलाई यस्तो भएको थियो, तँ जाँदैछस रमाइलो गरेर आइज’ भनेर पैसा दिएर दार्जिलिङ पठाउनुभयो, त्यो क्षण पनि म अझै सम्झिन्छु ।
उहाँ ओपन हुनुहुन्थ्यो । पहिलोपटक विदेशमा जाँदा समेत ‘तँ घुमेर मात्र आइस भने धेरै कुरा हेर्न पाउछस, सिक्न पाउछस’ भन्नुहुन्थ्यो । सके विदेश, नसके आफ्नै देशमा भए पनि घुम्नु चाहि पर्छ भन्नुहुन्थ्यो ।
आफू बाबु बनेपछिको अनुभव
बुबा भनेको रोलमोडल नै हो । चाहे छोरा होस् या छोरी, सबैका लागि रोल मोडल हो । पारिवारिक दृष्टिकोणबाट हेर्दा बुबा ब्रेड अर्नर नै हो । घरको लिडर नै हो । रोलमोडल नै हो बच्चाका लागि बुबा भन्ने पात्र । रोलमोडलमा धेरै रेसपोन्सिबिलिटी थपिएर जाँदो रहेछ । आजको दिनमा मैले मेरो बच्चाको अगाडि के गर्नुहुन्छ, के गर्नुहुन्न भन्ने कुरा धेरै विचार गरेर गर्नुपर्ने रहेछ । किनभने मैले गर्ने बित्तिकै मेरो बच्चाले गलत नै भए पनि सिक्न सक्छ।
रोलमोडलसँगै गाँसिएको, पात्र आमा पनि हो । हाम्रोमा आमा हाउसवाइफ हुनुहुन्छ ।
बुबाले बाहिर निस्किएको अनुभव, सफलता र असफलताको अनुभव सन्तानलाई सेयर गर्ने हो भने सन्तानले पनि बेलैदेखि सफलता र असफलताको कुरा सिक्न सक्छ ।
बुबा हुनुहुन्थ्यो भने......?!
अहिले म बसिरहेको अफिस बुबा बित्नुभएपछि मैले बनाएको हो । पहिलादेखि नै अफिस यही हो, तर अफिसमा खासै रेनोभेसन भएको थिएन । आजको दिनमा अफिस केही राम्रै बनेको छ । उहाँले यो अफिस देख्न पाउनुभएन । यो कुर्सी भने कार्यकारी अध्यक्षको हो, यो मेरो बुबाको हो, यसमा उहाँले बस्न पाउनुभएन भन्ने कुरा साह्रै मिस हुन्छ ।
कता जाँदैछ समाज ?
निश्चित रुपमा हाम्रो समाज पैसामुखी भएकै छ । हामी पहिला संयुक्त परिवारमा हुन्थ्यौं । घरमा सबैखालका पात्र हुन्थे, सबै एउटै घरमा बस्थ्यौं । परिवार छिन्नभिन्न भयो । एकल परिवार हुन थाले । संयुक्त परिवारमा हजुरबुबा लिडर हुनुहुन्थ्यो, त्यो परिवारका अन्य पात्रले उहाँको कुरा सुन्नै पथ्र्यो । त्यो हुँदा उहाँका बच्चाले पनि त्यो अथोरिटी र चेन अफ कमाण्डलाई मान्थे । कसैले पनि आफ्नो मनखुशी गर्न पाउन्न थियो । अहिले चाहि हामी एकल परिवार हुँदै गयो । पश्चिमा संस्कार आउँदै गयो, व्यक्तिवादी सोंच हाबी भयो । त्यसपछि आएको समस्या हो अहिलेको नेपाली समाज । यसको उपाय केही छैन अब । नयाँ जेनेरेसनलाई परिवर्तन गर्न सक्दैनौ, पुरानो जेनेरेसनलाई परिवर्तन हुनुहोस् भन्न पनि सक्दैनौ । अब यसको उपाय भनेको, बुढेसकालमा वृद्धआश्रममा नजानका लागि आजको दिनमा मेरो पनि योजना त्यही छ । भोलिका दिनमा मेरा छोरीहरुले हेरविचार नगरे पनि म मेरो रिटायर्ड जीवनका लागि एउटा फण्ड बेलैदेखि तयार गर्छु । म त्यो बेलामा समेत सन्तानलाई अनावश्यक दवाब दिन्नँ ।
अर्को, हाम्रो समस्या नै पश्चिमा संस्कारलाई एकदमै राम्रो ठान्ने हो । त्यहाँको फाटेको र च्यातिएको जिन्स समेत हामी लगाउन तयार हुन्छौ । किनभने त्यो वेस्टर्न हो । तर, आजको दिनमा हाम्रो सभ्यताको प्रतिक ढाकाटोपी लगाएर हिँड्दा लाज लाग्छ । संस्कृति दुवै गलत होइन, तर हामीले त हाम्रो पो लिएर हिँड्नुपर्ने हो त । हामी बढी नै अरुबाट प्रभावित भयौ कि ?
(कुराकानीमा आधारित)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago