– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजारको बाटो र केबुलकारको बाटो उस्तै–उस्तै नै हुने गर्छ। केबलकार जसरी माथि जान्छ, त्यसरी नै तल पनि आउँछ। फरक यही नै छ केबलकार केबलमा अडिएको हुन्छ भने सेयर बजार विश्वास र लगानीकर्ताको मनोविज्ञानमा।
मिल्दो–जुल्दो के छ भने जब केबलकार तल बाटोमा आउँछ तब गति कम भएर विस्तारै चल्छ र ढोका खुल्छ। यसैगरी सेयर बजार पनि जब तल आउँछ कारोबार निकै सुस्त अर्थात ड्राइअप हुन्छ। जब कारोबार ड्राइअप हुन्छ, त्यहाँनेर बुझ्नुपर्छ कि बजार फेरि युटर्न लिन थालेको छ।
लगानीकर्ताले कारोबार र भोलुमलाई जहिलले पनि अधिक ख्याल राख्नुपर्छ। बजार विकास र विस्तारका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन), नेप्से, सीडीएससी, राष्ट्र बैंक तथा अर्थ मन्त्रालय सबैको भूमिका उत्तिकै रहेको हुन्छ।
सेयर बजारमा आमसर्वसाधारणको आकर्षण बढेसँगै हालसम्म मेरो सेयर प्रयोगकर्ता संख्या नै ३६ लाख ५२ हजार पुगेको छ। डिम्याट खाताको प्रयोग गर्ने लगानीकर्ताको संख्या पनि ४५ लाख ३९ हजार पुगेको छ। यो आकर्षणलाई कायम राख्न अहिले केही नीतिगत तथा प्राविधिक सुधार गर्न आवश्यक पनि छ।
नेपाल इन्भेस्टर्स फोरमका निर्वतमान अध्यक्ष छोटेलाल रौनियार अहिले पुँजीबजार सुधारका लागि मुख्यगरी नीतिगत सुधार गर्न आवश्यक रहेको बताउँछन। ‘नीतिगत सुधारमा पनि दीर्घकालीन कार्ययोजना आवश्यक छ’, उनले भने, ‘सेबोन, नेप्से, अर्थ मन्त्रालय र बीमा समिति पुरानो विचारधाराबाट टाढा रहनुपर्छ।’
नियामक निकायले अहिलेको पुँजीबजारको विकास र विस्तारका लागि केही महत्वपूर्ण कार्य गर्न आवश्यक रहेको रौनियाको भनाइ छ। ‘राष्ट्र बैंकले अहिले ल्याएको सीडी रेसियोलाई हटाएर सीसीडी नै लागू गर्नुपर्छ किनकि यसले बैंकहरुमा तरलताको चाप परेको छ’, उनले भने, ‘सीसीडी रेसियो हुँदा राष्ट्र बैंकले ३ प्रतिशमा २० अर्ब रिर्भस रिपो तानेको थियो। तर, अहिले सीडी रेसियो आएपछि उल्टो बजारमा पैसा रिपो गरेर पठाउन परेको छ।’
अहिलेको ४ करोड र १२ करोडको सेयर धितो कर्जाको सीमा व्यक्ति र संस्था दुवै तर्फबाट हटाउनुपर्ने रौनियारको सुझाव छ। ‘सेयर बजारमा धेरै लोन गयो भन्नु सरासर गलत हो’, उनले भने, ‘अहिले पनि जम्मा १ खर्ब रुपैयाँबराबर मात्रै लोन गएको छ, जब कि ६०० अर्ब कोअर क्यापिटलको ४० प्रतिशत २४० अर्बसम्म पैसा पुँजीबजारमा लगाउने ठाउँ रहेको छ। यति नै लगानी गर भनेर राष्ट्र बैंकले तोक्नु भनेको अपराध नै हो।’
रौनियारले नेपालजस्तो भूपरिवेष्ठित देशमा १० प्रतिशतभन्दा बढी ब्याज देशले धान्न नसक्ने उल्लेख गरे। ‘हाम्रो अर्थव्यवस्था आयातमा केन्द्रित रहेको छ। लागत बढ्यो भने सबैतिर महँगी बढ्छ र अर्थ व्यवस्था नै ध्वस्त हुन्छ’, उनले भने, ‘ब्याजदरलाई जसरी पनि नियन्त्रण गर्नुपर्छ।’
पुनरकर्जाको पैसा तुरुन्तै पठाउनुपर्ने र यसले तरलतामा सहज हुने रौनियारको तर्क छ।
अहिले रिक्त रहेको नेप्से र सेबोनको प्रमुख पदमा तुरुन्तै नियुक्ति गर्नुपर्ने रौनियारले बताए।
वित्त विश्लेषक हेमन्त बस्याल अहिलेको पुँजीबजार सुधारका लागि मुख्य गरेर पोलिसी फ्रेमवर्कभित्र ३ वटा कार्यलाई ध्यान दिनुपर्ने बताउँछन्। ‘पहिलो काम वित्तीय साक्षरता र शिक्षा हो’, उनले भने, ‘यसमा खास गरेर लगानीकर्ता, नीति निर्माता, मिडियाकर्मी र बजार सहभागीहरुलाई सेयर बजारका बारेमा राम्रो शिक्षा आवश्यक छ।’
यसैगरी दोस्रो काम भनेको संस्थागत सुशासन रहेको बस्याल बताउँछन्। जसअन्तर्गत नियामक निकाय र लिस्टेड कम्पनीका बोर्ड अफ डाइरेक्टर, व्यवस्थापक, कर्मचारी, सेयर होल्डर र विश्लेषक तथा ब्रोकरहरुलाई संस्थागत सुशासन राख्नुपर्ने उनको भनाइ छ।
तेस्रो काममा रेगुल्याटरी फ्रेमवर्क र लगानीकर्ताबीचको सम्बन्ध रहेको बस्याल बताउँछन्। ‘यसमा खास गरेर नीति–नियम पर्छन्’, उनले भने।
ब्रोकरको शाखा विस्तारसँगै रिअल टाइम कारोबार अथवा इन्ट्रा डे कारोबार, सर्ट सेलिङजस्ता लगानीकर्तालाई सुविधा दिइनुपर्ने बस्यालको सुझाव छ।
सक्रिय लगानीकर्ता गोविन्दप्रसाद घिमिरे अहिले मुख्य गरेर नीतिगत स्थिरता नै आवश्यक रहेको बताउँछन्। एक–एक महिनामा हुने राष्ट्र बैंकको अस्थिर नीतिले पुँजीबजारको विकासका लागि अहिले बाधक बनेको उनको तर्क छ। ‘अनुसन्धान र अध्ययन गरेर नीति नियम आउनुपर्यो’, उनले भने, ‘माग र आपूर्तिका आधामा नीति–नियम आउनुपर्छ।’
बजार विस्तारका लागि ब्रोकरको शाखा विस्तार र बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा पहल हुनुपर्ने घिमिरेको भनाइ छ। ‘ब्रोकरमार्फत नै मार्जिन कारोबारको व्यवस्था हुनुपर्यो’, उनले भने।
अहिलेको टीएमसमा सुधार तथा नयाँ व्यवस्था हुनुपर्ने पनि घिमिरेको भनाइ छ। ‘एनआरएनलाई पुँजीबजारमा ल्याउने कुरा मात्रै भएको छ, यसलाई पनि मूर्त रुप दिन आवश्यक छ’, उनले भने।
पुँजीबजारमा विभिन्न प्रडक्ट जस्तै– इन्ट्रा डेको सिस्टम र सर्ट सेलिङको सुविधा दिएर लगानीकर्तालाई पुँजीबजारमा आकर्षण बढाउनुपर्ने घिमिरेको सुझाव छ। ‘ब्रोकर कमिसन पनि घटाउनुपर्छ’, उनले भने, ‘अहिलेको ब्रोकर कमिसन धेरै भयो।’
असल ऋणमा ०.३ प्रतिशत प्रोभिजनको व्यवस्थाले बंैकको लाभांशमा कम भएको भन्दै घिमिरले यो नीति पनि अनुपयुक्त रहेको बताए। ‘यही कारणले ठूलो लगानीकर्ता निरुत्साहित भएका छन्’, उनले भने, ‘यसमा पनि राष्ट्र बैंकले पुनर्विचार गर्नुपर्छ। यति भएमा सेयर बजार केही समयमै ४००० भन्दा माथि नै जान्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago