– काशीराम शर्मा

बाँके । नेपालगञ्जमा केही वर्षअघिसम्म भारतको मात्र विद्युत् प्रयोग हुने गर्दथ्यो। नेपालगञ्जमा विद्युत् अपुग भएपछि नेपाली प्रसारण लाइनसँग पनि नेपालगञ्जको विद्युत् लाइन जोडियो। तर कुनै समय यहाँको विद्युत् आपूर्तिमा भारतको मात्र भरपर्नुपर्ने अवस्था रहेकामा अहिले त्यस्तो छैन। 

अहिले भारतको विद्युत् ‘रिजर्भ’ का रुपमा मात्रै रहेको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज केन्द्रका प्रमुख लखनलाल मल्लिकले जानकारी दिनुभयो। “सकभर राष्ट्रिय प्रसारण ग्रिडकै विद्युत् प्रयोग गर्ने नीति रहेको छ”, वितरण केन्द्र प्रमुख मल्लिकले भन्नुभयो। प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पुसमा दैनिक सरदर २१.५ एमभिए विद्युत् खतप भएको छ। “नेपालको अपुग भएमा भारतको विद्युत् प्रयोग गर्छौं”, मल्लिकले भन्नुभयो, “विद्युत् नियमिततामा हाल समस्या छैन, यद्यपि, स्वीचिङ गर्दा ५/१० मिनेट प्रसारण अवरुद्ध हुने गरेको छ।”

चैत लागेसँगै नेपालगञ्जमा गर्मी शुरु भएको छ। नेपालगञ्ज नेपालको धेरै गर्मी हुने शहरमा पर्छ। गर्मी शुरु भएसँगै यहाँ पनि अन्यत्रको जस्तै विद्युत्को माग बढ्दै जान्छ। “हामीसँग ४० एमभीए विद्युत ल्याउनसक्ने क्षमता छ। भारत र नेपाल दुवैतर्फको विद्युत् प्रयोग गर्न सकिने भएकाले लोडसेडिङ गर्ने स्थिति आउने सम्भावना छैन,” वितरण केन्द्र प्रमुख मल्लिक भन्नुहुन्छ। प्राधिकरण प्रमुख मल्लिकले विद्युत् प्रसारण लाइन सुधारका लागि तार फेर्ने, ट्रान्सफर्मर फेर्ने र थप्ने काम पनि गरिरहेको जानकारी पनि दिनुभयो। 

उहाँले मानिसले विद्युत् खम्बा गाड्न र ट्रान्सफर्मर राख्न नदिने गरेकाले काम गर्न समस्या हुने गरेकोसमेत सुनाउनुभयो। हुन त विद्युत् सबैलाई चाहिने नै हो। तर पनि बिजुलीका पोल तथा ट्रान्सफर्मर आफ्नो घरअघि या वरिपरि राख्दा भने धेरैले विरोध गर्ने गर्दछन्– उहाँको अनुभव छ। 

नेपालगञ्जका विद्युत् नपुगेका क्षेत्र र राप्तीपारी मटेहियासम्म विद्युत् प्रसारण लाइन बिस्तार गरेको जानकारी पनि मल्लिकले दिनुभयो।