काठमाण्डौ । कोरोनाविरुद्धको लडाईमा जित हासिल गरी शनिवार टेकूस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठले पूर्ण अनुशासित भई सेल्फ आइसोलेसनमा बस्न, लकडाउनको पूर्ण पालना गर्न र संक्रमण भइहाले उच्च मनोबल बनाइराख्न सुझाव दिएकी छिन् ।
उच्च मनोबलकै कारण कोरोनाविरुद्धको लडाईमा आफूले जित हासिल गरेको ठान्ने उनले कोरोनाको संक्रमण रोक्न र फैलन नदिन सेल्फ आइसोलेसन निकै महत्वपूर्ण हुने कुरामा आफ्नै केशबाट पनि प्रमाणित हुने दाबी गरिन् ।
‘म पनि विदेशबाट आएलगत्तै घरमै सेल्फ आइसोलेसनमा बसेको थिएँ, एउटै विमानमा यात्रा गर्ने भियतनामकी साथीलाई कोरोना संक्रमण भयो भनेपछि मात्र म टेकूस्थित केन्द्रीय प्रयोगशालामा जाँच गराउन गएकी थिएँ ।’ उनले भनिन्–‘तर, त्यसअघि पनि म घरमै सेल्फ आइसोलेसनमा नबसेको भए अरुमा समेत संक्रमण सर्न सक्थ्यो ।’
उनले नागरिकहरुका लागि सेल्फ आइसोलेसनमा निकै महत्वपूर्ण हुने भन्दै अनुशासित बनिदिन र सरकारले जारी गरेका सजगताका सूत्रहरु समेत फलो गरिदिन आह्वान गरेकी छिन् ।
देशबासीलाई केही सन्देश छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्–‘सकेसम्म आफूलाई प्रोटेक्ट गर्नुहोला । अति जरुरी काम परेर कतै हिँड्नै परे पनि मास्क, ग्लोब, चस्मा लगाउनुहोला । धेरै मोविलिटी नगर्नु नै कोरोना रोक्ने उपाय हो ।’
उनले आफूजस्तै देशका विभिन्न अस्पतालको आइसोलेसनमा रहेका अन्य कोरोना संक्रमितलाई प्नि धैर्यताका साथ बस्न, आशामुखी हुन र उच्च मनोबल कायम गर्न सुझाव दिएकी छिन् । ‘म पनि एकैपटक ठीक भएको होइन, लगातार टेस्ट गरेपछि नेगेटिभ रिपोर्ट आएको हो ।’ उनले थपिन्–‘केयर पुगेको छ भने धेरै आत्तिनुपर्ने कुरा होइन रहेछ । यसका लक्षण चाहि मनलाई अत्याउने खालको हुँदो रहेछ, एकैछिनमा सास नै फेर्न गाह्रो हुने रहेछ । तर आत्मबल बढाउनुहोस्, ठीक भइन्छ ।’
उनले आफू निको भएर आफूले निकै ठूलो अवसर पाएको समेत बताइन् । आफ्नो रगतको प्लाजामा दान गर्न समेत आफू तयार भएको उनले सो क्रममा घोषणा गरिन् । ‘मेरो रगतमा एन्टीबडी भएको भएर अब प्लाज्मा समाजलाई डोनेट गर्न पाएको छु ।’ उनले थपिन्–‘फ्यूचरमा कोरोना भाइरसका सिभियर पेसेन्टलाई मैले डोनेट गरेको प्लाज्माले हेल्प गरोस्, अरु संक्रमितहरु पनि ठीक भएपछि डोनेट गर्नुहोला ।’
उनले आफू शहरी क्षेत्रमा बसोबास गर्ने भएका कारण समयमै अस्पताल पुगेको, सचेत भएका कारण सेल्फ आइसोलेसनमा समेत बसेको उल्लेख गर्दै देशका दूरदराजका संभावित संक्रमितहरुले यस्तो सुविधा नपाएका उल्लेख गर्दै सरकारलाई त्यस्तासम्म पनि आवश्यक सबै सुविधा पुर्याइदिन आग्रह गरिन् ।
उनको उपचारको नेतृत्व गरिरहेका अस्पतालका डाक्टर अनुप बास्तोलाले नेपालका पहिलो र दोश्रो कोरोना संक्रमित निको भई घर फर्किएका कारण रिकभरि हुँदो रहेछ भन्ने पाठ आफूहरुले पनि सिकेको प्रष्ट्याए । ‘संक्रमण हुनेबित्तिकै धेरै आत्तिन नहुने रहेछ, धैर्य गरेर अनुशासित भई बसे निको हुँदो रहेछ भनेर अरुले पनि बुझ्नुपर्यो ।’–उनले भने ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19