Abhijit Ghosh Dastidar
-अभिजित घोष दस्तिदार(अफिसिएटिङ सीइओ)-एलआइसी नेपाल
बिमा समितिले बिमा कम्पनीहरुका लागि समयसीमासहित चुक्तापूँजी तोकेको छ। तपाईहरु पनि त्यो दौडमा हुनुहुन्छ, अवस्था के छ ?
-हाम्रो अहिलेको चुक्तापूँजी १ अर्ब ३४ करोडको हाराहारीमा छ । केही समयअघि हामीले २०७३/७४ को मुनाफाबाट ३६ प्रतिशत बोनस सेयर घोषणा गरेका छौ र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत अलग्गै उपलब्ध गराउने भनेका छौ । यसले हाम्रो चुक्तापूँजी बढाएर १ अर्ब ८३ करोडको हाराहारीमा पुग्नेछ । आर्थिक वर्ष २०७४/७५ मा के कति बोनस दिन सकिन्छ भन्ने बिषयमा हामीले हिसाबकिताब गरिरहेका छौ । बिमा समितिको निर्देशन अनुसार चालु आर्थिक वर्षको अन्तसम्म तोकिएको चुक्तापूँजी पुर्याउनुपर्छ । हामी तोकेको चुक्तापूँजी सुविधाजनक ढंगले नै पुर्याउनेछौ ।
तपाईले प्रतिशतकै हिसाबले हेर्नुभयो भने पनि ३६ प्रतिशत बोनस घोषणा गरेपछि समेत १२ प्रतिशतको हाराहारीमा मात्र चुक्तापूँजी अपुग हुने देखिन्छ । २ अर्ब पूँजी पुग्नका लागि आवश्यक थप रकम तोकिएकै समयअवधिभित्र जुट्नेमा म तपाईलाई विश्वस्त बनाउन चाहन्छु ।
तपाईहरुले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट हालसम्मकै सर्वाधिक लाभांश घोषणा गर्नुभयो, आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई कतिसम्म बोनस आउला ?
हामीले यसपटक पनि राम्रै नाफा कमाएका छौ । हाम्रा सबै सरोकारवालाहरुले दिएको आशिर्वादका कारण प्रत्येक वर्ष राम्रो प्रगति गर्न सकिरहेका छौ । सबै क्षेत्रको हामीले सहयोग पनि निरन्तर पाइरहेकै छौ । हाम्रो विजिनेश पनि अरुको भन्दा राम्रो छ । एसेट्स साइटबाट हेर्ने हो भने हामी टप पोजिसनमा छौ । गत वर्ष बैंकहरुको ब्याजदर निकै माथि रह्यो । यसको अर्थ, हाम्रो लगानीले समेत सोही अनुसारको रिटर्न प्राप्त गरेको छ । यसले गत वर्ष कम्पनीको विजिनेशमा समेत राम्रै बढोत्तरी गराइदिएको छ ।
एकपछि अर्को प्रगति र सफलता कसरी संभव भयो ?
-हामी लङ टर्मका लागि योजना बनाएर काम गर्छौ । मैले कहिल्यै पनि इन्स्योरेन्स कम्पनीलाई क्वार्टर टू क्वार्टर बेसिसमा हेर्दिँन । प्रत्येक क्वार्टरमा कस्तो प्रगति गर्यो वा गरिरहेको छ भन्ने कुरामा हाम्रो ध्यान हुुँदैन । हामी दीर्घकालीन योजना बनाएर त्यो लक्ष्य प्राप्तिका लागि लाग्छौ ।
हामीले २ वटा क्षेत्रमा आफूलाई राम्रैसँग विकास गरेका छौ । पहिलो हो हामीले हाम्रो सेवालाई विभिन्न क्षेत्रमा बिस्तार गरेका छौ । गत आर्थिक वर्षमा मात्रै हामीले १० वटा नयाँ शाखा खोलेका थियौ, त्यो पनि बैतडीदेखि इलामसम्मका ठाउँहरुमा । देशका विकट क्षेत्रमा समेत हामीले शाखा बिस्तारमा ध्यान केन्द्रीत गरेका छौ । त्यसअघि हाम्रो शाखा संख्या निकै कम अर्थात ३२ मात्र थियो, १० वटा थपिएर अब ४२ वटा पुगेको छ । चालु आर्थिक वर्षमा हामीलाई बिमा समितिले २१ शाखा बिस्तारको अनुमति दिइसकेको छ । हामीले यसरी सेवा बिस्तारमा म्यासिभ ग्रोथ गर्नेछौ यो वर्षभित्र । अबको ६ महिनाभित्रमा यी २१ नयाँ शाखा हामी बिस्तार गरिसक्छौ ।
अर्को, हामी व्यापारमा विशेष विश्वास गर्छौ । बिमाको समस्या नै मिससेलिङ हो । इन्स्योरेन्सका सेल्सम्यानले जे चाह्यो, त्यो बेचिरहेका हुन्छन् ।
मानिसको चाहनालाई कतिपय अवस्थामा ध्यान दिइएको पाइन्न । त्यसकारण हामीले चाहि सधैभरि हाम्रा एजेन्टलाई भन्ने गरेका छौ कि व्यवसायिक बन्नुहोस्, प्रडक्टको बिषयमा पर्याप्त ज्ञान भेला पारेर मात्र ग्राहक बनाउन जानुहोस् । बिमाको बिषयमा राम्रो ज्ञान नभई राम्रो एजेन्ट बन्न सकिन्न । हाम्रो यही नीतिका कारण हुनुपर्छ, धेरै नयाँ बिमा कम्पनीहरु आउँदा समेत हाम्रा अधिकांश एजेन्टहरुले हामीलाई छाडेका छैनन् । हाम्रा एजेन्टहरु हामीसँगै छन्, किनभने उनीहरुले पनि यहाँ महत्व पाइरहेका छन्, विजिनेश गर्ने ज्ञान, प्लेटफर्म र राम्रो वातावरण पाइरहेका छन् ।
एमडी आरटी भनेको अमेरिकी कम्पनीबाट प्रवद्र्धित लाखौं डलरको राउण्ड टेबल कन्फरेन्स हो, उसको एलआइसीसँग सम्बद्धता छ । एलआइसी एजेन्ट एमडी आरटी बन्न योग्य समेत छन् । एमडी आरटीबाट एलआइसी नेपालले आबद्धता पाएको छ, तर त्यसका लागि समेत तपाईमा केही न केही क्वालिटी हुन आवश्यक छ । सन् २०१६ मा हामीसँग ८७ एमडी आरटी एजेन्ट्स थिए, २०१७ मा त्यो संख्या बढेर १३८ पुगेको छ । त्यसकारण हामीले हाम्रा एजेन्टलाई उनीहरुको जीवन कसरी समृद्ध र सुखी बनाउने भन्ने कुरा पनि सिकाइरहेका छौ, अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धी पोजिसन कसरी बनाउने भन्ने कुरा पनि सिकाइरहेका छौ ।
यसरी, भौगोलिक उपस्थितिमा वृद्धि र आफ्ना एजेन्टलाई सही कुरा सिकाउने राम्रो नीति हामीसँग छ । एजेन्टका लागि कमिसन अनिवार्य छ, तर त्यो भन्दा बढी ग्राहकको सेवासुविधालाई समेत फोकसमा राख्नुपर्छ भनेर हामीले सिकाएका छौ । तपाईले कस्टमरको टेककेयर गर्नुभयो भने उनीहरुले तपाईको टेककेयर गर्ने हुन् । यो मन्त्र हाम्रा एजेन्टहरुलाई राम्रो थाहा छ ।
कतिपय चुक्तापूँजी वृद्धि गर्न नसक्ने संकेत देखिएका कतिपय बिमा कम्पनीहरुलाई नियामकले सकेसम्म चाँडो फोर्स मर्जरमा लैजानुपर्ने सुझाव समेत दिइरहेका भेटिन्छन् । यसमा तपाईको धारणा के हो ?
-नेपालमा कतिपय कम्पनीहरु हालैबाट मात्र संचालनमा आएका छन् । २ अर्ब चुक्तापूँजी त्यस्ता कम्पनी संचालनका लागि आवश्यक छ । लङटर्ममा राम्रो हुने सोचेरै यति धेरै रकम खर्च गरेकाहरु किन मर्जरमा जाने ? यस्तो अवस्थामा कोही पनि अरुसँग मर्जरमा जान चाहदैन होला ।
दोश्रो कुरा, बैंकको भन्दा बिमा कम्पनीहरुको सेवा फरक छ, विजिनेश पनि फरक हो । बिमा व्यवसाय भनेको प्रक्षेपणमा आधारित विजिनेश समेत हो । बैंकमा यस्तो हुँदैन । बिमाहरुले केही अनुमानको आधारमा काम गर्छन, भन्नुको अर्थ १००० मानिसहरुमध्ये कति मानिसहरुको आगामी वर्ष मृत्यु होला भन्ने कुरा कसैले पनि भन्न सक्दैन । अर्को उदाहरण, जस्तो हामीले कुनै इन्स्योरेन्स पोलिसी १५ देखि २० वर्षे अवधिका लागि बिक्री गर्छौ । अब उसो भए यसको ब्याजदर कति हो त ? कसैले भन्न सक्दैन । यो एउटा अनुमान नै हो । जस्तो २ वर्षअघि मात्र नेपालको ब्याजदर ४ प्रतिशतको हाराहारीमा थियो, यो बढेर १४ प्रतिशत पुग्यो र अहिले १०–११ प्रतिशतको हाराहारीमा घुमिरहेको छ । भन्नुको अर्थ, तपाईले २ वर्षसम्मका लागि त प्रक्षेपण गर्न सक्नुहुन्न भने १५ वा २० वर्षका लागि कसरी प्रक्षेपण गर्न सक्नुहुन्छ ? हरेक बिमा कम्पनीहरुले गर्ने भनेकै आफ्नो अनुमानको आधारमा हो । कतिपय कम्पनीहरुको अनुमान उस्तै पनि होला । एलआइसीको कुरा गर्ने हो भने हामी यो मामलामा निकै कन्जरभेटिभ छौ, हामीले ५.७५ प्रतिशतसम्मको रिटर्निङ फ्यूचरसम्म अनुमान गरेका हुन्छौ, यो नै हाम्रो बोनस मेन्टेन गर्न पर्याप्त हुन्छ । तर, हामीले गत वर्ष १० देखि १२ प्रतिशतसम्म ब्याज आम्दानी गर्न सफल भयौ ।
कतिपय कम्पनी संभावित ग्रोथको अनुमान गर्ने बिषयमा साहसी पनि बन्न सक्लान् । मैले यहाँ भन्न खोजेको लाइफ इन्स्योरेन्स कम्पनीमा मार्जिन भन्ने चिज साह्रै गाह्रो कुरा हो ।
यदि कुनै कम्पनी पूँजीको समस्याबाट प्रताडित छ भने ग्राहकको इच्छाको कदर गर्दै नियामकले त्यस्ता कम्पनीलाई मर्जरमा लैजान सक्नुपर्छ । किनभने ग्राहकको चाहना पहिलो नम्बरमा राखिनुपर्छ ।
तोकिएको समयमा चुक्तापूँजी पुर्याउन नसक्ने कम्पनीका लागि त मर्जर राम्रै कुरा हो नि, होइन र ?
यदि कम्पनी पूँजीको आधारमा सुविधाजनक अवस्थामा छैन भने त्यस्ताका लागि सही भए पनि वा गलत भए पनि अन्य विकल्प नै छैन । तपाईले मन पराउनुहोस् वा मन नपराउनुहोस्, तर आफ्ना कस्टमरका लागि मर्जरमा जान तयार हुनुपर्छ ।
नेपालको बिमा क्षेत्रका समस्या, जोखिम र अवसरहरु के के हुन् ?
मलाई तीनवटै कुराहरुमा विश्लेषण गर्न दिनुहोस् । पहिला कुरा गरौं जोखिमको । इमानदारसाथ भन्नु पर्दा नेपालका बिमा कम्पनीहरुका लागि एकमात्र जोखिम भनेको लङ टर्म अवसरका कुनै पनि उपकरणमा लगानी गर्न नपाउने वा त्यस्तो वित्तीय औजारको अभाव हुनु नै हो । बिमा कम्पनी लङ टर्मका लागि लायवलीटी लिएको हुन्छ । तर, जुन सम्पत्ति प्राप्त हुन्छ, त्यो चाहि सर्ट टर्मका लागि हुन्छ । तपाईले १५ वर्षका लागि कुनै पोलिसी बिक्री गरिरहनुभएको छ भने १५ वर्षसम्म संकलन हुने प्रिमियमका लागि गतिलो वित्तीय औजार नै छैन । कहाँ लगानी गर्ने ? भन्नुको अर्थ सम्पत्ति सर्टटर्मका लागि छ, तर मेरो लायविलिटिज नै लङ टर्मका लागि छ । यहाँनेर समस्या र जोखिम छ । एसेट र लायविलिटिज सधैं म्याच हुनुपर्छ, यी दुई कुरामा मिसम्याच भयो भने त्यो राम्रो भएन । जस्तो, आजको दिनमा राम्रो ब्याज पाइराखिएको छ भने त्यो निरन्तर नहुन सक्छ, भोलि धेरै तल समेत ओर्लनसक्छ ।
मैले त नेपालको भोलिको आर्थिक विकासको अथाह संभावना देखेको छु । अर्थतन्त्रका दुई सुपरपावर देशको बीचमा रहेको मुलुक नेपालको आर्थिक विकास हुँदैन भन्ने कुरा हुन्न, नेपालको अर्थतन्त्रले समेत भविष्यमा राम्रै फड्को मार्ने देखिन्छ । जब आर्थिक विकास हुन थाल्छ, ब्याजदर घट्न थाल्छ । यस्तो अवस्थामा मसँग भएको रकम लङटर्मका लागि ढुक्कले लगानी गर्ने कुनै वित्तीय औजार(उपकरण) मसँग छैन । यो ठूलो जोखिम हो ।
चुनौति पनि प्रशस्तै छन् । नेपालको बिमा क्षेत्रको मुख्य चुनौति भनेको दक्ष जनशक्तिको अभाव हुनु हो । नेपालमा १९ वटा जति जीवन बिमा कम्पनी आइसकेका छन् । हामीसँग बिमा कम्पनीमा काम गर्ने खालको टेक्निकल शिक्षा दिने एकेडेमीहरु पनि छैनन् । मैले कर्मचारीको रुपमा एमबिए, बिबिएलाई लिएर उनीहरुलाई बिमामा अभ्यस्त गराउनुपरेको छ । यो साच्चिकै गाह्रो कुरा हो । जस्तो केही दिनअघि हामीले असिस्टेन्ट पदमा ५० कर्मचारी माग्यौ । त्यसका लागि हामीकहाँ ५ हजारले आवेदन दिए । यसको अर्थ एक पदका लागि १०० जनाको आवेदन पर्यो । तर, परेका आवेदनहरुमा जब हामीले सर्टलिस्टिङको काम थाल्यौं, तब देखियो कि कसैमा पनि बिमा सम्बन्धी शिक्षा नै रहेनछ ।
नयाँ कम्पनीहरुलाई त अझै बढी समस्या छ । उनीहरुका लागि तालिमप्राप्त जनशक्तिको आवश्यकता छ । यहीकारण पुराना कम्पनीहरुमा काम गर्ने मानिसहरुको तानातान छ । ९ कम्पनीमा काम गर्ने तिनै मानिसहरु १९ वटा कम्पनीमा छरिएका छन् । सायद यही खाँचो देखेर बिमा समितिले हालै इन्स्योरेन्स ट्रेनिङ इन्स्टिच्यूट स्थापना गरेको छ ।
म बिमा कम्पनीमा आफ्नो करिअर बनाउन चाहने सबै विद्यार्थीहरुलाई अनुरोध गर्न चाहन्छु कि बिमा कम्पनीमा जागिरका लागि आवेदन दिनुअघि केही भए पनि बिमा शिक्षा लिनुहोस् । तपाईले पढेर बिमाको तालिम मात्र लिनुभयो भने तपाईका लागि नेपालको बिमा क्षेत्रमा निकै ठूलो अवसर छ ।
अवसर पनि कम छैन बिमा क्षेत्रमा । अहिले नेपालको कुल बजारको मुश्किलले १० प्रतिशत मात्र बिमा कम्पनीले कभर गरेका छन् । हाम्रो कभरेज प्रतिशत निकै दयालाग्दो अवस्थामा छ । त्यसकारण सबै बिमा कम्पनीहरुले आफ्नो सेवा बिस्तार गर्न आवश्यक छ र अथाह संभावनालाई पक्रन आवश्यक देख्छु । कम्पनीहरुका लागि निकै ठूलो अवसर देखिन्छ ।
आर्थिक वर्ष २०७५/७६ का लागि सरकारले प्रस्तुत गरेको बजेट र त्यसपछि राष्ट्रबैंकले प्रस्तुत गरेको मौद्रिक नीतिले बिमा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । यस्तो नीतिका कारण समेत अब नेपालको बिमा क्षेत्र बुस्ट हुने बेला आएको हो भन्ने लाग्छ ?
हो, म त धेरै उत्साही पनि छु । एउटा सामान्य उदाहरण हेरौं न, ९ वटा नयाँ जीवन बिमा कम्पनी किन फिल्डमा आए होलान् ? एउटा कम्पनी सेटअप गर्न २ सय करोडसम्म लगानी गरिएको छ । जसले २ सय करोडसम्म लगानी गरेका छन्, उनीहरु साना मान्छे होइनन् । उनीहरुले पक्कै पनि केही न केही मार्केट रिसर्च गरेरै आएका होलान् । यदि अहिलेको संकेत झै नेपालको आर्थिक वृद्धि निरन्तर हुने हो भने भविष्यमा बिमा क्षेत्रमा निकै ठूलो बुम आउनेछ । नयाँ र पुराना सबै बिमा कम्पनी मज्जाले सस्टेन हुनेछन् र उनीहरुलाई विजिनेश गर्न भ्याई नभ्याईको अवस्था हुनेछ । तर, सरकारबाट पनि यो क्षेत्रलाई बुस्ट गर्न उस्तै सहयोग हुन आवश्यक छ । कर लगायतको इस्यूमा सरकारको कदम सहयोगी नै देखिएको छ, तर अझै अपुग छ । हामीले मानिसहरुलाई लङ टर्म सेभिङका लागि केही इन्सेन्टिभ समेत दिनसक्ने अवस्था सिर्जना गरिनुपर्छ । समग्रमा म चाहि सुनिश्चित छु कि आउँदा दिनमा बिमा क्षेत्र बुम हुनेछ ।
नेपालका अधिकांश नागरिकमा बिमा चेतना अझै आइसकेको छैन । यसको जिम्मेवार को हो ?
हामी र हामीजस्ता कम्पनी जिम्मेवार हौ । हामी सधैं विज्ञापन गरेर ‘मेरो पोलिसी लिनुहोस्, मेरो पोलिसी लिनुहोस्’ मात्र भन्छौ । तर, हामीले सर्वसाधारणले बुझेर बिमा गरिदियोस् भन्ने बिषयमा बढी केन्द्रीत हुनुपर्छ । भन्नुको अर्थ, मेरो पोलिसी लिइदिनुहोस् त भन्नुपर्छ नै, तर नागरिक इन्स्योरेन्सको बिषयमा सचेत भएपछि मात्र । म यसको जिम्मेवार हुँ भन्ने ठान्छु । यहीकारण गत वर्ष हामीले बिमा गर्नुको फाइदाको बिषयमा केन्द्रीत थुप्रै विज्ञापनहरु समेत प्रसारण र प्रकाशन गर्यौं । एलआइसी जहिल्यै पनि युवाहरुको अवधारणालाई क्याच गर्ने बिषयमा विश्वास गर्छ । आजका केटाकेटी नै भोलिका नागरिक हुन् । तसर्थ हामीले ग्रामीण क्षेत्रका स्कूलहरुसम्म पुगेर बिमा चेतना बिस्तार गर्न खोजिरहेका छौ । उनीहरुको कक्षा लिएर बिमाको बिषय बुझाउन चाहिरहेका छौ । र, सो विद्यालयको एक विद्यार्थीलाई हामी बेस्ट स्टूडेन्ट अफ दि इयरको ट्रफी पनि प्रदान गर्नेछौ । यस्तो कदमले तिनीहरु शिक्षा र बिमा शिक्षाप्रति समेत इच्छुक बनून् भन्ने हाम्रो चाहना हो ।
सरकारले स्वास्थ्य बिमाको अवधारणा ल्याएको छ । यसमा तपाईको धारणा के हो?
-यो साच्चिकै राम्रो अवधारणा हो । वास्तवमा यो आइडिया भारत सरकारको पोलिसीबाट प्रभावित जस्तो देखिए पनि यो बेस्ट आइडिया हो । तर, यो पोलिसी धेरै चुनौतिका साथ आएको छ । अवधारणाको कुरा मात्र गर्ने हो भने यो गज्जबको छ र राम्रो छ । तर, ग्राउण्ड लेभलमा भने धेरै पूर्वाधारहरुको आवश्यकता पर्छ । जुनसुकै स्वास्थ्य बिमाको एकमात्र चुनौति भनेको फट्याई(फ्रड)लाई कसरी रोक्ने भन्ने नै हो । र, त्यसका लागि धेरै पूर्वाधार चाहिन्छ भन्ने लाग्छ । मलाई लाग्छ, यस्ता चुनौति आगामी दिनमा सरकारबाट सामना हुन्छ र सहज स्वास्थ्य बिमाका लागि एउटा वातावरण तयार हुनेछ ।
बिमा कम्पनीहरुको पोलिसीमा डूप्लिकेसन धेरै देखिन्छ । यस्तो किन हुन्छ ?
तपाईले साह्रै राम्रो प्रश्न गर्नुभयो । बजारमा यस्तो किन भइरहेको छ र मेरो कम्पनीले के गरिरहेको छ भन्ने बिषयमा हेरौं ।
सामान्य रुपमा, म्यानेजमेन्टमा सक्सेस ट्रयाप हुन्छ । केही गर्नुहुन्छ सफलता पाउनका लागि, फेरि केही गर्नुहुन्छ सफलताकै लागि । यसको अर्थ तपाईको माइण्ड सक्सेसमा ट्रयाप हुन्छ । सधैंभरि एउटै कुरा गर्न चाहनुहुन्छ, सफलताका लागि । ७०–८० को दशकमा हेर्नुभयो भने बलिउड मुभीमा एङ्ग्री योङ म्यानको फेसन नै आएको थियो । योङ म्यान आउँछ, अनि उसले भन्छ–‘म तेरो खुन पिउँछु, तलाई मारिदिन्छु’ । जब यो काम बच्चनले गरे उनी सफल भए । यही कुरा शशी कपुरले गरे, उनी पनि सफल भए । त्यसपछि सबैले त्यही खालका मुभी बनाउन थाले, किनभने उनीहरु पनि सफल बन्न चाहन्थे । यहाँको बिमामा पनि त्यही कुरा भइरहेको छ । यदि कुनै कम्पनीले कुनै प्रडक्टमार्फत सफलता प्राप्त गर्यो भने अरुले पनि त्यही काम गरिरहेका छन् । काम गर्नका लागि यो राम्रो बाटो र शैली होइन । यहीकारण यस्तो उद्योगमा नवीनतम प्रडक्ट लञ्च गर्नेले नै बजारलाई नेतृत्व गरिरहेको हुन्छ । जब कसैले नवीनतम प्रडक्ट लञ्च गरेर बजारलाई नेतृत्व गर्छ, अरुले फलो गर्छन् । एकखालका मार्केट लिडर हुन्छन्, बाँकी मार्केट फलोअर ।
बिमामा मात्र होइन, सबै क्षेत्रमा यो कन्सेप्टले काम गर्ने हो । जस्तो, कोलगेट जब पहिलोपटक लञ्च भएको थियो, प्लाष्टिकमा आधारित प्याकमा आएको थियो । यो कुरालाई डाबर लगायतका कम्पनीले पछ्याए । अब अहिले सबैले पतञ्जलीलाई फलो गरिरहेका छन् । यसको अर्थ बजारमा जे सफल हुन्छ, त्यसैको सबैले नक्कल गरिरहेका हुन्छन् ।
यही कुरालाई अभोइड गर्न एलआइसी केही निकै नवीनतम प्रडक्टसहित बजारमा आएको छ । हामीले पेन्सन प्रडक्ट ल्याएका छौ, जुन निकै नवीन छ । २० वर्षअघि नेपालका नागरिकको औसत उमेर ६० वर्ष थियो । अहिले बढेर ६९ वर्ष भएको छ । आउँदो १५ वर्षभित्र यो ८० वर्ष पुग्न सक्छ । तपाईले कमाउने उमेर भनेको ६० वर्षसम्म हो । यस्तो अवस्थामा ८० वर्षसम्म आफ्नो जीवन कसरी चलाउने, कसरी धान्ने ? त्यसकारण पेन्सनमा आधारित रहेर हामीले केही नवीन प्रडक्ट ल्याएका छौ । आगामी दिनमा अझै केही नवीन प्रडक्टका साथ हामी आउँदैछौ । पेन्सन सम्बन्धी बिमा प्रडक्टको आउँदा दिनमा मैले निकै ठूलो भविष्य देखेको छु ।
लाइफ इन्स्योरेन्स फण्डमा धेरै बिमा कम्पनीहरुको अरबौं रुपैयाँ थुप्रिएर बसेको छ । तर, त्यो लगानीको उपयुक्त बित्तीय उपकरण(औजार) वा ठाउँ छैन । यो बिषयमा तपाईको धारणा के हो ?
-मेरो कम्पनीको कुरा गर्दा हाम्रो जीवन बिमा कोषमा ३ हजार ८ सय करोड रुपैयाँ रहेको छ । यो भनेको निकै ठूलो रकम हो । यो पैसा मैले कहाँ लगानी गरिरहेको छु ? अधिकांश रकम ‘क’ वर्गका बैंकको मुद्धती खातामा लगानी गरेका छौ । केही रकम इक्वीटीमा लगानी गरिएको होला । मैले अघि पनि यहाँलाई भनेको थिएँ कि एसेट र लायवलिटिबीच मिसम्याच हुनु भएन । ग्लोबल्ली बिमा कम्पनीले लङ टर्मका लागि लगानीको विकल्प खोज्छन् र त्यस्तो अवसर पनि पाउँछन् । हामी ५० वर्षसम्मका लागि लगानी गर्न तयार छौ, बजारको भन्दा तल्लो रेटमै समेत हामी लगानी गर्न तयार छौ । किनभने मैले ५० वर्षका लागि लगानीको अवसर पाउँछु । उसो भए यस्तो फण्ड कहाँ लगानी गर्ने त ? यस्तो फण्ड पूर्वाधार विकासमा लगानी गर्न सकिन्छ ।
किनभने पूर्वाधारले रिपे गर्न धेरै लामो अवधि समेत लिन्छ । विश्वका अधिकांश देशमा बिमा कम्पनीहरुको यस्तो फण्ड सरकारबाट निर्मित पूर्वाधारमा लगानी भएको हुन्छ । यस्तोमा सरकारले निश्चित प्रतिशतको रिटर्न ग्यारेण्टी गरेको हुन्छ । यदि नेपाल सरकारले पनि आफूले संचालन गर्ने पूर्वाधार आयोजनामा लगानी गर्न चाहन्छ भने हामी बजारको भन्दा पनि सस्तो ब्याजदरमा त्यहाँ पैसा लगाउन तयार छौ । यो बिषयमा नेपाल सरकारलाई मेरो विशेष अनुरोध समेत छ ।
एलआइसी नेपालको फाइनान्सियल स्टाटस र मार्केट सेयर कस्तो छ ?
-हाम्रो पोजिसिन नेपालको उत्कृष्ट जीवन बिमा कम्पनीमध्येमै रहेको छ । सलभेन्सी मार्जिनले बिमा कम्पनीहरुको अवस्था बताउँछ । यसको अर्थ तपाईको एसेट र लायवलिटिजको अनुपात हो । बिमा समितिले यस्तो मार्जिन १५० वा त्यो भन्दा बढी हुनुपर्छ भन्छ, तर एलआइसीको सलभेन्सी मार्जिन ३८१ रहेको छ । यसको अर्थ १०० रुपैयाँ लायवलिटिजका लागि ३८१ रुपैयाँ एसेट छ भन्ने हो । यो भनेको निकै सुविधाजनक र राम्रो अवस्था हो । यो कम्पनीको खर्च दर पनि यो उद्योगकै कम छ । पोलिसी खरीदबापत आएको रकमको सुरक्षा मेरो प्राथमिक चिन्ताको बिषय हो । हाम्रो मार्केट सेयर २ हजार करोडको छ । बिमा कम्पनीहरुको करेन्ट मार्केट प्राइसमा एलआइसी नेपालको मूल्य सबैभन्दा धेरै छ । यस्तै, जीवन बिमा क्षेत्रमा हाम्रो मार्केट सेयर २५ प्रतिशतको हाराहारीमा छ । प्रिमियम संकलनतर्फ हामी नम्बर २ मा छौ । पहिलोपटक यो कम्पनीले १ हजार करोड प्रिमियम आम्दानी गर्न सफल भएको छ । ३०० करोड पहिलो प्रिमियम र ७०० करोड भन्दा बढी पुरानो प्रिमियम बापत हामीले उठाएका छौ ।
२०७३/७४ का लागि ३६ प्रतिशत बोनस सेयर घोषणा गर्नुभयो । २०७४/७५ का लागि पनि थप बोनस नै आउने देखिन्छ । एलआइसी नेपालको सेयर खरीद गर्ने लगानीकर्ताले आगामी दिनमा के अपेक्षा गर्ने ?
-एलआइसी नेपाल सही दिशातर्फको यात्रामा अगाडि बढेको कुरा म हाम्रो कम्पनीको सेयर होल्डरहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । हामीले निकै सचेततापूर्वक विजिनेश गरिरहेका छौ । हाम्रा लागि कम्पनीको प्रोफिटाबिलिटी निकै महत्वपूर्ण छ । यहीकारण हामीले प्रिमियम संकलनमा सोच्दै नसोचेको प्रगति गरिरहेका छौ । वारेन बफेटले भनेजस्तो लङटर्मका लागि लगानी गर्नुहुन्छ भने एलआइसी नेपाल एउटा उत्तम विकल्प हो ।
सेयरबजारमा धेरै उतारचढाव भइरहन्छ, यस्तो बजारमा लगानी गर्दा केही दिन र महिनाको उतारचढाव मात्र हेर्नु हुँदैन । यहीकारण म फेरि पनि भन्छु दीर्घकालीन योजना बनाएर लगानी गर्न चाहने सेयर लगानीकर्ताहरुका लागि एलआइसी नेपाल सोलिड कम्पनी हो । लगानीकर्तालाई हामी निराश बनाउँदैनौ । हामी निरन्तर बढ्दो क्रममा छौ । हामी कस्टमर सर्भिसमा धेरै सचेत कम्पनी हौ । म हाम्रा सेयरहोल्डरहरुलाई विश्वस्त तुल्याउन चाहन्छु कि यो कम्पनी भोलिका दिनमा आजको भन्दा अझ सवल र आकर्षक हुनेछ ।
तपाईले एलआइसी नेपालमा अफिसिएटिङ सीइओको रुपमा काम थाल्नुभएको पनि महिनौं भइसक्यो, फुल सीइओ नियुक्तिमा किन ढिलाई भएको हो ?
-एलआइसी नेपालमा एलआइसी इण्डियाको ५५ प्रतिशत सेयर लगानी छ । एलआइसी इण्डिया भनेको भारत सरकारको कम्पनी हो । केही प्राविधिक कारणले फुल सीइओ नियुक्तिको निर्णय पेण्डिङमा रह्यो । ती सबै इस्यूहरु सर्टआउट भइसकेका छन् । विदेशी पोस्टिङका लागि हुने प्रक्रियागत झमेलाहरु पनि छँदै छन् । भारत सरकार पनि यो विषयमा सिरियस छ भन्ने लाग्छ । सरकारी निर्णय भएका कारण केही समय लिनु स्वभाविक हो, तर अब निकट भविष्यमै यो अवस्थाको समाधान निस्किनेमा म विश्वस्त छु।प्रस्तुती: सोमनाथ बास्तोला, तस्विर: भक्तराज रसाइली
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago