काठमाण्डौ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा भ्रष्टाचारमा भयो भन्नु आरोपका निम्ति आरोपमात्रै रहेको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा चलिरहेको प्रश्नोत्तरमा सांसद ज्ञानेन्द्रबहादुर शाहीबाट राखिएको प्रश्नको जबाफमा प्रधानमन्त्रीले पूर्वलडाकूलाई राज्य कोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भएको कुरा आरोपका निम्ति आरोपमात्रै रहेको बताएका हुन्। 

‘किनकि त्यतिबेला शान्ति सम्झौता भएर क्यान्टोनमेन्टमा पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि क्यान्टोमेन्टको भौतिक पूर्वाधार र योद्धाहरुको राशन पानीका निम्ति राज्यबाट रकम दिइएको थियो’, उनले भने, ‘त्यसको हिसाब–किताब त्यहाँको को–को थिए भन्ने सबैसँग रेकर्ड रहेको छ। त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। अनि डा रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँहरुसमेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो।’

अहिले पूर्वलडाकुलाई वितरण गरिएको रकमलाई लिएर राजनीतिक आग्रह र पूवाग्रहका साथ उठाउने गरेको देख्दा आफू आश्चर्यमा परेको प्रधानमन्त्री दाहालले बताए। ‘फेरि पनि कसैले उजुरी दिएर छानबिन गरेर दोषी देखिएमा म आफैँ पनि जेल जान तयार छु’, उनले भने।