काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ।

संघीय संसदको आज बसेको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन्। ‘विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको छ’, उनले भने, ‘जसका कारण चालु आर्थिक वर्ष २०७–र८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने सरकारको अनुमान छ।’

मन्त्री महतले मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना भएको पनि बताए। ‘चालु आर्थिक वर्षमा निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्रको उत्पादन संकुचन हुने अनुमान छ’, सर्वेक्षणमा भनिएको छ, ‘त्यसैगरी यातायात तथा भण्डारण क्षेत्र, शिक्षा र मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रको उत्पादनको वृद्धिदर घट्ने अनुमान छ।’ 

फलस्वरुप आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने सर्वेक्षणमा उल्लेख छ। ‘ऊर्जा उत्पादनमा वृद्धि भएका कारण विद्युत, ग्यास, वाष्प र वातानुकुलित क्षेत्रको उत्पादन भने १९.० प्रतिशतले विस्तार हुने अनुमान छ’, सर्वेक्षणमा भनिएको छ। 

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५.२६ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ३.७४ प्रतिशत र बागमती प्रदेशको सबैभन्दा कम १.८० प्रतिशत रहनेसरकारको अनुमान छ।

सर्वेक्षणमा चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर बढ्ने अनुमान गरिएको छ। ‘यस अवधिमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः २.७३ प्रतिशत र १.९२ प्रतिशत रहने अनुमान छ’, सर्वेक्षणमा उल्लेख छ, ‘गत आर्थिक वर्षमा यस्तो वृद्धिदर क्रमशः २.२४ प्रतिशत र ६.५६ प्रतिशत रहेको थियो।’