काठमाण्डौ । उच्च अंकले घटिरहेको बजार सोमबार सामान्य अंकले बढे पनि कारोबार रकम भने घटेको छ । नवील बैंकको मात्र १७ करोडको हाराहारीमा कारोबार भएको बजारमा सामान्य अवस्थाको कारोबार रकम निकै तल रहेको बुुझ्न सकिन्छ । यसको अर्थ नेप्से परिसूचकमा देखिएको ३.६ प्रतिशतको बढोत्तरीलाई नै भविष्यका लागि ‘शुुभ संकेत’ मान्न सकिन्न । 

पछिल्लो बजार घट्नुपर्ने धेरै कारणहरु छैनन् । बजारमा सेयरको अधिक आपूर्ति बाहेक अन्य सबै कारण तथा अवस्था सकारात्मक छन् । तर, बजार भने नियोजित रुपमा घटाउने खेल जारी छ । यही खेलका कारण अत्तालिएर सर्वसाधारणले राम्रा कम्पनीको सेयर समेत बाली उठाउने बेलामा बेचिरहेका छन् भने बजारलाई मनलाग्दी घटाउने र बढाउने खेल चलिरहेको छ । 

सोमबार तीन उपसमूहको सूचक घट्यो भने ५ उपसमूहको सूचक बढ्यो । बैकिङ समूह १.३९, बित्त समूह ०.६४ र अन्य समूह १.१६ अंकले घटे । बिमा समूह भने ८१.२५ अंकले बढ्यो । यस्तै, होटल समूह ३५.५६, विकास बैंक ११.०८, जलविद्युत ६.३८ र उत्पादनमूलक ३०.६९ अंकले बढे।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.४४ अंकले बढ्दा समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय ६० कम्पनीका १७ लाख १७ हजार १ सय ३९ कित्ता सेयर ८४ करोड १३ लाख ३४ हजार ३ सय ८९ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नवील बैंकले कारोबार गर्यो । यो बैंकको साधारण र संस्थापक गरी १७ करोडको हाराहारीमा किनबेच भयो । नबीले बैंकले घोषणा गरेको सेयर र नगद गरी ४८ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन पनि भएकोले यसको सेयर खरीदमा लगानीकर्ताको आकर्षण बढेको हो । 

नेपाल बैंकले ४ करोड ५४ लाखको कारोबार भएको बजारमा कुमारी बैंक लिमीटेडको ३ करोड ४४ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । यस्तै, नेपाल लाइफले ३ करोड १० लाख, निर्धन उत्थान बैंकले ३ करोड २ लाख, छिमेक लघुवित्त विकास बैंकले २ करोड ६२ लाख, फ्रस्ट माइक्रोफाइनान्सले २ करोड ३६ लाख, एनबी बैंकले २ करोड ३२ लाख र स्ट्याण्डर्ड चार्टर्डले २ करोड २७ लाख बढीको कारोबार गर्यो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, तीन स्थान लघुवित्त कम्पनी र १ स्थान बिमा कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
आकर्षक बोनस वितरणको निर्णय गरेको एक्सेल डेभलपमेन्ट बैंकले यो दिन सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । सूूर्योदय लघुवित्त बित्तीय संस्थाको मूल्य ८ प्रतिशत, अरुण फाइनान्स र हाम्रो विकास बैंकको मूल्य ७ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन छ्याङ्दी हाइड्रोपावर लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको मूल्य ६.२१ प्रतिशतले घट्यो । जनरल फाइनान्स र ओमी माइक्रोफाइनान्सको मूल्य ५ प्रतिशतको हाराहारीमा घट्न पुुग्यो ।