काठमाण्डौ । अर्थमन्त्री प्रकाश शरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन्। 

बजेट छलफलमा उठेका प्रश्नहरुको जबाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताएका हुन्। ‘यो कार्यक्रममा बजेटको सीमितता छ। भौतिक पूर्वाधारको निकै माग छ’, उनले भने, ‘यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तिमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो। यो पूँजीगत खर्च नै हो।’

अर्थमन्त्री महतले कम्तीमा १ करोड घटिको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालयकै हुने उनले प्रस्ट पारे। ‘माननीयले त सिफारिसमात्रै गर्ने हो। सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन’, उनले भने। 

महतले निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिकलगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधिसमेत बन्ने बताए। 

आगामी आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गरिएको छ। यो कार्यक्रमअन्तर्गत एउटा आयोजनामा कम्तीमा १ करोड विनियोजन भएको छ। सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रमका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।