chandan karki
चन्दन कार्की, सिद्धार्थ क्यापिटल लिमीटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत । १६ वर्षअघि सिद्धार्थ बैंकबाट बैंकिङ करिअरको सुरुवात गरेका कार्की सो बैंकमा ट्रेजरी हेडदेखि कर्पोरेट क्रेडिटमा इन्फ्रास्टक्चर फाइनान्सिङ युनिटको हेड भएर समेत काम गरिसकेका बैंकर हुन् । सिद्धार्थ क्यापिटलमै केही महिना चिफ अपरेटिङ अफिसरको रुपमा काम गरेका कार्कीलाई हालै संचालक समितिले सिद्धार्थ क्यापिटलको सीइओमा नियुक्त गरेको हो ।
मर्चेन्ट बैंकिङमा अग्रणी संस्थाको रुपमा स्थापित सिद्धार्थ क्यापिटलका नवनियुक्त सीइओ कार्कीले पूँजीबजार र अर्थतन्त्रको विषयमा निकै सटिक विश्लेषण गर्छन् । प्रस्तुत छ उनीसँग पूँजीबजार र यसकै सेरोफेरोमा रहेर बिजशालाले गरेको कुराकानीको सम्पादित अंशः
मर्चेन्ट बैंकिङ बजारको स्थापित कम्पनीका रुपमा रहेको सिद्धार्थ क्यापिटलको प्रमुख कार्यकारीका रुपमा आउनु भएको छ । एउटा स्थापित मर्चेन्ट बैंकिङको सीईओ बन्दै गर्दा तपाईले नेपालको पूँजीबजारलाई कसरी विश्लेषण गर्नु भएको छ ?
-सर्वप्रथम म तपाईलाई मेरा विचार अभिव्यक्त गर्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु । यसका साथै ममाथि विश्वास गरेर एउटा स्थापित मर्चेन्ट बैंकिङको सीईओका रुपमा काम गर्ने अवसर प्रदान गर्नुभएकोमा स्टकहोल्डरहरु, विशेष गरी सञ्चालक समितिलाई पनि धन्यबाद दिन चाहन्छु । अब पूँजी बजारको कुरा गर्दा नेपालमा पूँजी बजारले पछिल्लो ५–६ वर्षमा राम्रै फड्को मारेको म मान्छु । फड्को कुन हिसाबमा मार्यो त भन्दा अहिले बजारमा इन्भेष्टर्सहरुको संख्या बढेको छ । डिम्याट खाता खोल्नेको संख्या १०–१२ लाखबाट आज ४३ लाखमा आइपुगेको छ । यसका साथै डिजिटलाइनेशनले समेत ठूलो छलाङ मारेको छ । बजार विस्तारका लागि डिजिटलाइनेशनले ठूलो भूमिका खेलेको देखिन्छ । संसारको जुनसुकै देश र देशभित्रैकै पनि कुनै दुर्गम ठाउँबाट पनि सेयर किनबेच गर्न सकिने अवस्थामा हामी पुगेका छौं । जसले गर्दा कारोबारको भोल्युम वृद्धि भइरहेको छ । अर्कोतर्फ बजारमा संस्थागत लगानीकर्ताको संख्या पनि बढेको छ । पहिले बजारमा १०–२० वटा संस्थागत लगानीकर्ताहरु थिए भने आजको दिनमा हामीले केवाईडीको संख्यालाई समातेर हिँड्दा पनि यो संख्या १०० जति पुगेको छ । तर यो पर्याप्त भने होइन । यद्यपि संस्थागत लगानीकर्ताहरु बढेका छन् र अझै बढने क्रममा रहेका छन् । यस हिसाबले बजारले फड्को मारेको म मान्दछु ।
तेस्रो भनेको लिस्टिङको कुरा हो । जस्तो कुनैबेला बजारमा बैंक र वित्तीय संस्थाहरु(बीइफआइज्)हरुको मात्रै स्क्रिप्टहरु थिए । तर अहिले बजारमा रियल सेक्टर कम्पनीहरु पनि बिस्तारै प्रवेश गर्न थालेका छन् । आजको मितिमा एकदुईवटा रियल सेक्टरका कम्पनीहरु छन् होला हामीसँग । तर सम्भवतः बुक बिल्डिङ आईसकेपछि वा प्रिमियममा आईपीओ निष्कासन गर्न सक्ने भएपछि र फलो अन पब्लिक अफरिङको कुरा भएपछि सम्भवत यो वर्ष वा दुई वर्षभित्रमा कम्तीमा १० देखि १५ बटा कम्पनीहरु थपिन्छन् र यो क्रम आउँदा दिनहरुमा पनि जारी रहँला । यसले कुनै लगानीकर्ताको पोर्टफोलियो डाईभर्सिफिकेसन गर्ने वा गर्न पाउने हक वा चाहना पूरा गर्नेछ ।
कारोबार कै कुरा गर्ने हो भने २५–३० करोडको कारोबार हुने बजारमा आज २०–२१ अर्बसम्म पुगेको छ । भनेपछि भोल्युम बढेको छ, स्क्रिप्टहरु बढेका छन्, डिजिटलाइजेसन भएको छ र बजार राइट ट्रयाकमा छ । यी सबै आधारहरुमा बजारले राम्रै फड्को मारेको मान्न सकिन्छ ।
बजारको दायरा क्रमशः बढिरहेको छ । तर जति बढ्नुपर्ने हो त्यो भएको छ कि छैन ? बजार अझै गतिशील हुनका लागि कस्ता–कस्ता व्यवस्था भए तपाईले भन्नु भएझै अझै धेरै फड्को मार्न सक्ला ?
-हामीले बजारमा के हुन जरुरी छ, वा यसको विकासका लागि कस्ता व्यवस्था हुनपर्छ भनेर हेर्दा बेञ्चमार्किङ गर्ने भनेको नजिकको अर्थतन्त्रसँग नै हो । विश्व्यापी रुपमा हेर्दा पनि यस्तै प्रचलन रहेको छ । हामी कहाँ फिक्स्ड इन्कम सेक्युरिटी, बोन्ड र डिबेञ्चरहरु लिस्टीङ त भएका छन् तर कारोबार हुँदैन । कारोबार नभएपछि के हुन्छ त भन्दा यिल्ड कर्भ(आम्दानी रेखा) जेनेरेट हुँदैन । यिल्ड कर्भ जेनेरेट हुदाँको अवस्थामा के रहन्थ्यो भने सर्वासाधारणलाई अथवा लगानीकर्तालाई अल्पकाल र दिर्घकालमा ब्याजदरको आउटलुक के छ भन्ने कुराहरु उसले पूर्वानुमान गर्न सक्थ्यो । त्यसैले यिल्ड कर्भ एकदमै जरुरी छ । हाम्रो देशमा भन्नुपर्दा लिस्टीङ हुन्छन् तर कारोबार हुँदैन । त्यसैले पहिलो कुरा, सक्रिय कारोबारको खाँचो छ । दोस्रो भन्नुपर्दा संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ । किनभने संस्थागत लगानीकर्ताले बजारलाई ‘रेसनल’ बनाउँछ । व्यक्तिगत लगानीकर्ता मात्रै बढेर बजार रेसनल हुँदैन । किनभने संस्थागत लगानीकर्ताले अन्यको तुलनामा इनडेप्थ एनालिसीस गर्छन् । उनीहरुसँग यसका लागि टिम हुन्छ, पोलिसी हुन्छ र प्रक्रिया हुन्छ । त्यही भएर संस्थागत लगानीकर्ताले जहिले पनि मार्केट रेसनल बनाउने भएकाले यस्ता लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ ।
बजारमा अर्को कुरा भनेको सर्ट सेलिङको हो । सर्ट सेलिङमा कमाउनका लागि बजार बढ्नै पर्छ । घटेको बजारमा कसैले पनि कमाउँदैन । सर्ट सेलिङ वा फ्यूचर सेलिङ यदि हामीले गर्न दिने हो भने त्यो अवसर पनि रहन्छ ।
सामान्यतया सर्ट सेलिङ भनेको मसँग नभएको सेयर मैले बेच्छु । कसरी भन्दा सापटी लिएर बेच्छु । सापटी लिदाँ मैले कुनै निश्चित ब्याज तिर्छु । यसो गर्दा प्राइम डिस्कभरीमा समेत सहयोग पुग्छ । जस्तो कुनै स्क्रिप्ट‘क’ को इन्ट्रेनजिक भ्यालु ५०० रुपैयाँ छ र त्यो २ हजारमा ट्रेड भइरहेको छ भने त्यो २ हजार ओभरभ्याल्युड हो भन्ने हिसाबले सेल गर्नेहरु धेरै हुन्छन् । यसरी सेयर नभएको सेल गर्न थाल्यो भने, त्यो प्राइस डिस्कभर भएर ५००–६०० सयको छेउमा आउँछ । यस्तो प्रकारले यसले रेसनल मार्केटलाई प्रमोट गर्छ । त्यसैले नेपालमा सर्ट सेलिङ, डेरिभेटिभ इन्स्ट्रूमेन्टहरुको खाँचो छ । रातारातै यस्तो व्यवस्था संभव नहोला, तर समयको अन्तरालसँगै यो हुन्छ भन्ने अपेक्षा राखेको छु।
तपाईले अघि भनेजस्तै यतिबेला नेपालमा डिम्याट खाता खोल्नेको संख्या १२–१३ लाखबाट बढेर ४३ लाखसम्म पुगिसकेको छ । तर मानिसहरुको बुझाई के छ भने पूँजी बजार भनेको सेयर बजारमात्रै हो । पूँजी बजार भनेको सेयर बजारमात्रै होइन । यसको परिधि सेयर बजारभन्दा बाहिर पनि छ है भन्ने जानकारी दिनका लागि कस्ता वित्तीय उपकरणहरुमा ध्यान दिन आवश्यक देख्नुहुन्छ ?
-पक्कै पनि पूँजी बजार भनेको सेयर बजार मात्रै होइन । तर पनि मुख्य रुपमा पूँजी बजार भनेको इक्विटी मार्केट नै हो । किनभने यसले पूँजीबजारलाई गतिशिल बनाईरहेको छ । पूँजी बजारको दायरा विस्तारका लागि इक्विीटी मार्केटका अलावा अघि मैले भने जस्तै फिक्स्ड इनकम सेक्युरिटीज जस्तै बोन्ड, डिबेन्चरको ट्रेडिङ, एक्सचेञ्ज ट्रेडेट फन्ड(ईटीएफ), फन्ड अफ फन्ड जस्ता उपकरणहरुलाई प्रोत्साहन गर्ने हो भने बजारको परिधि अझै विस्तार र गतिशील हुन्छ ।
डिम्याट खाता खोल्नेहरुको संख्या बढेसँगै पछिल्लो समय कुनै कम्पनीको आईपीओ जारी हुँदा आवेदन दिनेको संख्या २३–२४ लाख पुगेको देखिन्छ । सेयरबजारप्रति बढेको यो आकर्षणले के संकेत गरिरहेको जस्तो लाग्छ ? यसलाई हामीले नेपाली सेयर बजारको भविष्य उज्वल छ भन्ने संकतेका रुपमा लिन सक्छौँ ?
-कुनै कम्पनीको आईपीओ निष्कासन हुँदा २०–२५ लाख आवेदन पर्नुको मूख्य कारण भनेको कम्पनीको सेयरको फेस भ्यालु नै हो । लगानीकर्ताले त्यो १०० रुपैयाँ फेस भ्यालुको मूल्य ७ सय, ९ सय र ५ हजारसम्म भएको देखेका छन् । त्यो भएपछि हरेकलाई यसबाट सानो लगानीबाट थेरै पैसा आउने रैछ भन्ने लागेर आईपीओमा लगानी गरेको देखिन्छ । यो त आईपीओप्रति लगानीकर्ताको सामान्य मनोविज्ञान भयो । तर आईपीओप्रतिको यो आकर्षणले सकारात्मक नै प्रभाव पारेको देख्छु म । किनभने त्यही आकर्षणले गर्दा आज ४३ लाख जति डिम्याट खाता खोलिएको छ । त्यो ४३ लाख डिम्याट खातामा सायद २०–२५ प्रतिशत सक्रिय लगानीकर्ता छन् । जसका कारण उनीहरुले सेयरबजारप्रति जान्ने मौका त पाए वा बजारप्रति उनीहरुको अभिरुचि त बढ्यो । त्यसैले यसलाई सकारात्मक रुपमा लिनुपर्छ र यसले पूँजी बजारमा आवद्ध हुने र लगानी गर्ने एकप्रकारको बानीको विकास पनि गरेको छ ।
अब म्युचुअल फन्डको कुरा गरौँ । नेपालमा अहिले उपलब्ध म्युचुअल फन्डका प्रकारहरु हेर्ने हो भने कम छन् । तपाईले अघि भनेजस्तै नजिकैको अर्थतन्त्र भारतसँग तुलना गर्ने हो भने त्यहाँ म्युचुअल फन्डका थेरै प्रकारहरु छन् । तर नेपालमा एकदमै कम किन ? यसका लागि तपाईहरुले किन प्रयास नगर्नु भएको ?
-हामीकहाँ अहिले म्युचुअल फन्डमा क्लोज इन्डेड(बन्दमुखी योजना)फन्डहरु धेरै छन् । जुन अघि हामीले इटिएफ भन्यौ । तर ओपन इन्डेड(खुलामुखी योजना)फन्ड हामीकहाँ भर्खरै सुरु भएको छ । जस्तै सिद्धार्थ क्यापिटलले पनि भर्खरै लञ्च गरिसकेको छ । यस्तै अरु कम्पनीहरुले पनि ल्याईरहनु भाको छ । यी बाहेकका फन्डहरुमा हामीले ब्याकग्राउन्ड रिसर्चहरु गरिरहेका छौँ । निकट भविष्यमा हामीले पनि कुनै प्रकारको फन्ड ल्याउने नै छौँ । तत्कालका लागि आउन लागेको हाम्रो फन्ड क्लोज इन्ड रेगुलर फन्ड नै हो ।
नेपालमा धेरै प्रकारको म्युचुअल फन्डहरु उपलब्ध नहुनुको कारण भनेको नयाँ योजना ल्याउँदाको जोखिम मुख्य हो । अर्को भनेको नेपालमा सर्ट सेलिङको उपायहरु छैन र नेपालको मार्केटको ट्रेण्ड सुरु भएपछि एकहोरो देखिन्छ, चाहे त्यो बियरिस होस् वा बुलिस । हल्लाको भरमा लगानी गर्ने प्रवृत्ति धेरै भएकाले र संस्थागत लगानीकर्ताको कमीले गर्दा बजार एकहोरो देखिएको हो । यी समस्या हल हँुदै गए भने भविष्यमा म्युचुअल फन्डका नयाँ प्रकारहरु आउनेछन् भन्नेमा विश्वस्त हुन सकिन्छ ।
म्युचुअल फन्डका बारेमा आम लगानीकर्ताहरुमा त्यति धेरै ज्ञान नभएको देखिन्छ । म्युुुचुअल फन्डमा लगानी गर्नेहरुलाई यसमा गरिने लगानी सुरक्षित हुन्छ भन्ने जानकारी दिनका लागि म्युचुअल फन्ड म्यानेजर, स्टेकहोल्डर र सरकारले के गर्नुपर्ला ?
-यसमा मुख्य जिम्मेवारी हाम्रै अर्थात फन्ड म्यानेजरकै हो । यसका लागि तपाईहरु जस्तै मिडियाकर्मीहरुको साथ र सहयोग चाहिने हुन्छ । मिडियाकर्मीहरुले पब्लिक डोमेन भएकाले म्युचुअल फन्डका बारेमा लगानीकर्ताहरुलाई बुझाउने र सही सूचना दिने अहम भूमिका खेल्न सक्छन् । यसका साथै नियामक निकायहरु जस्तै नेप्से, सेबोन र हाम्रो मर्चेन्ट बैंकर असोसिएसन सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।
सेयर बजारका बारेमा राम्रो ज्ञान नभएका र यससँग सम्बन्धित जोखिम नलिन चाहनेहरुका लागि सुरक्षित लगानी विकल्पको रुपमा म्युचुअल फन्ड उपयुक्त हुनसक्छ । यसबाट एकदमै ठूलो प्रतिफलको आशा गर्न सकिन्न । तर डाउनसाइट प्रिन्सीपल भने सुरक्षित छ । विगतदेखि अहिलेसम्म हेर्ने हो भने जस्तोसकै बियरीस बजारमा पनि कुनै पनि म्युचुअल फन्डले प्रिन्सीपल गुमाएका छैनन् । तर व्यक्तिगत लगानीकर्ताको कुरा गर्ने हो भने ठूला लगानीकर्ताले गुमाएका उदाहरण प्रशस्तै छन् ।
त्यसैले म्युचुअल फन्डलाई सुरक्षित लगानीका उपकरणका रुपमा लिन सकिन्छ र यसलाई सुरक्षित बनाईराख्ने हाम्रो प्रयास जारी रहन्छ र यसमा तपाईहरुको पनि भूमिका रहन्छ भन्ने विश्वास लिएको छु ।
तपाई सिद्धार्थ क्यापिटलमा सीईओका रुपमा आएपछि क्यापिटलका सेवाहरुमा कस्तो सुधार आउनेछ वा तपाईको कार्यकालमा लगानीकर्ताहरुले के–के देख्न पाउनेछन् ?
-स्थापित कम्पनीको रुपमा रहेको सिद्धार्थ क्यापिटल आफ्नो स्थापनाकालदेखि एउटा सोंच बनाएर अगाडि बढेको छ । त्यो सोंच भनेको धेरै अग्रेसिभ नहुने र संस्थागत सुशासनलाई महत्व दिएर काम गर्ने नै हो । यसो भन्नुको अर्थ नम्बर वान बन्नका लागि हामी जे पनि गर्दैनौ । अरुले चाहि जे पनि गरिरहेका छन् भन्न पनि खाजेको होइन मैले । हाम्रो आफ्नै लाइन छ । त्यही भएर हामी कुनै पनि बिजनेशमा चाहे त्यो, मर्चेन्ट बैंकिङ होस् ,वा डीपी बिजनेश होस्, वा म्युचुअल फन्ड बिजनेश होस्, वा अड्भाइजरी होस् । कतै पनि हामी अग्रेसिभ छैनौ । हाम्रो लक्ष्य भनेको एकदम सामान्य हिसाबले वा प्रभावकारी हिसाबले संस्थागत सुशासनलाई समातेर अगाडि बढ्ने हो । त्यो कायम नै रहन्छ ।
यसका साथै हामीले हाम्रा सेवाग्राहीहरुको सुविधाहरुलाई पनि महत्व दिइरहेका छौँ । जस्तै सेवाग्राहीहरुलाई पार्किङको असुविधा नहोस् भनेर मनग्य पार्किङ स्पेस उपलब्ध गराएका छौँ । यसका साथै कार्यालयको सेवासुुविधा र हाम्रा कर्मचारीको व्यवहारमा समेत फरक पाउन सक्नुहुन्छ ।
म्युचुअल फन्डहरुको सवालमा तपाईको आगामी योजनाहरु के छन् । विविध फन्डहरु ल्याउने विषयमा कस्ता योजनाहरु बनाउनुभएको छ ?
-हामीले अहिले १२० करोड रुपैयाँको बन्दमुखी योजना फाइल गरेका छौँ । त्यसपछि हामीले ल्याउने फन्ड अलि नयाँ किसिमको हुनेछ । मलाई यसका बारेमा अहिले नै बताउन अलि गाह्रो हुन्छ । तर यसका लागि हामी ब्याकग्राउन्ड वर्क गरिरहेका छौँ र नयाँ स्वादको फन्ड हामी पक्कै पनि ल्याउनेछौँ ।
प्रसङ्ग बदलौँ । जब–जब कम्पनीहरुले आईपीओ निष्कासन गर्छन्, तब बजारका लगानीकर्ता अझ विशेषत दोस्रो बजारका लगानीकर्ताहरुबाट म्युचुअल फन्डहरुले ‘ज्वाँई सुविधा पाए’ भनेर विरोध गरेको प्रायः सुनिन्छ । अथवा आरक्षण कोटा र कर छुट सुविधाका कुराहरुका बारेमा विरोधपूर्ण आवाज उठाएको सुनिन्छ । तपाईको विचारमा यस्ता विरोधका आवाजहरु किन सुनिन्छन् बजारमा ? यो विरोध कत्तिको जायज छ ? के फन्ड म्यानेजरहरुले ज्वाँई सुविधा पाएकै हुन् त वा यी सुविधाहरु सान्दर्भिक छन् त ?
-स्टेकहोल्डरहरुको चश्माबाट हेर्दा यो ५ प्रतिशतको आरक्षणको व्यवस्था नेपालमा म्युचुअल फन्डको कल्चर विस्तार गर्नका लागि दिइएको जस्तो लाग्छ । म्युचुअल फन्डहरु नयाँ भएकाले यसो गर्दा उनीहरुलाई सस्टेन गर्न पनि सजिलो हुने भन्ने अभिप्रायले आरक्षण दिइयो । फेरी पनि म्युचुअल फन्डका मालिक भनेका त व्यक्तिगत लगानीकर्ता र संस्थाहरु नै हुन् । हामी भनेका त फन्ड म्यानेजर वा संरक्षणकर्ता मात्रै हौँ । त्यसबाट जे मुनाफा आउँछ, आफ्नो व्यवस्थापन शुल्क काटेर उहाँहरुलाई नै बाँड्ने हो । त्यसैले यसको विरोध गर्नु ठ्याक्कै सान्दर्भिक त नहोला । किनभने यसको वास्तविक मालिक इकाईधनीहरु नै हुन् । यहाँले भनेजस्तै करको छुट एकदमै सान्दर्भिक छ । यदि यसमा कर लगाउन थालियो भने त यो फिजीबल नै हुँदैन ।
अब आरक्षणको कुरा गर्दा धितोपत्र बोर्डलाई मुनासिब लागेमा यसमा हटाउँदै लगेमा हाम्रो त्यति ठूलो विरोध रहदैन । किनभने आरक्षण नपाएमा पनि अहिलेको प्रर्फमेन्सलाई कायम गर्न सक्छौँ भन्ने हामीमा आत्मविश्वास छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत फन्ड म्यानेजरहरुलाई करमा राम्रै छुटको घोषणा गरेको छ । अनि फेरी गुनासो कस्तो आउँछ भने–‘कर छुट पनि लिने, आरक्षण पनि लिने, तर इकाईधनीहरुले भने लगानी अनुरुपको प्रतिफल नपाउने ?’कतिपयले त के पनि भन्छन् भने केही मर्चेन्ट बैंकहरुको सेवा सुविधा सर्वसाधारणमैत्री भएन । डिजिटलाईजेसनको संसारमा डिजिटलमैत्री भएनन् भन्ने जस्ता गुनासाहरु पनि आएका छन् । यसलाई कसरी सम्बोधन गर्न सकिएला ?
-सिद्धार्थ क्यापिटलले म्यानेज गरेका फन्डहरुमा राम्रै रिर्टन आएको छ । रिर्टनको सवालमा हाम्रो देशमा वािर्षक रुपमा २०–२५ प्रतिशत रिर्टन पाउँदा पनि कम भयो भन्ने कल्चर भएकाहरु थुप्रै भेटिन्छन् । किनभने उनीहरु ५० वा त्योभन्दा माथिकै रिर्टनको अपेक्षा गर्छन । म्युचुअल फन्डमा लगानी गरेर ५० प्रतिशत रिटर्न खोज्नेहरु अर्थात अग्रेसिभ प्रतिफल खोज्नेहरुका लागि म्युचुअल फन्ड लगानीको उपयुक्त उपकरण होइन । किनभने यसमा जोखिम पनि कम छ । रिर्टन इज अ फङ्सन अफ रिक्स भन्छौँ हामी । यदि रिर्टन धेरै चाहने हो भने रिक्स पनि धेरै लिनुपर्छ । त्यसैले यदि तपाई रिक्स कम लिनुहुन्छ भने रिटर्न पनि ब्यालेन्स्ड खालको अपेक्षा गर्नुपर्छ । यो विषयको बुझाईमा फरक परेको हो कि जस्तो लाग्छ मलाई ।
अन्त्यमा सीईओकोमा रुपमा तपाईको कार्यकाल समाप्त हुँदासम्म सिद्धार्थ क्यापिटलको बजार हिस्सा कति होला ? मर्चेन्ट बैंकिङ क्षेत्रमा कुन स्थानमा रहँला ?
-आन्तरिक रुपमा हाम्रो दिर्घकालीन योजना अवश्य पनि हुुन्छ । जुन व्यवस्थापन र सञ्चालक समिति मिलेर बनाएका हुन्छौँ । मर्चेन्ट बैकिङको क्षेत्रमा हामी अहिले पनि अग्रस्थानमै छौँ । तर हामी नम्बरमा विश्वास गर्दैनौ । किनभने हामी प्रभावकारिता, सेवा प्रवाह तथा गुणस्तरमा विश्वास गर्छौँ र संस्थागत सुशासनमा विश्वास गर्छौ । यसरी आफ्नो पदमार्गमा चल्दा हामीलाई अग्रणी कम्पनीका रुपमा रहिरहन समस्या पर्दैन जस्तो लाग्छ । हाम्रो उद्देश्य भनेकै अहिलेको कम्पनीको साखलाई कायम राख्दै अगाडि बढ्ने हुनेछ ।
सेवालाई छिटो, छरितो र भरपर्दो बनाउका लागि डिजिटलाइनेसनको काम भइरहेको छ । यसो भयो भने सेवाग्राहीहरु मर्चेन्ट बैंकिङको कार्यालयमै धाइरहनुपर्ने झञ्झटबाट मुक्त हुनेछन् । कागजी कामहरु घटाउनका लागि हाम्रो आईटी टिमले बैंकसँग मिलेर काम गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago