काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ आज शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।

निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान १० बजे क्यापिटलको मुख्य कार्यालयमा एक समारोहका बीच लघुवित्तको आइपीओ बाँडफाँड हुनेछ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ३० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । 

साउन १ गतेदेखि खुलेको आइपीओमा साउन ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । 

कुल निश्कासित कित्तामध्ये ८ हजार २५० कित्ता लघुवित्त कम्पनीका कर्मचारीका लागि, २६ हजार ५०० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४ लाख ९५ हजार २५० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

आइपीओमा ३ लाख ३ हजार भन्दा बढीले आवेदन दिएका छन् । कुल ५६ लाख ८९ हजार भन्दा बढी कित्ता खरीदका लागि आवेदन परेको छ । यो कम्पनीको आइपीओ मागको तुलनामा करिब ११ गुणाले ओभरसब्स्क्राइब्ड भएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको कित्तामा १० कित्ताको दरले हिसाब गर्दा आवेदन दिएकामध्ये ४९ हजार ५२५ भाग्यमानी आवेकदले मात्र सेयर पाउनेछन् । यसको अर्थ आवेदन दिएकामध्ये करिब ८३ प्रतिशतको हात खालि हुनेछ ।