– अर्जुन तिमिल्सिना 

काठमाण्डौ। गत वर्ष भदौ ३ गते ३२०० को उच्च विन्दुमा पुगेको सेयर बजार त्यसपछि निरन्तर ओरालो लाग्न थाल्यो। बजार एकपटक लगभग २२६० को विन्दुमा आएर पुनः २९८० को विन्दुसम्म पुग्यो। फेरि त्यहाँबाट ओरालो लागेको बजार केही दिनअघि १८०६ को विन्दुसम्म झर्यो। उक्त विन्दुबाट फर्केको बजार पुनः २१५० सम्म पुग्यो र अहिले घटेर फेरि १९०० को लाइनमा रहेको छ। 

गत भदौयताको यो ११ महिनाको अवधिमा बजारमा धेरैपटक उतारचढाव भएको छ। यो अवधिमा राष्ट्र बैंकको गलत नीति र बजार नियामकको समन्वयकारी भूमिका नहुँदा बजार खसेको भन्दै लगानीकर्ताहरुले बेला–बेलामा आन्दोलन पनि गरे।

पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकरको वर्गीकरणसँगै चुक्तापुँजी बढाउने प्रस्तावसहित धितोपत्र दलाल व्यवसायी नियामवली संशोधन गर्दै तयार गरेको मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको छ। 

संशोधित नियमावलीमा हाल २ करोड रुपैयाँ चुक्तापुँजी रहेका ब्रोकरको पुँजीवृद्धि गरी दुई वर्षभित्र न्यूनतम २० करोड रुपैयाँ पुर्याउनुपर्ने प्रस्ताव गरिएको छ। यद्यपि चुक्तापुँजी २० करोड रुपैयाँ पुर्याउँदा पनि ब्रोकरहरुले अहिले दिँदै आएको डीपीको सेवा पनि दिन पाउँदैनन्। 

सेबोनको पुँजीवृद्धिको प्रस्तावको ब्रोकरहरुले खुलेरै विरोध गरिरहेका छन्। हिजोमात्रै उनीहरुले सेबोनमा ज्ञापनपत्र बुझाउँदै असन्तुष्टि पोखेका छन्।

सेबोन ल्याएको नयाँ प्रस्तावको लगानीकर्ताहरुले प्रशंसा गरिरहेका छन्। सेबोनको नयाँ प्रस्ताव आएसँगै बजार घट्न थालेपछि लगानीकर्ताहरुले ब्रोकरहरुले नै सप्लाई दिएर बजार घटाएको आरोप लगाइरहेका छन्। 

सक्रिय लगानीकर्ता नवराज दाहालले अहिले बजार ब्रोकरहरुले नै घटाएको दाबी गरे। ‘यो खुलमखुला नै देखिन्छ। सेबोनले पुँजी बढाइदिएपछि ब्रोकरहरुले २० करोड पुँजी थप्न आनाकानी गरिरहेका छन्। उनीहरुले पुँजी थप्न पनि चाहँदैनन्। पाटर्नर थप्न पनि चाहँदैनन्’, उनले भने।

ब्रोकरहरु असन्तुष्ट रहेको भन्ने कुरा हिजो सेबोनमा बुझाएको ज्ञापनपत्रबाट प्रस्ट हुने दाहालको भनाइ छ। ‘खासगरी सेबोनलाई उसले ल्याएको नीति कार्यान्वयन गर्न नदिन र गलत साबित गर्न ब्रोकरहरुले नै बजार घटाएका हुन्’, उनले भने, ‘अहिले सबैभन्दा बढी सेयर  होल्डिङ ब्रोकरहरुसँगै छ। म्युचुअल फन्डहरुसँग पनि धेरै छैन। रिटेल इन्भेस्टरहरु नै फसेका छन्। अहिले बजार तलमाथि गर्न सक्ने भनेको ब्रोकरहरु नै हो।’

सक्रिय लगानीकर्ता आदित्य शिवाकोटी भने ब्रोकरहरुले बजार घटाए भन्ने कुरा मान्न तयार छैनन्। ‘मलाई पनि शंका त लाग्छ तर कुनै प्रमाण हुँदैन’, उनले भने, ‘कुनै पनि ब्रोकरले आफूले घाटा खाएर बेचेजस्तो मलाई लाग्दैन।’

बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि ब्रोकरले बजार घटाए भन्ने कुरा सही नभएको बताउँछन्। ‘यो नितान्तन आरोपमात्रै हो’, घिमिरे भन्छन्, ‘आफ्नै सम्पत्ति घट्ने हो। त्यसो भए आज किन घटेन ?’

भोलिबाट सप्लाई घट्ने भएकोले बजार केही अंक बढ्न सक्ने घिमिरेको भनाइ छ। ‘मौद्रिक नीतिपछि नै नीतिगत व्यवस्थाहरु फेरबदल भएमा बजार माथि जान सक्छ’, उनले भने। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले बजार ब्रोकरले घटाए भन्ने कुरा सरासर गलत र तथ्यहीन रहेको बताए। ‘हिजो बजार घट्नु संयोगमात्रै हो’, उनले भने, ‘बजार तल–माथि गर्ने नियमित प्रक्रिया नै हो।’

यस्ता तथ्यहीन हल्लाहरु फैलाएर ब्रोकर र लगानीकर्ताबीचको दूरी बढाउने खेल भइरहेको मैनालीको भनाइ छ। ‘यसमा लगानीकर्ता नै सचेत रहनुपर्छ। हामीले भन्दैमा कुनै लगानीकर्ताले सेयर बेच्दैन र आफ्नो सम्पत्ति कौडीका भाउमा बेच्न कोही तयार हुँदैनन्’, उनले भने।