बुझेर र पढेर नेपालको सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताहरुका लागि ‘रविन्द्र भट्टराई’ नयाँ नाम होइन। सेयर बजार, सेयर कारोबार, बजारका कतिपय अप्ठ्यारा विषयलाई समेत नेपाली भाषाका पुस्तकमार्फत पस्किएर नेपाली सेयर लगानीकर्ताका लागि पथप्रदर्शक र प्रेरणाको स्रोत बनेका रविन्द्र भट्टराई अहिले अध्ययनको सिलसिलामा विदेशमा छन्। उनले सेयर बजारसम्बन्धी निकै राम्रा र उपयोगी पुस्तक लेखेका छन्। यसअघि ‘सेयरबाट करोडपति’ पुस्तक प्रकाशन गरेका भट्टराईले फेरि नयाँ पुस्तक बजारमा ल्याएका छन्। लामो समय पछिल्लो पुस्तक लेख्न व्यस्त उनले बुलिस गतिमा कुदिरहेको नेपालको सेयर बजारलाई कसरी हेरिरहेका छन् ? बजारका समस्या, नियामकको भूमिका, लगानीकर्ताको लगानी गर्ने शैली लगायतको विषयमा उनको धारणा के रहेछ ? लगानीकर्ताको आकर्षणको केन्द्र बनिरहेको सेयर बजारको भविष्य लगायतका विषयमा केन्द्रीत रहेर बिजशालाकर्मी मित्रबहादुर क्षेत्री (अर्जुन तिमल्सिना) ले रविन्द्र भट्टराईसँग भर्चुअल संवाद गरेका छन्। प्रस्तुत छ त्यसको सम्पादित अंश :
विगत एक वर्षदेखि सेयर बजार निरन्तर बढिरहेको छ, यसलाई कसरी हेर्नुभएको छ ?
२०७३ साउन १२ मा १८८८.३६ अंकको उचाई बनाएको नेप्से परिसूचकले २०७५ फागुन ५ गते १०९८.९५ अंक छोएको थियो। त्यसपछि बजारले दक्षिणतर्फको यात्रालाई बिट मार्दै उत्तर तर्फको यात्रा तय गरेको थियो। यही न्यूनतम विन्दुलाई आधार मान्ने हो भने माघ ४ गतेसम्म नेप्से ११० प्रतिशतभन्दा बढीले बढिसकेको छ। यसलाई हेर्ने हो भने बजार बढ्न थालेको करिब दुइ बर्ष भएको छ र अहिले बजार पूर्णतः बुलिस ट्रेन्डमा देखिन्छ। सेयर बजार बढ्नुका अनेक कारण हुन्छन्, त्यसमा ‘लिडिङ’ कारण के हो भन्ने प्रश्न हुनसक्छ। बजार बृद्धिलाई टेवा दिने प्रमुख कारण बैकिङ क्षेत्रमा निक्षेप तथा ऋणको घटेको ब्याजदर नै हो। ब्याजदर र सेयर बजारको उल्टो सम्बन्ध हुन्छ। ब्याजदर घट्दा सेयर बजारमा त्यसको उल्टो असर पर्छ वा सेयर बजार बढ्छ। ब्याजदर बढे सेयर बजार घट्नसक्छ। अहिले बैंकिङ क्षेत्रमा भएको पैसामा ‘सेल‘ लागेको छ। पैसामा ‘सेल‘ लाग्दा सेयर महङ्गो बन्दै जान्छ भने पैसा महङ्गो हुँदा सेयरमा ‘सेल’ लाग्दै जान्छ। दुई वर्षअघिसम्म पैसा महङ्गो थियो र त्यसबेला सेयरमा सेल लागेको थियो। बजारलाई प्रभावित पार्ने यो महत्वपूर्ण तत्व ब्याजलाई सहयोग गर्ने अन्य सहायक कारणहरु छन्। जस्तोः नेपाल स्टक एक्सचेञ्जले सुरु गरेको अनलाईन कारोबार, बैंकबाट सहजै ब्रोकरलाई पैसा तिर्न सक्ने गरी बनाइएको सजिलो पेमेन्ट सिस्टम जस्तो ‘कनेक्ट आइपिएस‘, घटेको ब्रोकर कमिशन आदि। अझै सेयर कारोबारको हिसाबकिताब राफसाफ ‘टि प्लस थ्रि‘ बाट ‘टि प्लस टु‘ मा घटाउने जुन काम गरिएको छ, यसले बजारमा तरलता बृद्धिसँगै कारोबार पनि बढाउने देखिन्छ। अर्कोतर्फ बढ्दो बजारले लगानीकर्तालाई बजारतर्फ तान्दै जान्छ र हरेक दिन नयाँ लगानीकर्ता थपिइरहेका हुन्छन्।
प्राविधिक रुपले पनि बजारले ठूलो फड्को मारेको भनिन्छ, के बजार लगानीमैत्री भएको हो ? यहाँसँग त देशविदेशको अनुभव पनि छ।
प्राविधिक रुपले बजारले केही फड्को मारेको अवश्य हो। तर यसको गति अत्यन्तै सुस्त छ। जुन रुपले नेप्से, धितोपत्र बोर्ड र सिडिएसभन्दा बाहिर प्रविधिले फड्को मारेको छ, त्यति र त्यो गतिमा यी निकायहरुले काम गर्न सकेका छैनन्। वा प्रविधिमा लगानी गर्न सकेका छैनन्। अर्कोतर्फ अहिलेको जुन प्रणाली छ, त्यो विश्वसनीय र भरपर्दो छैन। यद्यपि यसलाइ नस्वीकारी अर्को कुनै विकल्प पनि म देख्दिँन। यतिसम्म कि एउटा लगानीकर्ताले बेहोरेका समस्यालाई लिएर सिस्टम प्रोभाइडर वा भेन्डरलाई फोन गर्नुपर्ने जस्तो लज्जास्पद कुरा कुनै हुनसक्दैन। प्रविधि भन्ने कुरा एउटा काम गरेर अर्को काम गर्न पाँच वर्ष कुर्ने भन्ने हँुदैन। यो त हरेक दिन परिवर्तन हुने कुरा हो। हरेक हप्ता वा महिना लगानीकर्ताले प्रविधिमा नयाँ केही परिवर्तन देख्न चाहेका हुन्छन् र यो सम्भव पनि छ। सबैभन्दा ठूलो कुरा परिवर्तन गर्ने सोंच र दोस्रो पूँजी हो। सेयर बजारका यी तीनवटा संस्था पूँजीका हिसाबले मजबुत छन्। तर दुर्भाग्य न सोंच बदलियो न परिवर्तनमा त्यो पूँजी परिचालन र पुनः लगानी हुन नै सक्यो।
बुल बजारमा धेरैजसो लगानीकर्ताको गुनासो ‘बैकिङ क्षेत्र बढेन’ भन्ने छ। यसमा तपाईको धारणा के हो ?
बैंकिङ क्षेत्र नबढेको जस्तो मलाई लाग्दैन। धेरै बैंकका सेयर मूल्य दुई वर्षअघिको तुलनामा हेर्ने हो भने दोब्बर तेब्बरले पनि बढेको छ। जुन रुपमा केही कम्पनीको सेयरमूल्य बढेको छ, त्यो रुपमा बढेको नदेखिएको हो। यसको कारण बैंकिङ क्षेत्रमा सेयरको संख्या तुलनात्मक रुपमा अन्यमा भन्दा अलिक बढी छ। अर्कोतर्फ अन्य क्षेत्र जस्तो बीमा, जलविद्युत, उत्पादन आदि बैंकहरुका लागि पनि लगानीका क्षेत्र भए। यिनमा सबैले लगानी गर्नसक्ने भए भने बैंकमा बैंकिङ क्षेत्रले लगानी गर्न कानुनी रुपमा सक्दैन। सेयरको चक्रको विगतका इतिहासलाई हेर्ने हो भने करिब ५ बर्ष बजार बुलिस रहने इतिहास छ। हामी अहिले करिब दुई वर्षमा चलिरहेका छौं। यसैले बढ्ने समय अझै बाँकी छ जस्तो पनि लाग्छ। गाडीभित्र कुदेर छिटो गन्तव्यमा पुग्ने कोशिश गर्नु पनि उपयुक्त हो जस्तो लाग्दैन।
नेपालमा बैंकलाई ब्रोकर लाइसेन्स दिने चर्चा हुन थालेको धेरै भयो। बिदेशतिरको अभ्यास के छ ?
बैंकलाई ब्रोकर लाइसेन्सको कुरा २०७२ सालबाट उठेको हो। यो बीचमा दुवै पक्षमा धेरै छलफल, वादविवाद, क्रिया–अन्तरक्रिया भएका छन्। नेपाल राष्ट्रबैंकका तर्फबाट कानुनी रुपमा कुनै बाधा छ जस्तो लाग्दैन। यस्तै प्राविधिक पक्षमा पनि समस्या म देख्दिँन। समस्या कानुन र संस्थाहरुमा भन्दा पनि व्यक्तिको चाहनामा अड्केको देखिन्छ। धितोपत्र बोर्डको वर्तमान अध्यक्षमा समाजको हित, लगानीकर्ताको हित, बजारको आवश्यकताभन्दा पनि आफ्नो चाहना, परिवार वा छोराछारीको इच्छालाई समाजमा लाद्न खोज्ने मानसिकता भएको देखिन्छ। अन्यथा देशका कुना–कुनाबाट प्राथमिक बजारमा लगानीकर्ता थपिएका छन्, तर सेयर बेच्न पाइरहेका छैनन्। त्यसको समाधान भनेको बैंकलाइ ब्रोकर लाइसेन्स दिएर गर्न सकिन्छ। अन्तर्राष्ट्रिय बजारमा बैंकका सहायक कम्पनी नै ठूला ब्रोकर छन्। हरेक बैंक सहायक कम्पनीमार्फत सेयर बजारमा जोडिएका हुन्छन्। हरेक बैंकका शाखामा सेयर बजारका सल्लाहकार हुन्छन्, जसले सेयर कारोबार खाता खोलाउने, लगानीका विभिन्न प्रडक्टहरुका बारेमा लगानीकर्तालाई जानकारी दिने र उपयुक्त पोर्टफोलियोको सल्लाह दिनेसम्म हुन्छ। आशा गर्न सकिन्छ व्यक्तिले लाद्न खोजेका व्यक्तिगत चहनाको आयु छोटो हुन्छ, समाज र बजारको आवश्यकताको आयु दीर्घकालिन हुन्छ। तत्काल नआए पनि केही समयपछि अवश्य बैंकहरु ब्रोकरका रुपमा आउँछन्।
धितोपत्र बोर्ड र नेप्सेले गर्नैपर्ने काम चाहिँ के–के हुन् ?
धितोपत्र बोर्ड र नेप्सले गर्ने कामको सूची बनाउने हो भने निकै लामै हुन्छ। त्यो थाहा पाउनका लागि हरेकदिन सेयर बजारसँग सम्बन्धित समाजिक सञ्जालका ग्रुपहरुमा गएर लगानीकर्ताका समस्या, चाहना, पीडा यिनले पढे पनि हुन्छ। त्यसबाट यिनले सजिलै थाहा पाउँछन् गर्नुपर्ने काम।
हरेक दिन परिवर्तन देखिनुपर्ने नियामकीय गतिविधि पोखरीको पानीजस्तो जमेर बसेपछि समस्या आफैं देखिन्छ। उदाहरणका लागि बोर्डले कानुन नबनाउँदा बजारमा लगानीका नयाँ विकल्पको सिर्जना हुन सकेको छैन, लगाानीकर्ताका संवेदनशिल विवरणको सुरक्षा हुन सकेको छैन, भित्री सूचनामा पहुँच राख्नेहरुको कारोबारको ट्रयाकिङ हुन सकेको छैन, देस्रो बजारको पहुँचलाई प्राथमिक बजारको पहुँचसम्म पुर्याउन सकेको छैन, आधिकारिक सूचनाको स्रोतको विकास हुन सकेको छैन। लगानीकर्ता कोही समयमा पैसा नपाएर चिच्याइरहेका छन्, कोही क्लोजआउटको समस्याका कारण कराइरहेका छन्, कोही कारोबार खाता खोल्न पहुँच नपुगेर कराइरहेका छन, कोही किनबेचको आदेश सिस्टममा सहज रुपमा प्रविष्ट नभएर कराइरहेका छन्। नेप्सेको अंक मात्र हेरेर बजारको विकास देख्ने प्रवृति हामीले त्याग्नु पर्छ।
प्रसङ्ग बदलौं, हिजोआज आइपीओमा अचाक्ली आकर्षण देखिएको छ। यसको कारण के होला ? यसले समग्र पूँजीबजारमा कस्तो प्रभाव पार्ला ?
यो सामान्य प्रक्रिया हो। सेकेन्डरी मार्केट एट्रयाक्ट प्राइमरी मार्केट। दोस्रो बजार बढ्दै जाँदा त्यसले प्राथमिक बजारमा पनि लगानीकर्तालाई आकर्षित गर्दै गइरहेको हुन्छ। प्राथमिक बजारमा सेयर परे वा किन्न सके दोस्रो बजारमा उच्च मूल्यमा बिक्री गरेर नाफा लिन सकिने आशामा मानिसहरु आइपीओप्रति आकर्षित भइरहेका हुन्छन्। त्यसमा पनि माइ आश्वामार्फत सजिलै आवेदन दिन सकिने भएपछि अझ सहज भएको छ।
तपाईको विचारमा सेयर बजारको अबको बाटो के होला ? नेप्से कति पुग्ला ?
बढो महत्वपूर्ण प्रश्न गर्नुभयो। यहाँले अल्पकालमा भन्नु भएको हो वा दीर्घकालीन ? यदि अल्पकालीन बाटो जस्तो भोलि वा एक हप्ता वा महिनाको कुरा गर्नु भयो भने यो भन्न गाह्रो छ। यसको अनुमान गर्नु मूर्खता मात्र हुन्छ जस्तो लाग्छ। तर, दीर्घकालको कुरा गर्नुहुन्छ भने यो माथि नै जान्छ। बजारको चक्रलाई हेर्ने र इतिहासलाई विश्वास गरेर आगामी दिनमा त्यो दोहोरिने कुरामा पनि थप विश्वास गर्ने हो भने सेयर बजार बढ्न अझै तीन वर्ष बाँकी नै छ। तर, यसको अर्थ हरेक दिन बढ्ने भन्ने हँुदैन। बजारलाई हामी अर्कोतर्फबाट पनि हेर्न सक्छौ, जस्तो बैंकिङ क्षेत्रमा ब्याजदर नबढुञ्जेल कारोबार र नेप्से परिसूचकमा सकारात्मक प्रभाव देख्न पाइन्छ। लगानीकर्ताले बजारको चक्र र ब्याजदरमा चाँहि आँखा लगाइरहनुपर्छ। नेप्से परिसूचक यति पुग्छ भनेर ठोकुवा गर्न सकिने कुनै विषयबस्तु हैन, यद्यपि अनुमान जसले पनि गर्नसक्छ। यस्तै यति नेप्से पुग्दा मलाई यति फाइदा होला वा घाटा पूर्ति होला भन्ने कुरामा पनि म सहमत हुन सक्दिँन। तर सेयर बजार अझै बढ्नसक्ने ठाउँ छ कि छैन भनेर सोध्नु भयो भने, बजार बढ्नका लागि अझै ठूलो स्पेश बाँकी नै छ जस्तो लाग्छ।
सेयर बजारमा चलखेल पनि हुन्छ भनिन्छ, अहिलेको बजारमा चलखेल सम्भव छ ?
सेयर बजारमा यो शव्द कमन नै भइसक्यो। सेयरबजार यस्तो ठाउँ हो, जहाँ चलखेल गर्न चाहनेले संसारमै त्यो गर्न खोजिरहेको हुन्छ। नियामकको आँखा नपुगेको ठाउँ खोजेर वा आँखा छलेर फाइदा लिन खोजिन्छ। प्रश्न यो हो कि त्यस्ता अनियमिततालाई कम गरेर बजारमा सर्वसाधारणको विश्वास बृद्धि गर्न नियामकले के काम गरेको छ ? र प्रगति के भइरहेको छ भन्ने हो। तर, हामीकहाँ नियामकको तर्फबाट शून्य काम भएको छ। बजारमा चलखेल भइरहेको हुन्छ । अनलाइन मिडिया तथा सोसल मिडियाको व्यापक विकास भएको अहिलेको अवस्थामा त्यो अझ बढेको हुनसक्छ।
अर्को प्रसंग, ब्रोकरले लगानीकर्तालाई दिने भनेको ‘मार्जिन लेण्डिङ’ अर्थात ‘सेयर धितोमा ऋण’ कुरामा मात्र सीमित भयो नि, किन यो फ्लप भएको होला ?
एउटै काम दुईवटा संस्थालाई समानान्तर रुपले गर्न दिंदा यो सम्भव छैन। बैंकबाटै ब्रोकरबाट भन्दा सस्तोमा उही ऋण पाउँछ भने लगानीकर्ता ब्रोकरबाट किन महङ्गोमा ऋण लिन्छ भन्ने हो। यस्तै ऋणको भोल्युमको पनि कुरा आयो। बैंकले जुन भोल्युममा ऋण दिइरहेका छन्, ब्रोकरसँग त्यो क्षमता पनि छैन। यसका लागि ब्रोकरले लगानीकर्ताबाट लिएको सेयर बैकमा पुनः धितो राखेर ऋण लिनसक्ने व्यवस्था भए वा बैंकलाई यो ऋण दिन बन्द गरेर ब्रोकरबाट मात्र दिन पाउने व्यवस्था भए मात्र यो सफल र प्रभावकारी हुनसक्छ। यदि बैंकका सहायक कम्पनीले ब्रोकरको काम सुरु गरे यो अझै सजिलो भएर जान्छ।
अहिले बजारमा धेरै नयाँ लगानीकर्ता आएका छन्, उनीहरुलाई के भन्नुहुन्छ ?
सेयर बजार जोखिम मोलेर पैसा बनाउने ठाउँ हो। पैसा बनाउनका लागि तीक्ष्ण बुद्धि र विवेक नै हुनुपर्छ भन्ने पनि छैन। राम्रा कम्पनी छान्नुहोस् र आफ्नो क्षमताअनुसार लगानी गर्दै जानुहोस्। समय तपाइँको पक्षमा हुन्छ। तर आज किनेर भोलि नै धनी हुने सपना राख्दा सेयर बजार र जूवामा कुनै फरक नहुनसक्छ।
अहिले त दिनमै ९-१० अर्बको कारोबार हुन थाल्यो नि ?
सेयर बजारमा दैनिक हुने उच्च कारोबार रकमको कारण अनलाइन कारोबारमार्फत लगानीकर्ता आफैंले कारोबार गर्न पाउनु, पेमेन्ट सिस्टम सहज हुनु र ब्याजदर घट्नु हो।
अन्तमा, यहाँले सेयर बजारसम्बन्धी धेरै पुस्तक लेख्नुभएको छ। अहिले आएको नयाँ पुस्तक ‘सेयर मन्त्र’ पहिलेका अन्य पुस्तकभन्दा के कुरामा पृथक छ ?
हो। भर्खरै ‘सेयर मन्त्र’ नामको किताब बजारमा आएको छ। पाठक भनौं वा लगानीकर्ताले राम्रै मन पराएका प्रारम्भिक प्रतिक्रियाहरु पनि पाइरहेको छु। सेयर बजार सम्बन्धी मेरा हरेक पुस्तकका विशेषता फरक छन्। यो पनि अन्य पुस्तकभन्दा फरक नै छ। अन्य पुस्तकको कन्टेन्ट यसमा पाइँदैन, यसमा बिल्कुलै फरक विषयबस्तु समेटिएको छ। पहिलो विशेषता भनेको यो सरल छ। यसमा अप्ठ्यारा शब्दहरु प्रयोग गरिएको छैन। यस्तै यो किताबमा सेयरबजारका बारेमा लगानीकर्ता वा सर्वसाधारणमा रहेका अनेकौं भ्रमहरुलाई चिर्ने प्रयास गरिएको छ। जस्तो कतिपयलाई लाग्नसक्छ सेयर बजारमा पैसा बनाउन तीक्ष्ण बुद्धि, चलाख, धेरै विवेक हुनुपर्छ। तर यथार्थमा त्यो सत्य हैन भन्ने यहाँ प्रमाणित गर्न खोजिएको छ। सामान्य बुद्धि र अनुशासनमा बस्नसके सेयर बजारमा मनग्य पैसा बनाउन सकिन्छ।
यस्तै सरल तरिकाबाट पोर्टफोलियो बनाउने, कम्पनी छनौट गर्ने, महिला र पुरुषको लगानी भिन्नता, लगानीका लागि चाहिने पैसा जस्ता धेरै विषयबस्तुहरु यहाँ समेटिएका छन। हरेक अध्याय फरक, पाठकका लागि सरल, उत्प्रेरक र उपयोगी छन्। पढ्न थालेपछि पढी नसकी किताब राख्न मन लाग्दैन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago