काठमाण्डौ । सेयर बजारमा १२ करोडको क्यापले लामो समयदेखि चर्चा पायो। यही कारणले ठूला लगानीकर्ता नआउँदा बजारले पनि गति लिन नसकेको जानकारहरु बताउँछन्। 

अन्ततः राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै सेयर लोनको सीमा बढाएर व्यक्तिगततर्फ १५ करोड रुपैयाँ र संस्थातर्फ २० करोड रुपैयाँ पुर्याएको छ। यद्यपि, ठूला लगानीकर्ताले सेयर लोनमा सीमा तोक्न नमिल्ने भन्दै विरोध गरिरहेका छन्। 

राष्ट्र बैंककै तथ्यांक हेर्ने हो भने ५० लाख रुपैयाँभन्दा माथिको सेयर लोन लिने संख्या न्यून छ। सेयर लोन ५० लाख रुपैयाँसम्म लिनेको संख्या भने अधिक छ। 

कोरोनाकालयता सेयर बजारमा थुप्रै लगानीकर्ता प्रवेश गरिसकेका छन्। जसमा विद्यार्थीदेखि लिएर गृहिणीसम्म धेरै छन्। उनीहरुका लागि ५ लाखको सेयर लोन पनि ठूलो हुने गरेको हुन्छ। 

तिनै साना लगानीकर्तामध्येका एक हुन्, मनीष श्रेष्ठ। काठमाण्डौ डिल्लीबजार श्रेष्ठ अहिले स्नातक तहमा अध्ययनरत छन्। उनी सेयर बजारमा प्रवेश गरेका २–३ वर्ष पनि भएको छैन। ‘यो १२ करोड क्यापलाई देखाएर ठूला लगानीकर्ताले खेल्ने काम गरेका छन्, उनीहरुले बजार घटाएर सस्तो सेयर उठाउने र पछि मूल्य बढाएर साना फसाउन दाउ गरेका छन्’, श्रेष्ठले भने, ‘तर, अब ठूलाको पासो फस्ने सम्भावना कम छ।’

पछिल्लो एक–डेढ वर्षदेखि साना लगानीकर्ताले नै बजार चलाएको श्रेष्ठको भनाइ छ। ‘प्रविधिको विकास र पछिल्ला घटनाक्रमले अब साना लगानीकर्ता पनि धेरै बाठा भइसकेका छन्’, उनले भने, ‘त्यसैले सेयर लोन १२ करोड क्याप होस् कि १५ करोडको, यसमा हामीलाई मतलब छैन।’

काठमाण्डौ मध्यबानेश्वरकी गृहिणी बबिता गुरागाईं पनि कोरोनाकालमै सेयर बजारमा प्रवेश गरेकी हुन्। ‘पहिले त मैले आईपीओमात्रै भर्थें र सेयर बजारका विषयमा निकै चासो दिन्थेँ’, उनले भनिन्, ‘१ वर्षजति भयो मैले दोस्रो बजारमा पनि कारोबार गर्न थालेकी छु। सधैँ ब्रोकर हाउस जान्छु।’

सेयर लोनमा १२ करोडको फन्डाबारे आफूलाई मतलब नरहेको बताइन्। ‘यसो ४–५ लाख लगानी गरेर महिनामा २५–३० हजार रुपैयाँ कमाउने सोचमात्रै मेरो छ’, उनले भनिन्, ‘अहिले मजस्ता गृहिणीलाई त्यति कमाइ भए पनि काफी छ। त्यसैले यो सेयर लोनका विषयमा बजार खुब चर्चा सुन्छु तर मतलब लाग्दैन।’

शिक्षण पेसा छाडेर सेयर बजारमा होमिएका कीर्तिपुरका भुवन ओली पनि साना लगानीकर्तामध्येकै एक हुन्। उनलाई सेयर लोनमा चलिरहेको चर्चाबारे खासै चासो छैन। ‘यो सेयर लोनको कुरा ठूलालाई मात्रै हो, हामीजस्ता साना लगानीकर्तालाई होइन’, उनले भने, ‘हामी त आफूसँग भएको थोरै रकम लिएर बजारमा आएका छौँ। यसैलाई परिचालन गरेर अगाडि बढ्ने हो।’

अब बजार साना लगानीकर्ताले नै चलाउने ओलीको भनाइ छ। ‘ठूला लगानीकर्ता बजारमा आउन या नआउनु मतलब भएन’, उनले भने, ‘बजार थुप्रै साना लगानीकर्ता छन्। अब साना लगानीकर्ताले नै बजारमा लिड गर्नेछन्।’