काठमाण्डौ । लकडाउनपछि खुलेको बजारमा लगानीकर्ताको मनोबल उच्च रहनुमा मौद्रिक नीतिले धेरै हदसम्म सहयोग पुर्यायो। सेयर कर्जाको सीमा ६५ प्रतिशतबाट बढाई ७० प्रतिशत कायम हुनु, सेयरको धितो मूल्याङ्कन गर्दा १८० दिनको औसतमूल्यका साटो १२० दिन कायम हुनु र ब्याजदर समेत सिंगल डिजिटमा ओर्लनुले सेयर लगानीकर्ताको मनोबल ह्वात्तै बढ्यो, जसको प्रभाव बजारमा देखियो ।
नेप्से परिसूचकसमेत १५ सय विन्दु पार गर्यो । तर, पछिल्लो समय कोभिड–१९ को संक्रमण तीव्र बन्दै जाँदा लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव पर्न थालेको देखिन्छ ।
सूचीकृत कम्पनीले गत आर्थिक वर्षभरिमा गरेको कमाइ र उनीहरुले दिने लाभांश समेत निकट समयमा लगानीकर्ताले थाहा पाउने छन् । महिना साउनकै भए पनि सेयर बजारका लागि भने बाली भित्र्याउने समय मंसिर नै रहेको भनिन्छ । यद्यपि बजारले कुनै फड्को मार्नेसमेत संकेत गरेको छैन । हजारौँ लगानीकर्ताले बजार बढ्छ नै भन्ने सकारात्मक मनोबल बनाउँदासमेत बजार भने चलायमान हुन सकिरहेको छैन ।
यसै सेरोफेरोमा विगत साढे ३ दशकदेखि सेयर बजारमा होमिएका सेयर बादशाहको उपनाम पाएका निर्मल प्रधान यतिबेला के सोचिरहेका होलान् ? अहिलेको अवस्थामा उनको बजार विश्लेषण कस्तो छ ? भनी हामीले प्रश्न गरेका थियौं । लगानीकर्ताको मनोबलको ब्याट्री नै डाउन भएकाले बजार भाइब्रेट नभएको प्रधान बताउँछन् । ‘नेपाली सेयरबजारमा बुलिस र बियरिस प्रवृतिको चक्र ७ वर्षको देखिँदै आएको छ’, उनी प्रक्षेपण गर्छन्, ‘त्यसैले अहिलेसम्म ५ वर्ष बितिसकेको र अबको २ वर्षपछि मात्र नेप्से अलटाइम हाई चुम्नेछ।’
सेयर धितोकर्जा अहिले पनि लगभग डबल डिजिटमै रहेको प्रधानले बताए । आफू स्वयम्ले ६–७ वटा बैंक धाउँदासमेत सिंगल डिजिटमा सेयर कर्जा नपाएको उनले जिकिर गरे ।
बैंकहरुले सेयर धितोकर्जामा सिन्डिकेट गरिरहेको प्रधानको आरोप छ । एकाध बैंकले ९.९९ प्रतिशत ब्याजदरमा सेयर धितोकर्जा दिने गरेको उल्लेख गर्दै उनले नयाँ कर्जालाई मात्र नयाँ व्यवस्थाअनुसार कर्जा प्रवाह भएको, तर पुरानालाई पुरानै व्यवस्थाअनुरुप कर्जाको सीमा र ब्याजदर कायम हुनुले समेत पुराना लगानीकर्तालाई असहज भएको बताए । ‘सेयर कर्जा नलिई ‘सुखै छैन’ भन्ने मानसिकता भएका बैंकहरुको चालबाजीका रुपमा मैले बुझेको छु’, प्रधानले बिजशालासँग भने ।
यस्तै कोरोनाकै कारणसमेत कम्पनीको प्रतिफल जस्टिफाइ नहुने र बैंकहरुलाई मात्र किन पोसाउने भनेर पनि सेयर कर्जाप्रति आकर्षण नभएको प्रधानको तर्क छ ।
नेप्से ओरालो लाग्नुमा सेयर बजारमा लगानी गरेर रिटर्न आउने विषयमा लगानीकर्ता विश्वस्त हुन नसक्नु पनि एउटा कारण रहेको उनी बताउँछन् । ‘लगानीकर्ता अन्यौलमै छन् र ठूला लगानीकर्तासमेत सेयर लगानी गर्न आक्रामक नहुनु पनि बजार झर्नुको कारण हो’, उनले भने, ‘यद्यपि बजारमा स–साना लगानीकर्ताको सक्रियता निकै बाक्लिँदै गइरहेको देख्छु । समग्रमा बजार ‘पर्ख र हेर’को अवस्थामा छ ।’
यो आर्थिक वर्षमा बजार सुधार तथा विस्तारमा नियामक र सरकारले समेत निकै राम्रो काम गरेकाले स्वर्ण अक्षरले लेख्दा फरक नपर्ने प्रधान सुनाउँछन् । साउन मसान्ततिर सूचीकृत कम्पनीको वित्तीय प्रतिवेदन आउने हुँदा त्यसपछि भने बजार चलायमान हुनसक्ने प्रधानको अनुमान छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19