काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा उछाल आउने क्रम जारी छ। दैनिक कारोबार रकम र नेप्से परिसूचक समेत बढोत्तरी हुने क्रम यथावत छ।
कोभिड–१९ ले जनजीवन अस्तव्यवस्त भइरहँदा अर्थतन्त्रमा समेत गम्भीर असर परिरहेको छ। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता र उत्पादनशील तथा अन्य लगानीका क्षेत्रमा समेत संकुचन आइरहेको देखिन्छ। यद्यपि सेयर बजारको रौनक भने दिनानुदिन बढिरहेको र नयाँ लगानीकर्ताको उल्लेख्य प्रवेश अनि पुराना लगानीकर्ताको पुनरागमन तथा सक्रियताले बजार गुल्जार भइरहेको छ।
यही सेरोफेरो र आगामी दिनमा सेयर बजारको परिदृश्यबारे अर्थतन्त्र जानकार तथा सेयर बजार विश्लेषक हेमन्त बस्यालसँग बिजशालाले गरेको कुराकानीको सारसंक्षेप–
अहिलेको बजार बढोत्तरी र वर्तमान परिदृश्य कस्तो देख्नुहुन्छ ?
– बजारले अवश्य पनि बुलिस ट्रेन्ड समातिसकेको अवस्था हो। नियमित गतिमा बजार उकालो लागिरहेको र बजारको बढोत्तरी स्वभाविक नै हो भन्ने मेरो ठहर छ। मेरो अध्ययनमा अझै पनि केही कम्पनीका सेयरमूल्य अन्डरभ्यालु नै छन्।
अब सेयर बजारले कस्तो दिशा तय गर्ला र बजारका चुनौती तथा अवसर बारेमा तपाइँको धारणा बताइदिनुस्।
– बजारमा तरलता, राजनीतिक समीकरण र राजनीतिक इच्छाशक्तिले प्रत्यक्ष असर गर्छ, जुन पुँजीबजारका लागि बाह्य असर गर्ने तत्वअन्तर्गत पर्छन्। तरलता घट्ने अवस्था नरहला अहिले नै। नेपाल सरकारले खर्च नगर्दा राजश्व खातामा पैसा जम्मा हुने भएकाले लिक्विडी क्रन्चको अवस्था म देख्दिन। यद्यपि पुस मसान्तमा कर बुझाउनुपर्ने बाध्यता, सरकारले उठाएको कर खर्च गर्ने सामथ्र्य अनि राजनीतिक समीकरण चाहिँ सेयर बजारका लागि आगामी चुनौती हुन्। यसले बजारलाई अवरोध गर्न सक्ने सम्भावना तथा बजार जुन गतिमा बढ्नुपर्ने हो त्यो रफ्तारमा रोकिँदै सानातिना करेक्सनसँगै सेयर बजार अघि बढ्ला। छोटकरीमा भन्नुपर्दा बुलिस ट्रेन्डमा केही अवरोध भने अवश्य पर्छ।
अर्थतन्त्र भने ओरालो तर सेयर बजार चाहिँ उकालो, यो त सिद्धान्ततः मिलेनजस्तो लाग्दैन ?
– कोभिड–१९ ले अर्थतन्त्र नकारात्मक पक्कै भएको हो। जीडीपी ग्रोथ हासिल गर्न नसक्दा अर्थतन्त्रमा असर परेकै हो। तर हाम्रो देश जीडीपीमा आधारित अर्थतन्त्र होइन। हाम्रो अर्थतन्त्र उत्पादनमा आधारित नभएको ट्रान्सफर पेमेन्ट डोमिनेटेडमा आधारित अर्थतन्त्र भएकोले जीएनपीमा असर गर्दछ। जीएनीमा भने महत्वपूर्ण भूमिका खेल्दछ।
अब बजारमा तरलता अझै कायम रहला ? तरलताकै कारण सेयर बजार बढेको हो भन्ने सुनिन्छ, तपाइँँको धारणा के छ ? यो तरलतालाई सन्तुलनमा ल्याउन के गर्नुपर्ला ?
– तरलता र लागत कम भएकाले सेयर बजार बढ्नु स्वभाविक छ। तरलता बढ्नुमा मुख्य ३ कारण छन्। आयात नभएकाले बीओपी (ब्लालेन्स अफ पेमेन्ट) सकारात्मक भयो। क्रेडिट डिमान्ड कम र अर्को अनधिकृत अर्थतन्त्र बन्द भएका कारण अधिक तरलताको अवस्था सिर्जना भएको हो।
नेपाल राष्ट्र बैंकले तलरता व्यवस्थापन तथा सन्तुलनका लागि अल्पकालीन औजार प्रयोगमात्र गरेकोमा मेरो चाहिँ यसमा समर्थन छैन। तरलताको अवसर अर्थतन्त्रमा यदाकदा देखिन्छ, यसलाई सही ठाउँमा सही सदुपयोग गर्न सके अर्थतन्त्र मजबुत बनाउने सुअवसर पनि हुन्छ। सरकारले यतिबेला ठूलठूला आयोजना तथा पूर्वाधार क्षेत्रमा दीर्घकालीन बन्ड जारी गरी तरलताको सदुपयोग गर्न सक्दछ। केही सरकारी आयोजना सञ्चालन भए पनि ती व्यवसायमा मात्र आधारित भए तर अहिले लगानीको स्वर्णिम अवस्था सिर्जना भएको छ।
यसैगरी रिफाइनान्सिङ गरेर पनि अनुत्पादनशील क्षेत्रमा जाने कर्जालाई रोक्न सकिन्छ। आयात बढ्ने तर अनुत्पादनशील क्षेत्रमा लगानी ओइरिँदा उत्पादनशील क्षेत्रमा कम लागतमा लगानी गर्ने अवसर गुम्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago