– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाली सेयर बजारमा अहिले झन्डै ४२ लाख डिम्याट छन्। भर्खरै आईपीओ निष्कासन गरेको तेह्रथुम पावरमा झन्डै २४ लाख लगानीकर्ताले आवेदन दिए। तीमध्ये अधिकांश लगानीकर्ता विद्यार्थी छन्।
इन्टरनेटको पहुँचका साथै हात–हातमा बैंक, मेरो सेयर, टीएमएसको सुविधाले गर्दा पनि धेरै विद्यार्थी सेयर बजारमा जोडिन सफल भएका हुन्। अहिले विद्यार्थीको पकेट खर्चको प्रमुख स्रोत सेयर बजार बन्दै गएको छ। ‘जीवन विकासको सेयर परेको थियो। एक हजारको सेयर ५० हजारमा बेचेँ। अहिले घरमा आमा–बुवा पनि दंग हुनुहुन्छ’, एक विद्यार्थीले आफ्नो अनुभव सुनाए।
दीक्षा तिमल्सिना– बीबीएम दोस्रो वर्ष, युनिभर्सल कलेज
काठमाण्डौकी दीक्षा तिमल्सिना करिब १ वर्षदेखि सेयर बजारमा लगानी गर्दै आएकी छन्। ‘सुरुमा आईपीओबाट लगानी सुरु गरेँ। १–२ वटा कम्पनीको आईपीओ पनि परेको छ। अब दोस्रो बजार पनि प्रवेश गर्ने योजना छ’, उनले भनिन्।
थोरै पैसामा पनि सेयर बजारमा लगानी गर्न सकिने भएकाले दीक्षाले सेयर बजारमा लगानी सुरु गरेको बताइन्। ‘सेयर बजार अहिले मध्यमवर्गीय परिवारका नागरिकलाई आम्दानीको राम्रो स्रोत बनेको छ। मेरा कतिपय साथीले बजारबाट आएको नाफाले कलेज फी पनि तिर्न थालेका छन्’, उनी भन्छिन्, ‘मेरो पकेट खर्चको स्रोत पनि अहिले सेयर बजार नै बनेको छ। आउने दिनहरुमा थप अध्ययन गरी बजारमा फुल–टाइम लगानी गर्ने योजना छ।’
सन्दीप रावल– बीबीए दोस्रो वर्ष, भ्याली स्टेट कलेज
भरतपुर चितवनका सन्दीप रावल अहिले आईपीओमात्र नभई दोस्रो बजारमा पनि लगानी गर्दै आएका छन्। रावलले सुरुका दिनहरूमा आफ्नो पकेट खर्चबाट लगानी सुरु गरेका थिए। ‘सेयर बजारबाट राम्रै नाफा कमाएपछि बुवाले लगानी गर्न भनी पैसा दियो’, उनले भने।
अहिले रावलको पोर्टफोलियो झन्डै १ लाखको भएको छ। ‘सेयर बजारबाट राम्रै मुनाफा कमाएकोमा आमाबुवा पनि दंग हुनुहुन्छ’, उनले भने।
सेयर बजारमा धेरै समय खर्च नगर्नु पर्ने साथै पकेट खर्च पनि सजिलै आउने भएकाले रावल सेयर बजार प्रवेश गरेका बताउँछन्। ‘म अहिले पकेट खर्चका लागि बुवा आमासँग पैसा माग्दिन’ उनले भने।
सेयर कारोबारले नै खाजा, गाडी भाडा, किताबलगायत अन्य खर्च गर्न पुगेको रावलले बताए। उनका अनुसार ब्रोकर कमिसन साथै ट्याक्स घटाए आफूजस्तो विद्यार्थी लगानीकर्तालाई लगानी गर्न थप सहज हुने बताए।
आयूष लम्साल– प्लस टु, वाल्मीकि कलेज
भरतपुर चितवनका आयूष लम्साल अहिले आईपीओमा लगानी गर्दै आएका छन्। आयूष भन्छन्, ‘सेयर बजारबाट ७–८ गुणासम्म सजिलै कमाउन सकिने रहेछ।’
आयूषले निफ्राबाट आईपीओमा लगानी गर्न सुरु गरेका थिए। ‘१०० को सेयर त्यति पुग्छ होला भनेर सोचेको थिइनँ’, उनले भने।
अहिले अन्य साथीहरुसँग घुम्न जाने खर्च, पकेट खर्चको प्रमुख स्रोत सेयर बजार भएको उनी बताउँछन्।
आयूष अहिले दोस्रो बजारबारे अध्ययन गर्दै छन्। ‘अध्ययन नगरी लगानी गर्दा पैसा गुमाउने डर भयो, त्यसैले अध्ययनमा लागेको छु’, उनले भने।
दोस्रो बजारबारे अध्ययन सकेपछि आयूषको बजारमा १० लाख रुपैयाँसम्म लगानी गर्ने योजना छ।
सरोज ढकाल– बीबीए दोस्रो वर्ष, शंकरदेव कलेज
बागलुङका सरोज झन्डै ३ वर्षदेखि सेयर बजारमा लगानी गर्दै आएका छन्। उनले जोशी हाइड्रोपावरको आईपीओबाट लगानी यात्रा सुरु गरेका थिए। जोशी हाइड्रोपावरको सेयर बिक्री गरेर उनले एभेरेस्ट बंैकको सेयर खरिद गरे। त्यसपछि उनको दोस्रो बजारको यात्रा पनि सुरु भयो। ढकाल भन्छन्, ‘सुरुआती दिनहरुमा दसैँ, तिहारलगायत अन्य चाडबाडको पैसा र खाजा खर्च बचाएर लगानी सुरु गरेको थिए। बजार बुझ्दै गएपछि घर परिवारबाट पैसा मागेर लगानीको दायरा पनि बढाए। अहिले बजारबाट राम्रै मुनाफा भएको छ।’
रवीन्द्र भट्टराईको ‘सेयरबाट करोडपति’ पुस्तकबाट प्रभावित भएर सेयर बजारमा प्रवेश गरेका ढकालको लगानी रणनीति पोर्टफोलियोमा ७० प्रतिशत हिस्सा दीर्घकालीन र ३० प्रतिशत हिस्सा अल्पकालीन लगानी छ। ‘विगतको तुलनामा नेपाली सेयर बजारमा धेरै सुधार भएको छ। तर सर्कुलर ट्रेडिङ, इन्साइडर, कम्पनीको झुटो वित्तीय विवरण प्रकाशनजस्ता गतिविधिमा नियामक निकायहरुकै संलग्नता हुने भएकाले बजारमा थप सुधार हुन् नसकेको उनको बुझाइ छ। ढकाल भन्छन्, ‘साना लगानीकर्तालाई कर छुट दिँदा बजारमा म जस्ता साना लगानीकर्ता मारमा नपर्नुका साथै सेयर बजारमा थप लगानीकर्ता आकर्षित हुन्थे।’
नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान छोटेलाल रौनियारका अनुसार सेयर बजारमा अहिले अधिकांश विद्यार्थीले लगानी गर्ने गरेको बताए। रौनियार भन्छन्, ‘म सेयर बारे छलफलका लागि विभिन्न कलेजमा जाने गरेको छु। आईपीओमा लगानी नगरेको त विद्यार्थी नै भेटिँदैन। धेरैले त दोस्रो बजारमा पनि लगानी सुरु गरेका छन्।’
भोलिका दिनमा यी विद्यार्थी नै बजारका सक्रिय लगानीकर्ता हुने भएकाले विद्यार्थीले बजारमा लगानी गर्नु राम्रो पक्ष रहेको रौनियारले बताए। सेयर बजारमा लगानी गर्दै गरेका साथै गर्ने सोच भएका विद्यार्थी लगानीकर्तालाई रौनियारका ५ सुझाव छ–
विद्यार्थीले माथि उल्लेखित कुराहरु ध्यानमा राखेर सेयर बजारमा लगानी गर्दा बजारबाट राम्रो नाफा हुने रौनियाको दाबी छ। ‘अहिले राष्ट्र बैंक, सेबोन, नेप्सेजस्ता नियामक निकायलगायत अन्य निकायले समय–समयमा विज्ञप्ति प्रकाशित गर्दा बजारमा उत्तर–चढाव हुने गरेको छ। तर मेरो विचारमा नेपाली सेयर बजार अहिले पनि बुलिस नै छ’, उनले भने, ‘बैंकहरु अझै बढ्न बाँकी नै छ। त्यसैले नव–प्रवेशी विद्यार्थी लगानीकर्ताले बैंकिङलगायत अन्य सेक्टर अध्ययन गरी अझै पनि फन्डामेन्टली राम्रा कम्पनीहरुमा लगानी गर्ने मौका रहेको छ।’
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago