– प्रकाश न्यौपाने
काठमाण्डौ । हरेक कालखण्डमा बेला–बेला संसारभरि नै विविध कारणले आर्थिक संकट देखा परिरहेको हुन्छ। तर, आर्थिक जटिलताका बीच राम्रा र बलिया कम्पनीको सेयरमा दीर्घकालीन लगानी गर्नेहरुले भविष्यमा मनग्य कमाउने जानकारहरुको मत छ।
अहिले आर्थिक संकट जटिल बनेको बेला सेयर बजारका लगानीकर्तामा दिनदिनै पीडा थपिँदै गएको छ। धेरै लगानीकर्ता टिक्न नसकेर बजारबाट पालयन पनि भएका छन्।
बजार जानकार बैकुण्ठ पौड्याल यो आर्थिक कठिन अवस्थामा जसले राम्रा कम्पनी खरिद गरेर टिकेर बस्न सक्छ, उसैले मनग्य पैसा कमाउने बताउँछन्। ‘अहिले घर–जग्गामा गरेको लगानी अब दोब्बर हुन करिब १० वर्ष लाग्छ। अब नाफा खाने गरी घर–जग्गामा लगानी गर्नु जोखिमपूर्ण छ’, उनले भने, ‘५० लाख रुपैयाँ आनाको जग्गालाई १ करोड रुपैयाँ बनाउन अब १० वर्ष लाग्न सक्छ। यसरी हेर्दा बैंकको ब्याज पनि नधान्ने देखिन्छ। तर, सेयर बजारमा कम्पनीहरुको सेयरभाउ न्यून विन्दुमा आएको छ। बलिया र लाभांश पनि १५ प्रतिशतभन्दा माथि दिने कम्पनीमा लगानी गर्ने लगानीकर्ताले ३ बर्षमा करिब ५० प्रतिशत लाभांश प्राप्त गर्न सक्छन्।’
आर्थिक अबस्था सुधार हँुदै जाँदा केही वर्षमा त्यस्ता कम्पनीको सेयरभाउ अहिलेको मूल्यभन्दा दोब्बर पनि हुन सक्ने पौड्यालको विश्लेषण छ। ‘त्यसैले यो बेला अध्ययन गरेर राम्रा कम्पनी छानेर लगानी गरी केही वर्ष टिक्न सक्ने मनग्य कमाउन सकिन्छ’, उनले भने।
अर्का बजार जानकार विष्णु धिताल अहिलेको अवस्थामा लगानी गरेर धर्य गर्न सक्नेले सेयर बजारबाट राम्रै कमाउन सक्ने बताउँछन्। ‘अहिले आर्थिक संकट देखिएको छ। यतिबेला सबैलाई समस्या परेको छ’, उनले भने, ‘जसले समस्यासँग जुधेर लगानी सही ठाउँमा लगाएर धैर्यताका साथ कुर्न सक्छ, तिनैले आउने दिन कमाउने हो।’
विगतमा पनि जो टिकेर बसे, तिनैले कमाएको धिताल बताउँछन्। ‘बैंकको ब्याजदर महँगो हुँदा लगानीकर्तालाई मात्र नभई कम्पनीलाई पनि मार परेको छ’, उनले भने, ‘तर, यस्तो अवस्थामा पनि सुशासन राम्रो भएको र केही न केही लाभांश दिएका सस्ता कम्पनीमा लगानी गरेर आनन्दसँग बस्ने लगानीकर्ताले नै आउने दिन राम्रो नाफा कमाउनेछन्।’
अहिले गरेको लगानीले करिब ४ वर्षभित्रमा १०० प्रतिशतदेखि २०० प्रतिशतसम्म नाफा दिने विश्वास आफूलाई रहेको धिताल बताउँछन्। ‘मैले विगतदेखि नै यस्ता कुरा भोग्दै आएको पनि छु’, उनले भने, ‘त्यसैले आफ्नो क्षमताअनुसार अहिले गरेको लगानीको फल खान धेरैमा ४ बर्ष धैर्य गरे पुग्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19