कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत-महालक्ष्मी विकास बैंक लिमीटेड

कैलाश विकास बैंक छाडेर केही समयको ग्यापपछि फेरि विकास बैंक नै रोज्नुु भयो नि ?
-मैले २९–३० वर्षमा जे गरेँ, त्यो बैकिङ नै थियो । यो अवधिमा मैले सिकेको कुरा पनि बैकिङ नै हो । कैलाश विकास बैंक छाडेपछि मलाई केही नयाँ बिमा कम्पनीहरुबाट समेत प्रस्ताव आएको थियो, तर मैले त्यो सेक्टरमा केही कुरा सिक्नुुपर्ने हुन्छ भन्ने लाग्यो । हुन त बिमा पनि व्यवस्थापकीय क्षमतामा चल्ने सेक्टर नै हो, बिमा गएर चलाउनै नसकिने भन्ने त होइन । तर, आफूले जानिराखेको र बुझिराखेको क्षेत्रमा जाँदा नै उपयुक्त हुन्छ भन्ने लागेर मैले बैकिङ क्षेत्र नै रोजेको हुँ । 

बिमामा बढी एजेन्ट बेस्ड विजिनेश हुन्छ । तर, भिन्नै लेभलको सर्कल छ बैकिङमा । जिन्दगीभर आफूले गरेको कुरालाई निरन्तरता दिंदा नै सहज हुन्छ भन्ने ठानेर मैले पुनः बैंक नै रोजेँ ।

थोरै कमाए भन्दैमा निराश बन्नुपर्ने आवश्यकता छैन । अहिले पनि रिटर्न हेर्नुुभयो भने औसतमा १५ प्रतिशत कसैको पनि घट्दैन । म त भन्छुु बैकिङ सेक्टरबाट अहिलेको स्टकको प्राइसबाट १५ प्रतिशत रिटर्न आउनुु धेरै राम्रो कुरा हो । तपाई हेर्नुहोला, औसतमा १५ प्रतिशत रिटर्न घट्दै घट्दैन । 

नेपालको अहिलको बैकिङ अवस्था कस्तो छ ? कतिपयको नाफा घटेका कारण लगानीकर्ता अत्तालिएको अवस्था छ । तपाईको विश्लेषण ?
-पहिलो त्रैमासको रिपोर्ट हेर्दा केही बैंकहरुको नाफा घटेको देखिएको छ । विदेशतिर त ठूलो अमाउण्टमा नोक्सान नै हुन्छ । यहाँ कुनै पनि बैंक नोक्सानीमा गएका छैनन् । म त भन्छु बैकिङ सेक्टर विदेशतिरको तुलनामा नेपालमा बढी सुरक्षित छ । किनभने यहाँ अधिकांश बैंकले एसेटको बेस्डमा लोन दिएको हुन्छ, धितोमा आधारित मा लोन दिएको हुन्छ । बाहिर चाहि प्रोजेक्ट बेस्डमा लोन दिएको हुन्छ, प्रोजेक्ट फेल भएपछि पैसै आउँदैन । त्यसकारण हिजोको दिनमा बैंकहरुले पैसा केही बढी कमाए होलान, आजको दिनमा थोरै कमाए । थोरै कमाए भन्दैमा निराश बन्नुपर्ने आवश्यकता छैन । अहिले पनि रिटर्न हेर्नुुभयो भने औसतमा १५ प्रतिशत कसैको पनि घट्दैन । म त भन्छुु बैकिङ सेक्टरबाट अहिलेको स्टकको प्राइसबाट १५ प्रतिशत रिटर्न आउनुु धेरै राम्रो कुरा हो । तपाई हेर्नुहोला, औसतमा १५ प्रतिशत रिटर्न घट्दै घट्दैन । त्यसकारण यो अन्यथा होइन । हिजोको दिनमा नाफा अलिक बढी थियो होला, आज कम मात्र भएको हो । फेरि सधैभरि यस्तो अवस्था पनि हुँदैन । लिक्वीडिटी टाइट भयो, ठूलो मूल्यको डिपोजिट लिनुुपर्यो, त्यसको मार अहिले पनि परिरहेको छ, यस्तै यस्तै फ्याक्टरले नाफा घटेको हो । मलाई लाग्छ दोश्रो वा तेश्रो त्रैमासबाट बिस्तारै सुधार हुन्छ । सधैभरि नाफा बढेको बढ्यै गर्दैन, ग्रोथ कम हुनसक्छ, नोक्सान हुन भएन । सधैभरि ३०–४० प्रतिशत नै लाभांश दिनुपर्छ, धेरै बढी कमाई गर्नुपर्छ भन्ने होइन । बैंकहरुको परफरमेन्स नराम्रो होइन, तर पोहोर सालको तुलना गर्दा अलिकति कम देखिएको मात्र हो । कतिपय बैंकहरु, जसले पोहोर थोरै प्रोफिट गरेका थिए, उनीहरुले यो वर्ष धेरै प्रोफिट पनि गरेका छन् । नराम्रो म चाहि मान्दिँन, अवस्था सन्तोषजनक नै हो । 

बैंकहरुले पूँजीवृद्धि गरिसकेका छन् । पूँजी वृद्धि भइसकेपछि पनि सो अनुसार नाफा कमाउन र लगानीकर्तालाई रिटर्न दिन पुरानै ढर्रामा चलेर त हुन्न होला । बैंकहरुले अब कुन–कुन पक्षमा बढी ध्यान दिनुपर्ला ?
-हाम्रो अर्थतन्त्रको साइज जति छ, त्यसभित्रै रहेर बैंकहरुले आर्थिक कारोबार गर्ने हो । र, हाम्रो २ वर्षमा चारगुणा पूँजी बढ्यो, त्यो अनुसार हाम्रो अर्थतन्त्रको आकार बढ्दैन । त्यो हिसाबले केही समय पूँजी बढेको अनुपातमा कारोबार नबढ्न सक्छ । कारोबार नबढिसकेपछि प्रतिसेयर आम्दानी पहिलाको तुलनामा घट्न सक्छ, तर यो क्षणिक हो । २–३ वर्षपछि एउटा साइज लिन्छ । २०४८ सालमा नेपालको रेभेन्यूू १२–१३ अर्ब थियो, अहिले ६–७ सय अर्ब पुगिसक्यो । कति भएको छ र ? २०–२५ वर्षमा रेभेन्यूू धेरै माथि पुगिसक्यो । हरेक वर्षको बजेटको साइज हेरौं, त्यो पनि बढिरहेकै छ । बजेट खर्च हुने भनेको बैंकिङ थ्रू नै हो । विजिनेश ग्रोथ हेरौं, सरकारको बजेट लगायत हेर्दा यसको अनुपातमा २ ३ वर्षभित्र पूँजी वृद्धि गरिए अनुसारको बैंकहरुले यथेष्ठ विजिनेश पाउँछन । भएकै बिजिनेश बैंकहरुले बाँडेर लिने हो, बाहिरबाट खोसेर ल्याउने होइन । यस हिसाबले गर्दा कसैले छिटो ग्रोथ गर्लान्, कसैले थोरै ग्रोथ गर्लान् । तर, पूँजी वृद्धि भए अनुसारको केही समयभित्र साइज बढ्नेमा म ढुक्क छुु ।

विदेशतिर कसैले प्रोजेक्ट ल्यायो, त्यो प्रोजेक्ट कोल्याप्स भएर हात उठायो भने उसको ऋण सबै मिनाहा हुन्छ । तर, यहाँ त्यस्तो अवस्था छैन ।  

त्यसका लागि बैंकहरुले काम गर्ने पुरानो ढर्रामा परिवर्तन गर्नुपर्ला नि त ? फाइनान्सियल प्रोडक्ट बढाउनेतर्फ पनि ध्यान दिनुपर्छ कि ? धितोमा आधारित  मात्र प्रोडक्ट भयो कि ? 
-बैंकहरुले ऋण दिंदा धितो मात्र हेर्दैनन् । उसको इनकम सोर्स चाहि महत्वपूर्ण कुरा हो । बैंकबाट लिएको साँवा र ब्याज तिर्नसक्ने क्षमता छ कि छैन, त्यो अनिवार्य रुपमा नहेरी ऋण दिन पाइन्न र बैंकहरुले दिंदै दिंदैनन् । हिजोको दिनमा ‘१ करोडको सुरक्षण भयो, ल मलाई २५ लाख दिनुहोस्’ भन्दा खुरुक्क दिन्थे पनि होलान् । तर, आज धितो मात्र होइन, ऋण तिर्नसक्ने क्षमता हेरिन्छ । अर्को कुरा, कसैले घर किन्छुु भन्न आयो, केको वित्तीय विश्लेषण गर्ने ? त्यसबेला समेत सो व्यक्तिको सावा र ब्याज तिर्नसक्ने आम्दानी छ कि छैन, त्यो छ भने उसले ऋण पाउँछ । तर, कोही म उद्योग गर्छु, व्यवसाय गर्छु भनेर ऋण लिन आयो भने त्यो उद्योग व्यवसायको क्षमता कति छ, कति उत्पादन गर्छ, कति व्यापार गर्छ, कति स्टक रहन्छ, कति पेयेवल हुन्छ, डिटेल विश्लेषण गरेर मात्र लोन दिइन्छ । तर, सामान्यतया सेयर किनबेच गरिरहेको कुनै व्यक्ति सेयर लोन लिन आयो, कोही घर लोन लिन आयो, व्यापारी मान्छे गाडी किन्न आयो भने त्यसमा ठूलो वित्तीय विश्लेषण गर्न जरुरी छैन । आम्दानीको स्रोत के छ ? तिर्नसक्ने उसको क्षमता के छ ? त्यो मात्र हेरिन्छ । तर, उद्योग व्यवसायहरुमा ऋण दिंंदा चाहि बैंकहरुले डिटेल हेर्छन् । अहिले कुनै पनि बैंकले हचुवाको भरमा लोन दिन पाइन्न, दिन पनि हुँदैन । ए लेभलको स्ट्याण्डर्ड मेन्टेन नगरी ऋण जाँदैन । धितोमा आधारित रहेर बैंकहरुले ऋण दिन्छन् भन्ने चाहि होइन ।

थप प्रोडक्टहरुको बिषयमा चाहि के भन्नुुहुन्छ ?
-समय अनुसार प्रोडक्टहरु आउँछन्, ल्याइन्छ । नेपालमा हाम्रो परिवेश, हाम्रो मान्छेमा भएको इमानदारिता लगायतलाई हेर्दा जस्तोसुकै प्रोडक्ट ल्याए पनि धितो चाहि हेर्नु पर्छ पर्छ । किनभने इमानदारिता के छ, के छ भनेजस्तो लाग्छ । विदेशतिर कसैले प्रोजेक्ट ल्यायो, त्यो प्रोजेक्ट कोल्याप्स भएर हात उठायो भने उसको ऋण सबै मिनाहा हुन्छ । तर, यहाँ त्यस्तो अवस्था छैन । त्यसकारण हामीले कुनै पनि प्रोडक्ट बनाउँदा ब्याकअपमा एसेस्ट्स के छ भन्ने कुरा हेर्नुपर्छ । सामान्यतया, प्रोडक्ट भनेको चिज आवश्यकता अनुसार आउँछ । डेभलपमेन्ट बैंकहरुले जे–जे कार्यक्षेत्र हो, त्यो अनुसार प्रोडक्टहरु बन्छन् । आवश्यकता अनुसार बनाउने हो । 

हामीले विकास बैंक चाहियो भनेकै छैनौ नि । युनभरसिटी बैकिङमा जाऊँ, सबैलाई बैंक भनिदिए भइहाल्यो ।

वाणिज्य बैंकले जे काम गर्छन् विकास बैंकले पनि त्यही काम गरिरहेका छन् । नाम अनुसारको काम भएन । यस्तो अवस्थामा देशमा विकास बैंक किन चाहियो ? सबैलाई वाणिज्य बैंक बनाएर थोरै संख्याका बैंक किन नबनाउने भन्ने तर्क पनि आउन थालेको छ नि ?
-हामीले विकास बैंक चाहियो भनेकै छैनौ नि । हामीलाई बैंक बनाइदिए भइहाल्यो नि त । तर, गाउँ–गाउँमा विकास बैंकको जुन पहुँच छ, त्यसको अनुपातमा अरु बैंकको छैन । हाम्रै कुरा गर्नुहुन्छ भने दार्चुला, बैतडी, बझाङ, बाजुरा जस्तो ठाउँमा हामीले शाखा बिस्तार गरिरहेका छौ । अरुले पनि खोलेका छन् । किन चाहियो त डेभलपमेन्ट बैंक ? बैंक नै बनाए भइहाल्यो नि त । युनिभरसिटी बैकिङमा जाऊ न त । जसको पूँजी धेरै छ उसले ठूलो कारोबार गर्छ, जसको  पूँजी सानो छ, त्यसले सानो कारोबार गर्छ । आजको दिनमा हामीले वाणिज्य बैंकसँगै प्रतिस्पधा गरिरहेका छौ, उहाँहरुले पनि हामीसँगै प्रतिस्पर्धा गरिरहनुुभएको छ । २ वर्षअघिको वाणिज्य बैंकको साइज अनुसारकै पूँजी छ हाम्रो पनि । अनि, विकास बैंक किन चाहियो ? चाहिएन नि । विकास बैंक भनेर ट्याग लगाउन जरुरी पनि छैन । ग्रामीण क्षेत्रमा रियल बैकिङ फ्यासिलटी विकास बैंकहरुले नै पुर्याइरहेका छन् । त्यसकारण डेभलमेन्ट बैंक चाहिएन, युनभरसिटी बैकिङमा जाऊँ, सबैलाई बैंक भनिदिए भइहाल्यो ।

देशमा भएका सबै खालका बैंक तथा बित्तीय संस्थाहरुलाई फेरि बिग मर्जरमा लगी चुक्तापूँजी १५ अर्ब पुर्याएर बैंकको संख्या १५ वटामा सीमित गर्दा के हुन्छ ?
-हिजो त्यत्रो संख्या थियो, आज के भो ?बैंकहरुको आजको संख्याले के बिग्रिएको छ र ? म पहिलोपटक डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्ष हुँदा ८६ वटा विकास बैंक थिए, आज ३० को आसपासमा झर्न लागिसके । हिजो २ अर्बका वाणिज्य बैंक ३३ वटा थिए, आज ८ अर्ब भएर २८ वटा भए । अहिलेको संख्या किन घटाउनुपर्यो ? के बिग्रेको छ र ? मैले यही कुरा बुुझ्न सकिरहेको छैन । 

रामशरण महत अर्थमन्त्री हुँदा अब विकास बैंकले पनि ग्यारेण्टी जारी गर्न पाउनेछन् भनेर बजेट भाषणमै भनिएको चिज अझैसम्म पालना भएको छैन ।

अस्वस्थ प्रतिस्पर्धा भयो, नाफामुखी भए, उत्तरदायीत्व बिर्सिए भन्ने आरोप छ नि त ?
-२ वटा भएपछि प्रतिस्पर्धा त सुरु भयो भयो । १५ वटामा झर्दा पनि प्रतिस्पर्धा त हुन्छ । मैले कुनै क्लाइन्टसँग बिजिनेश गर्नुपर्यो भने नोक्सानी हुने गरी र डूूब्ने नै गरी त विजिनेश गर्दिँन होला । राष्ट्रबैंकले सबै कुरामा क्लियर गाइडलाइन बनाइदिएको छ । त्यो गाइडलाइनभित्र बसेर चल्ने हो । ए बाबा, यत्रो व्यापार व्यवसायमा प्रतिस्पर्धा भएको छ, बैंकमा प्रतिस्पर्धा गर्न जरुरी छैन र ? प्रतिस्पर्धा भयो भने बैंकहरु बढी निखारिन्छन् र आम  पब्लिकले बढी सुविधा पाउँछन् । नत्र, प्रतिस्पर्धा कम भयो भने प्राइसिङ बढी हुनसक्छ, कस्टमरलाई बढी चार्ज हुनसक्छ, त्यो त घाटा भयो नि । 

तपाईले विकास बैंकलाई अधिकार दिलाउने कुरामा विगतमा धेरै संघर्ष गर्नुभएको छ । अहिलेको अवस्थामा विकास बैंकहरुलाई थप केही सुविधा आवश्यक छ ? नियामकले कुनै सुविधा दिए चाहि विजिनेश गर्न अझ सहज हुन्थ्यो भन्ने कुनै कुरा छन् ?
-३–४ वर्ष पहिला धेरै विभेद थियो, तर अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको छ । अहिले त हामीले लोकल एलसी पनि पायौं । हामी दुुर्गममा गाउँ–गाउँमा छौ । लोकल लेभलमा सरकारी खानेपानीको काम, स्वास्थ्य भवन बनाउने काम, स्कूले बनाउने कामहरु हुन्छन् । ती सरकारी कामको, निर्माणको, ठेक्कापट्टाको ग्यारेण्टी जारी गर्न पाइदैन । रामशरण महत अर्थमन्त्री हुँदा अब विकास बैंकले पनि ग्यारेण्टी जारी गर्न पाउनेछन् भनेर बजेट भाषणमै भनिएको चिज अझैसम्म पालना भएको छैन । सबैभन्दा ठूलो अभाव खड्किएको भनेकै हामीले ग्यारेण्टी जारी गर्न पाएनौं भन्ने हो । यो काम गर्न विकास बैंकलाई दिन किन हिचकिचाहट ? अढाई अर्ब पूँजी भएको संस्थाको आफ्नो क्षमता अनुसारको ग्यारेण्टी गर्न किन नहुने ? हिजो २ अर्बको वाणिज्य बैंकले चाहि ग्यारेण्टी जारी गर्न हुने, साढे २ अर्बको विकास बैंकबाट चाहि जारी गर्न नहुने ? सबैभन्दा ठूलो अभाव खड्किएको बिषय नै यही हो । 

वाणिज्य बैंकहरुमा राख्न चाहि हुने, विकास बैंकले राख्न किन नहुने ? यो विषयमा हामीमाथि विभेद र पूर्वाग्रही भएको छ । 

अर्को, नेपाल टेलिकम, नागरिक लगानीकोष, पुनर्बिमा कम्पनी जस्ता ठूला संस्थाहरुले विकास बैंकमा पैसा राख्दैनन् । वाणिज्य बैंकहरुमा राख्न चाहि हुने, विकास बैंकले राख्न किन नहुने ? यो विषयमा हामीमाथि विभेद र पूर्वाग्रही भएको छ । 

महालक्ष्मी विकास बैंकको बिषयमा कुरा गरौं, तपाईका आगामी योजना के छन् ?
महालक्ष्मी विकास बैंक नेपालकै सबैभन्दा ठूलो विकास बैंक हो । पूँजी, डिपोजिट र नेटवर्कमा पनि ठूलो छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हाम्रा ७० वटा शाखाहरु छन्। यसलाई सधैभरि ठूलो बनाउने मेरो योजना छ । त्यति मात्र होइन, यो बैंकलाई बेस्ट विकास बैंक बनाउने मेरो योजना छ । हामी अब क्वालिटीमा समेत विशेष ध्यान दिनेछौ । २ वर्षभित्र १५–२० वटा शाखा थप्नेछौ । र, हाम्रो एसेट्सको क्वालिटी र काम गर्ने शैली कुनै पनि हिसाबले वाणिज्य बैंकको भन्दा कम हुनेछैन, कारण हामी २९ औं वाणिज्य बैंक हौ ।

हाम्रो साइज बढेअनुसारको क्यापिटल पुुग्दैन, त्यो अनुसारको बढाउन बोनस सेयर पनि दिनुपर्ने हुन्छ, त्यो हदसम्मको बोनस सेयर पनि दिन्छौ ।  

वाणिज्य बैंकपछि सबैभन्दा ठूलो विकास बैंक यही हो, हामी २९ औं वाणिज्य बैंक हौं । आगामी दिनमा हामीले हाम्रा कर्मचारीलाई म्यासिभ रुपमा दक्ष बनाउनेछौ । नयाँ प्रविधिलाई यूजटुु बनाई महालक्ष्मी बैंकलाई प्रविधिमैत्री बनाइनेछ । सेवा प्रवाहमा चुस्तता ल्याइनेछ । ६–७ वटा भिन्न कल्चर भएका संस्था मर्ज गरी बनेको संस्थालाई एउटै कल्चरमा ढाल्न केही समय लाग्छ, तर यी कुराको चुस्त व्यवस्थापन गरी ठूलो र बेस्ट विकास बैंक बनाउनेछौ ।

बैंकका लगानीकर्ताले तपाईको नेतृत्वबाट के अपेक्षा गर्न सक्छन् ?
मेरो काम कमाइदिने हो । लाभांश कति दिने भन्ने कुरा बोर्डको काम हो । बोनस कति हुन्छ, क्यास कति हुन्छ भनेर म डिक्लेयर गर्न चाहन्न्, मलाई फेरि नेप्सेले समाउँछ ।  तर, नाफामा समेत अर्को वर्षदेखि हामी नम्बर वान विकास बैंक हुन्छौ । संभवत हामी यही असारमै पनि हुनसक्छौ । तर, अर्को वर्षदेखि नम्बर वान हुन्छौ हुन्छौ । त्यसपछि हाम्रो साइज बढेअनुसारको क्यापिटल पुुग्दैन, त्यो अनुसारको बढाउन बोनस सेयर पनि दिनुपर्ने हुन्छ, त्यो हदसम्मको बोनस सेयर पनि दिन्छौ ।