काठमाण्डौ । हिमालयन म्युचुअल फन्डअन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ योजनाका इकाइहरु खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। 

कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल रहेका ‘हिमालयन ८०–२०’ योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ गत साउन ३२ गतेबाट बिक्री खुला गरिएको थियो। यो योजनामा मागबमोजिम आवेदन नपरेका कारण इकाइ बिक्री अवधि भदौ १५ गतेसम्म थप गरिएको हो। मागभन्दा बढी संख्यामा आवेदन परेको खण्डमा भदौ १५ गतेभन्दा अगावै कुनै पनि दिन सूचना जारी गरी निष्कासन बन्द गरिने हिमालयन क्यापिटलले जनाएको छ।  

यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरिएको छ। कुल इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन पेस गर्न सक्नेछन्। 

यो म्युचुअल फन्डमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

हिमालयन ८०–२० बन्दमुखी योजना हो। यो योजनाको अवधि १० वर्षको रहेको छ। 

सन १९९३ मा स्थापना भई विगत ३० वर्षदेखि आफ्ना ग्राहकमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक देशको अग्रणी वित्तीय संस्थामध्ये स्थापित हुन सफल रहेको छ। कोष व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडले यस सामूहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरु अपनाई गर्नेछ।

यस योजनाको कुल लगानीमध्ये ८० प्रतिशत पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानीमार्फत कम्पाउन्डिङ प्रतिफलसहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पुँजी तथा वित्त बजारको उतारचढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तका आधारमा सञ्चालन गरी लगानीकर्तालाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरी सञ्चालन गर्ने हिमालयन क्यापिटलले जनाएको छ।