काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन्। 

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी प्रधानमन्त्री दाहालले तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन्। शुभारम्भ समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिव, विभागीय प्रमुख, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृत, हेलो सरकार कक्षमा कार्यरत कर्मचारी सहभागी थिए। 

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ। गुनासाहरु फोन, ई–मेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एपलगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ। हेलो सरकारको डेस्कले प्राप्त गुनासाहरु तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।

हेलो सरकार चौबीसै घन्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरुप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ। त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको छ।

हेलो सरकारमा आएका गुनासाहरु गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ। यसका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ।

गुनासाहरु सम्बोधनका निम्ति र्यापिड रेस्पोन्स टिमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बताए। सोही टिमले सम्बन्धित निकायमा पठाइएका गुनासाहरु कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ।

हेलो सरकारको चौबीसै घन्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन्।