file photo
अजयकुमार मिश्र (प्रमुख कार्यकारी अधिकृत)-यूनाइटेड फाइनान्स लिमीटेड
नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षका लागि अघिल्लो वर्षभन्दा अलिक ढिलो गरी मौद्रिक नीति सार्वजनिक गर्यो । तपाई लामो समयदेखि बैंकिङ क्षेत्र र यहाँ आउने नीति तथा व्यवस्थाको विश्लेषण गरिरहनुभएको छ । तपाईको विश्लेषणमा यसपटकको मौद्रिक नीति कस्तो आयो ?
अपेक्षाको हिसाबले पहिला हेरौं । मौद्रिक नीति आउनुभन्दा झण्डै १ महिनाअघि राष्ट्रबैंकले विभिन्न अन्तरक्रियामार्फत निकै कडा रुपमा मर्जरको प्रक्रिया अगाडि बढाउने गरी धारणाहरु सार्वजनिक गर्यो । ‘बिग मर्जर’का कुरा आए, ‘फोर्सफूल मर्जर’का कुरा आए, संख्या घटाउने कुरा आए, ‘मौद्रिक नीतिअघि नै सम्झौता गर्नुहोस्’ भन्ने कुरा पनि आए । बजारमा एउटा तरङ्ग आयो । र, केही संस्थाहरु त्यो तरङ्गलाई आत्मासाथ गर्दै मर्जर प्रक्रियामा अगाडि पनि बढे । बजारमा अब चाहि मर्जर होला र बैंकको संख्या १५ देखि २० वटामा झर्छ भन्ने माहौल बनिसकेको अवस्था थियो । मौद्रिक नीति आयो, तर त्यहाँ ती विषय सान्दर्भिक रुपमा सम्बोधन भएनन् । र, मर्जरका लागि जुन इन्सेन्टिभ ल्याएको भनिएको छ, त्यो इन्सेन्टिभले मर्जर हुनेवाला छैन । मलाई मर्जर गर्नुछ, मलाई विजिनेशका लागि मर्जर गर्नुछ भने गर्छु, तर त्यो इन्सेन्टिभ पाइन्छ भनेर मात्रै मर्जर हुनेवाला छ जस्तो लाग्दैन, त्यसैको लोभमा कुनै संस्था अगाडि आउलान जस्तो पनि लाग्दैन । यसर्थ मर्जर गर्ने र बैंकको संख्या घटाउने सवालमा यो मनिटरी पोलिसी मूर्त रुपमा अगाडि आएको छैन ।
विगतका वर्षहरुदेखि नै तरलताका समस्याहरु छन् । क्रेडिट क्रञ्च(तरलता अभाव)का समस्याहरु छन् । त्यसलाई तात्विक रुपमा यो मौद्रिक नीतिले सम्बोधन गर्न सकेको छ जस्तो मलाई लाग्दैन ।
तेश्रो, व्यवसायीको लामो समयदेखिको माग ब्याजदर घट्नुपर्यो भन्ने थियो । कतिपयले यो मौद्रिक नीतिले ब्याजदर घटाउँछ भन्नेजस्ता कुरा पनि गरिरहेका छन्, तर त्यो तात्विक रुपमा घट्दैन । सामान्य उतारचढाव मात्रै हो । यसले व्यवसायीले उठाएका माग पनि सम्बोधन गर्दैन ।
ऋणपत्रको कुरा गत वर्ष पनि आएकै हो । २५ प्रतिशत ऋणपत्रको इस्यूले केही हदसम्म लोनेबल फण्ड चाहि बढ्ला, धेरै ठूलो तात्विक अन्तर यसले पनि ल्याउँदैन ।
यसरी समग्रमा हेर्दा अपेक्षा गरिएको तुलनामा मौद्रिक नीति सशक्त रुपमा आएन भन्ने मेरो बुझाई हो ।
यो पटकको मौद्रिक नीतिअघि ‘बिग मर्जर’ वा ‘फोर्स मर्जर’का कुराले माहौल निकै तताएको थियो । बैंक तथा वित्तीय संस्थाका संचालक समितिका अध्यक्ष र सीइओहरु(तपाईहरु)लाई पनि बोलाइयो । क र ख वर्गका बैंकलाई त एकहप्ताभित्रमै मर्जर जोडी खोज्ने उर्दी समेत जारी भयो । त्यो जुन स्पिरिटमा अगाडि बढेको थियो, मौद्रिक नीतिमा त्यो कुराको सही सम्बोधन भएन । के हुनसक्छ यसको कारण ? एकैछिन यूनाइटेड फाइनान्सको सीइओभन्दा पनि विश्लेषकको रुपमा रहेर विश्लेषण गरौं न ?
यसमा दुईवटा कुरा हुन्छन् । एउटा, कुनै पनि पोलिसीहरु लागू गर्दा त्यसको दीर्घकालीन सोंच हुनु आवश्यक छ । अन्तरक्रिया हुन आवश्यक छ । अहिले पत्रपत्रिकामा आएको र बजारमा आएको कुरालाई आधार मान्ने हो भने राष्ट्रबैंक जुन अभियानमा अगाडि बढेको थियो, त्यसमा ठूलो व्यापक सहमति जुट्न नसकेको अवस्था हो कि भन्ने देखिएको छ । त्यो अवस्थामा एक स्टेप ब्याक भएको अवस्था छ। तर, राष्ट्रबैंक कडा रुपमा अगाडि बढिसकेको थियो । हामीलाई बोलाएर कडा निर्देशन समेत दिइसकिएको थियो, यस्तो अवस्थामा समेत ब्याक हुनुले केन्द्रीय बैंकको गरिमामा केही न केही प्रश्नचिन्ह पनि उठाइदिएको छ ।
यसमा धेरै स्टेक होल्डरको लविङले समेत काम गरेको हुनसक्छ । धेरै स्टेक होल्डरहरुले दवाब सिर्जना गरेका पनि हुनसक्लान् । यी विविध कारणहरु हुनसक्छन् ।
तर बेला उचित थियो । पटक–पटक उठेको विषय थियो–बैंकको संख्या धेरै भयो, घटाउनुपर्छ भन्ने कुरा । यसपालिको मौद्रिक नीतिले त्यो अडान कायम राखेको भए तात्विक रुपमा नम्बर घट्थ्यो ।
यो पटकको मौद्रिक नीतिमा मर्जरका लागि प्रोत्साहित गर्ने भनेर ल्याइएका इन्सेन्टिभ पर्याप्त छैनन् भन्ने कुरा अघि तपाईले नै संकेत गरिरहनुभएको थियो । के हुँदा चाहि ती पर्याप्त हुन्थे ?
अहिले आएको इन्सेन्टिभलाई हेर्नुहोस् न । स्प्रेड रेटमा एकदम सामान्य अन्तर दियौं, एउटै चिज के दियौं भने शाखा खोल्न स्वीकृति लिनु नपर्ने भन्यौं । कार्यविधि आउन बाँकी नै छ, त्यसमा पनि के–के रेस्ट्रिक्सन छ वा छैन भन्ने कुरा नहेरी धेरै बोल्नसक्ने अवस्था हुँदैन । तर मैले काठमाण्डौमा धेरै शाखा खोल्न पाउँछु भनेर मात्रै मलाई त्यसले इन्सेन्टिफाई गर्छ त ? गर्दैन नि । सीइओ, डेपुटी सीइओ र संचालकको ‘कुलिङ पिरियड’ हटाउँदैमा मलाई मर्जरमा जान उत्प्रेरित गर्छ त ? लगानीकर्तालाई त्यो मतलबको विषय होइन । हो, कर्मचारीको लागि मतलबको विषय हुनसक्ला । तर, मर्जर गर्ने त लगानीकर्ताले हो । उनीहरुको इन्ट्रेस्ट केले फूलफील हुन्थ्यो त ? केही ट्याक्स बेनिफिट्सहरु र स्प्रेडमै पनि अलिक ठूलो भिन्नताले प्रोत्साहित गर्न सक्थ्यो । सीसीडीमा फ्लेक्सिबिलिटी दिइएको भए पनि केही न केही प्रभाव पाथ्र्यो । बैंकहरुले भनेकै थिए त–हामी मर्जरमा जान तयार छौं, हामीलाई सीसीडीमा केही फ्लेक्जीबिलिटी दिनुस न त, हामी मर्जरमा जान तयार छौ, हामीलाई ट्याक्स इन्सेन्टिभ्स दिनुस न त । मागेका चिज त यिनै हुन् नि । हामी मर्जरमा जान तयार छौ, हामीलाई ०.५ प्रतिशतको नेट इन्ट्रेस्ट स्प्रेडको एउटा रेञ्ज दिनुस न त पनि भनिएको थियो, यी चिजहरु आएनन् । सेयर होल्डरले मर्जरमा गएर मैले दुई पैसा रिटर्न पाउँछु भन्ने भयो भने न जाने हो । त्यो केबाट आउथ्यो ? कि ट्याक्स बेनिफिटबाट आउथ्यो, कि त सीसीडीको रेटबाट आउथ्यो, की इन्ट्रेन्स्ट स्प्रेडबाट आउथ्यो । त्यो तीनवटै एरियामा यो मौद्रिक नीतिले तात्विक रुपमा त केही पनि दिएको छैन । यसकारण यसले प्रेरित चाहि गर्दैन । तर, स्वस्फूर्त रुपमा जान भने कसैलाई रोकेको छैन । जस्तो यूनाइटेड फाइनान्सकै कुरा गर्दा, म मर्जरमा केही संस्था लिन तयार छु । मलाई इन्सेन्भिट चाहिन्न । यो नलिईकनै मैले २–४ वटा संस्थासँग कुरा गरिरहेको अवस्था पनि होला । त्यो स्वस्फूर्तमा जाने चलिरहन्छ, तर सुविधा पाइन्छ भनेरै चाहि मर्जर हुँदैन ।
भनेपछि मौद्रिक नीतिबाट मर्जरको विषय पहिला धेरै हल्ला भयो । यसकारण समेत मर्जरको इस्यू छाड्न सकिने अवस्था थिएन । अन्तिम अवस्थामा कर्मकाण्ड पूरा गर्न मात्रै यो विषय आएको जस्तो पो देखियो ?
पहिला बजारमा दिएको इमेजलाई छोप्ने प्रयास मात्र हो । यसले मर्जरलाई तात्विक रुपमा ट्रिगर गर्दैन ।
देशमा बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भयो भनिन्छ । तपाईहरु पनि भन्नुहुन्छ । संख्या घटे राम्रो हुन्छ पनि भनिन्छ । तर मर्जरबाट संख्या घट्ने बेलामा चाहि यसरी खेल हुन्छ । किन यस्तो हुन्छ ? कसले खेल्छ यसरी ? कसले चाहदैन संख्या नघटोस् भनेर ?
यसका २–३ वटा कारक तत्वहरु छन् । सस्तो शब्द होला, म यसलाई ‘भिजिटिङ कार्ड टेन्डेन्सी’ भन्छु । म फलानो बैंकको संचालक, म फलानो बैंकको अध्यक्ष, म फलानो बैंकको सीइओ भन्ने प्रवृति । मर्जरमा गएपछि दुईवटा बैंक मिलेर पनि १४ वटा संचालक हुँदैनन् । ७ जनाले त छाड्नै पर्छ । भोलि दुईवटा बैंक मिसिँदा एउटा सीइओले छाड्नै पर्छ । भोलि दुईवटा बैंक मिसिँदा केही डेपुटी सीइओहरु, केही विभागीय प्रमुखहरु जागिरविहीन पनि बन्नु पर्ला । भनेपछि केही चिज त गुमाउनुपर्छ । त्यो गुमाउन तयार हुने जमात हामीकहाँ सानो छ ।
तपाईले याद गर्नुभयो र पत्रपत्रिकालाई आधार मान्ने हो भने हाम्रै केही बैंकर साथीभाईले मर्जर गर्ने हो भने संचालकको संख्या ११–१२ पुर्याइदिनुपर्योसम्म भने । त्यसले के संकेत गरिरहेको छ त ? मैले डाइरेक्टर पद नपाउने हो भने म मर्जरमा जान तयार छैन भन्ने स्पष्ट कुरा हो त्यो । होइन म सीइओ छाड्न चाहँन्न । ठूलै बैंकको पनि डेपुटी सीइओ छाड्न चाहँन्न । टेन्डेन्सी त यस्तै भयो नि । यी सबै चिजले मर्जर प्रक्रियालाई अगाडि बढ्न दिंदैन । व्यक्तिगत स्वार्थ हाबी भएर यस्तो भयो जस्तो लाग्छ । स्वार्थ त्याग्ने बित्तिकै मर्जर संभव छ भन्ने कुरा जनता र ग्लोबल आइएमई बैंकको मर्जर सम्झौताले देखाएको छ । यसलाई उदाहरणको रुपमा लिनुपर्छ, उनीहरुले न मौद्रिक नीति कुरे, न त इन्सेन्टिभको आशा गरेरै बसे । के त्यहाँ ५–७ जना संचालकले छाड्नुपर्ने अवस्था होइन र ?
त्यसकारण जबसम्म हामी उदार चित्त लिएर संस्थाको हित हेर्दैनौ, तबसम्म मर्जरका यस्ता नीतिहरुले केही प्रभाव पार्दैनन् । व्यक्तिगत रुपमा पद त्याग गर्न नसक्ने, पकड त्याग गर्न नसक्ने, यो मेरो बैंक हो, यो मेरो नाम भन्ने तत्व जबसम्म रहन्छ, तबसम्म मर्जर सहज रुपमा अगाडि बढ्दैन ।
राष्ट्रबैंकले अडान नलिँदा, बलियो अडान नहुँदा मर्जरका लागि बनेको ऐतिहासिक वातावरण हामीबाट फुत्कियो उसो भए ? हामी चुक्यौ ?
हो, फुत्कियो । अहिले माहौल बनेको थियो । अहिले पोलिसी राम्रो बनाइदिनुपथ्र्यो, बेला यही थियो । मान्नुस–नमान्नुस बैंकको संख्या १५ देखि २० को बीचमा सीमित हुन्थ्यो । तर, बेला घर्कियो, हामी नराम्ररी चुक्यौं ।
मौद्रिक नीतिका अन्य विषयमा समीक्षा गर्दा बैंकहरुले राष्ट्रबैंकबाट लिने पुनरकर्जाको दरमा सामान्य कटौति भएको छ, यसकारण ब्याजदर घट्छ भन्नेहरु पनि देखिए । तपाई यो तर्कप्रति कतिको सहमत हुनुहुन्छ ?
टोटल्ल लेण्डिङ पोर्टफोलियो २५ खर्बको हाराहारीमा छ । पुनरकर्जाको आकार बढी नै भयो भने पनि १०० अर्ब भनिदिऊ । कति प्रभाव पर्ला त ? १०० अर्बको पुनरकर्जा कोष हामीले बनायौं भने त्यसमा १ प्रतिशत ब्याजदर घटाउन पायौं । टोटल लोन पोर्टफोलियोमा त्यसको प्रभाव के ? नेग्लिजेबल । १५ लाखभन्दा कम कर्जामा सर्भिस चार्ज नलिने भनिएको छ, त्यसको प्रभाव कति ? नेग्लिजेबल । स्प्रेडरेटमा प्वाइन्ट १ प्रतिशत, प्रभाव कति ? नेग्लिजेबल । भनेपछि सिग्नीफिकेन्ट इम्प्याक्ट त कहीँ पनि आएन नि । पुनरकर्जाका लागि योग्य हुने व्यक्तिले ६ महिनाको पुनरकर्जामा ब्याज सस्तो पाउने हो । ६ महिनापछि के फेरि ? भनेपछि लङटर्म ब्याज त्यतिबेला घट्थ्यो, जब हामीले लिक्वीडीटीलाई इज गथ्र्यौ । लिक्वीडिटी इज भएपछि कस्ट अफ फण्ड घट्थ्यो र बल्ल ब्याज घट्ने हो । जब हाम्रो बैंकिङ उद्योगकै औसत आधारदर १० प्रतिशत भन्दा माथि छ भने कसरी कर्जाको दर घट्न सक्छ ? त्यो घट्ने उपाय के त ? जतिले ऋणपत्र बेचिरहेका छन्, सबैले १० प्रतिशतभन्दा माथिको रेटमा बेचिरहेका छन् । लङटर्म बाध्यता कोर क्यापिटलको २५ प्रतिशत भनिएको छ, म १० प्रतिशत भन्दा माथि पुग्दैछु भने मेरो ब्याजदर कसरी घट्छ त ? कुनै पनि बैंकको एभरेज कस्ट अफ फण्ड ९ प्रतिशतभन्दा माथि छैन, तर म १० प्रतिशतभन्दा माथिको ऋणपत्र बोक्दैछु । भोलि त्यसकाकारण मेरो कस्ट अफ फण्ड अलिकति बढ्छ । एउटै चिज के हो भने ऋणपत्रको सतप्रतिशत मैले लगानी गर्न पाउँछु । त्यसलाई लिक्वीडिटीका लागि २० प्रतिशत छुट्याउनु परेन । तर, कस्ट अफ फण्ड त मेरो बढ्छ । १०.२५ प्रतिशतमा उठाएको पैसा मैले कतिमा लगानी गर्ने ? सिम्पल फण्डामेन्टल हेर्नुस । एभरेज बेस रेटभन्दा माथि मैले ऋणपत्र बेच्दैछु भने मेरो लगानीको रेट के हुन्छ ? मेरो सामान्य बुझाई चाहि यही हो ।
उसो भए ब्याजदर घटाउने विषयमा र हरेक वर्ष साइकलको रुपमा देखिने तरलता अभावको समस्या लगायतका इस्यूमा यो मौद्रिक नीतिले पनि उपचारको काम गर्छ जस्तो तपाईलाई लाग्दैन ?
तात्विक रुपमा उपचारको काम गर्दैन । सामान्य उतारचढाव भनेको नर्मल फेनोमेना हो, तात्विक रुपमा यसले प्रभाव पार्दैन ।
मौद्रिक नीतिले कोर क्यापिटलको २५ प्रतिशत ऋणपत्र निश्कासन गर्नुपर्ने भन्दै समयसीमा पनि तोकेको छ । ऋणपत्रको भूत देखाएर सेयर बजारमा पछिल्लो कालमा खेल्ने काम भएको छ । सेयर बजारमा यो इस्यूले प्रभाव पार्नसक्छ ?
तात्विक रुपमा यो विषय मैले बुझेको छैन । नेपालको सेयर बजार मैले आजसम्म बुझेको छैन । सायद मेरो त्यो कोर विजिनेश नभएर पनि होला । मेरो बझुाई सरल छ, १० प्रतिशतभन्दा माथिको दरमा सबै बैंकले जसरी ऋणपत्र जारी गरिहेका छन्, रु. ६०–७० अर्बको ऋणपत्र बजारमा आउँछ, त्यसमा लगानी हुने पैसा निक्षेपबाटै घट्ने हो । ऋणपत्रमा ठूला संस्थागत लगानीकर्ताले लगानी गरिरहेको अवस्था छ, व्यक्तिगत लगानी निकै कम छ । र, विभिन्न अवस्थामा चाहि हामीले फोर्सफुल्ली, फकाएर, सम्पर्क सूत्र लगाएर ऋणपत्र बेचिरहनु परेको अवस्था छ । अन्ततः यो पैसा डिपोजिटबाटै मुभ हुने पैसा हो । खालि के हून्छ डिपोजिटमा यो पैसा भएको थियो भने म ८० प्रतिशत लेण्डिङ गर्थे भने ऋणपत्रमा कन्भर्ट हुँदा सतप्रतिशत नै लेण्डिङ गर्न पाइन्छ । यसले सिग्नीफिकेन्ट्ली कहीँ पनि इम्प्याक्ट बढाउँदैन । र, यसले सेयर बजारमा प्रभाव पार्छ कि पार्दैन भन्ने बिषयलाई कसरी हेर्नुपर्छ भने ऋणपत्रमा भएको पैसाले तरलतामा प्रभाव पार्छ, लगानीयोग्य रकममा प्रभाव पार्छ भने सेयर बजारमा प्रभाव पर्छ । किनभने लिक्वीडिटी जति सहज हुन्छ, सेयर बजार त्यति माथि गएको हाम्रो इतिहासले देखाउँछ । तरलता टाइट भए सेयर बजार तल आउने हाम्रो इतिहासले देखाएको छ । प्राविधिक रुपमा सेयर बजारको बिषयमा मलाई धेरै ज्ञान छैन । तर सामान्य रिलेसनसीपको रुपमा हेर्दा लिक्वीडिटीमा के प्रभाव पार्छ ऋणपत्रले, त्यो प्रभाव मात्रै बजारमा देखिनसक्ला ।
मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामा बासल थ्रीको नम्र्सको पूर्ण कार्यान्वयनको महत्वपूर्ण घोषणा पनि भएको छ । यसले नेपालको बैंकिङ उद्योगमा के परिवर्तन ल्याउँछ ?
बासल थ्रीको पूर्ण कार्यान्वयन गरी लोकल चिजहरु जुन हामीले थपघट गरेका छौ, त्यो हटाइदिने हो भने धेरै ठूलो प्रभाव आउँदैन । जस्तो भनौ न बासल थ्रीले क्यापिटल रिक्वायरमेन्ट र चार्जहरु बढाउला, रिस्क बेस्ड क्यापिटल रिक्वायरमेन्टहरु सबै बढ्छन् । सीसीडी त हट्छ नि त । दुईतिरबाट अंकुश लगाइरहनु पर्दैन । बासल थ्री भयो भने रिस्क कन्ट्रोल हुन्छ । यसले स्वस्थ प्रतिस्पर्धालाई टेवा पुर्याउँछ । बासल थ्री अहिले चाहि अपरिहार्य आवश्यकता हो । बासल थ्री नम्र्समा गयौं भने बैंकहरुमा देखिएको एग्रेसन, एग्रेसिभ ग्रोथ, अनैतिक अभ्यासका कुराहरुलाई मिनिमाइज गर्छ । त्यसकारण यो लागू हुनैपर्ने थियो, अब राम्रै गर्छ ।
प्रसंग बदलौं, तपाईले अघि नै दुई–चारवटा राम्रो कम्पनी पायौं भने हामी लिन्छौ भन्नु हुँदै थियो । तपाईहरुको रणनीति अरुलाई लिने, अरुतिर गएर नमिसिने भन्ने हो ?
हामी यसमा स्पष्ट छौ । भर्खर–भर्खर हाम्रोमा मुथुट फाइनान्स आएको छ । मुथुट फाइनान्स भनेको इण्डियाको निकै ठूलो फाइनान्स कम्पनीमध्येको एक हो । भारतमा ५ हजार शाखा भएको फाइनान्स कम्पनी हो । संसारकै सबैभन्दा ठूलो गोल्ड लोन प्रोभाइडर हो । र, वैदेशिक लगानीको रुपमा मुथुट फाइनान्स भर्खरै भित्रिएको अवस्थामा यो संस्था कहीँ गएर जाँदा त्यो इन्ट्रेस्ट डाइलुट हुन्छ । त्यसकारण हामी यही संस्थालाई ठूलो बनाउने लक्ष्यमा अगाडि बढेका छौ । साना र राम्रा संस्था पायौं भने हामी हाम्रो छातामुनि ल्याउन चाहि तयार छौ । र, त्यो विषयमा केही कुराकानीहरु पनि अगाडि बढिरहेका छन् ।
यही वर्ष मर्जरमा जाने संभावना चाहि छ कि छैन ?
अनुकुल मिल्यो भने अचम्म नमान्दा हुन्छ । हामी ग्रोथमा अगाडि बढेका छौ । हामी हरेक किसिमको ग्रोथमा अगाडि बढ्न चाहन्छौ ।
पछिल्लो समय यूनाइटेड फाइनान्सको ग्रोथ तपाई व्यवस्थापनको नेतृत्व सम्हालेपछि बढेको छ । छोटो समयमै राम्रो ग्रोथ देखियो । कसरी संभव भयो यति चाँडै ? तेश्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा ह्वात्तै नाफा बढेको छ । त्यस्तो के गर्नुभयो यहाँले ?
व्यवस्थापनमा एउटा सिद्धान्त छ । सर्टेन समय पार गरिसकेपछि अर्गनाइजेसन परिपक्व हुन्छ र स्याचुरेसनमा जान्छ । त्यसबाट डिक्लाइन सुरु हुन्छ । यसलाई इनरजाइज गर्ने बेला र झकझक्याउने बेला त्यही हो । यूनाइटेड फाइनान्स २५ वर्ष पुरानो संस्था हो । नेपालका बैंकिङमा यो अवधि लामै समय हो । र, एक किसिमको म्याचुअर्ड स्याचुरेसनमा पुगेको अवस्था थियो, मैले जमेको पानीमा ढुंगा हान्ने काम मात्र गरेको हुँ । एकजना मान्छे पनि बाहिरबाट ल्याएको होइन, बाहिरबाट आउने त म एक्लो हुँ । यही टिम हो । मैले झकझक्याउने काम गरेँ । झकझक्याउँदा उहाँहरुले ९ महिनामा नगरेको काम ३ महिनामा गरेर देखाउनुभयो । त्यसले के प्रमाणित गर्छ भने यूनाइटेड फाइनान्सको टिम निकै बलियो टिम छ । अलिकति उहाँहरुलाई उर्जाको अभाव भएको थियो, त्यो उर्जा मैले प्रदान गरेको हुँ । एउटा त्रैमासमा सतप्रतिशत भन्दा बढीको ग्रोथ हासिल भएको छ । ५ करोड १२ लाख नेट प्रफिट चैतमा थियो, ११ करोड नेट प्रफिट असारमा भयो । फेरि रिकभरिबाट पनि धेरै होइन, अधिकांश संचालन आम्दानी नै हुन् । अलिकति झकझक्याउन आवश्यक थियो, त्यो गरेँ । यसले के संकेत गर्छ भने आउने वर्ष यी साथीहरुले यूनाइटेड फाइनान्सको ग्रोथलाई निकै ठूलो साइजमा पुर्याउँछन् । टिम सक्षम छ, प्रोसेस स्थापित छ । इनर्जीको खाँचो थियो, मैले त्यो उर्जा मात्र हालेको हुँ ।
यूनाइटेड फाइनान्सका आगामी योजना र यात्राको विषयमा बताइदिनुस न । कसरी अगाडि बढनुहुन्छ ?
यूनाइटेड फाइनान्स अब बिस्तारमा अगाडि बढ्यो । केही समय सुतेको थियो, अब बिस्तारमा अगाडि बढेको छ । हामी यो आर्थिक वर्षको पहिलो ६ महिनामा १० वटा शाखा थप्दैछौ र पछिल्लो ६ महिनामा पनि ५ देखि १० वटा शाखा थप्छौ । त्यस मानेमा भइरहेको १५ वटा शाखालाई हामीले ३० देखि ३५ वटामा बिस्तार गर्नेछौ ।
मुथुट फाइनान्स आइसकेको छ । उसका दुईवटा बलिया पक्ष छन्: एउटा गोल्ड लोन र अर्को रेमिट्यान्स । मुथुट फाइनान्सले भारतबाट महिनामा औसतमा ४ लाख रेमिट्यान्सको ट्रान्सजेक्सन नेपाल पठाउँछ । जुन विभिन्न बैंकिङ च्यानलबाट आइरहेको छ । त्यो रेमिट्यान्सको सिग्नीफिकेन्ट पोर्सन हामीमार्फत आओस् भन्ने हाम्रो चाहना हो । त्यसका लागि हामीले शाखा नेटवर्क बढाउनुपर्छ ।
गोल्ड लोनमा हामी अग्रेसिभ्ली जानुछ । हामी गोल्ड लोनमा अग्रणी हुने गरी अगाडि बढछौ । मुथुट फाइनान्स डिजीटल बैंकिङमा निकै अगाडि छ । त्यसबाट हामी डिजिीटल बैंकिङको प्लेटफर्ममा फड्को मार्ने प्रयास गर्छौै ।
सिस्टम, प्राक्टिस, रिस्कमा यूनाइटेड फाइनान्समा कहीँ प्रश्न छैन । नियामकले पनि हामीलाई हाइली निर्देशन पालना गर्ने, गभनरनेन्समा चलेको संस्था हो भनेर चिन्छन् । त्यसलाई हामीले निरन्तरता दिन्छौ । त्यसकारण हाम्रो एक मात्र उद्देश्य भनेको यूनाइटेड फाइनान्सलाई बजारमा अझ सवल बनाएर स्थापित गर्ने हो ।
भनेपछि यूनाइटेड फाइनान्सका प्रमोटरबाहेक सेयरधनीका समेत राम्रा दिन आउन लागेका हुन् भनेर बुझ्दा हुने भयो ?
अवश्य पनि । यी सबै कामले प्रतिफल दिन्छ । लगानीकर्ता मात्र होइन, सबै स्टेक होल्डरलाई यसले फाइदा गर्छ ।
यूनाइटेड फाइनान्स पृथक ढंगले अगाडि बढ्न खोजिरहेको छ भन्ने बुझ्दा पनि हुने भयो ?
अरुभन्दा फरक ढंगले नै हामी अगाडि बढ्छौ । मानव संसाधनको दृष्टिकोणबाट हेर्नुहुन्छ भने सबैभन्दा सशक्त जनशक्ति भएको फाइनान्स कम्पनी हौं हामी । यहाँ उपल्लो लेभलमा म्यानेजर भन्दा माथि हेर्दा नै १४–१५ जना कर्मचारी छन् । अरुमा यस्तो जनशक्ति नै छैन । ती साथी पनि सबै वाणिज्य बैंकको पृष्ठभूमिका छन् । त्यसअर्थमा यो बलियो संस्था हो । अब हामी नतिजाबाट समेत यो विषयलाई प्रमाणित गर्छौ ।
अन्तमा तपाईको व्यक्तिगत विषयमा एउटा प्रश्न सोध्न मन लाग्यो । तपाई पहिला फाइनान्स कम्पनीमा हुनुहुन्थ्यो, विकास बैंकमा जानुभयो, विकास बैंकलाई मर्ज गरेर वाणिज्य बैंकमा पुग्नुभयो । फेरि फर्किएर फाइनान्स कम्पनीमै आउनुभयो । फाइनान्स कम्पनीमा त्यस्तो आकर्षक पक्ष चाहि के हुन्छ ?
काम गर्नलाई वाणिज्य बैंकमा सजिलो छ । सहजताका हिसाबले वाणिज्य बैंक नै सहज हो । करिअर ग्रोथको सिलसिलामा मैले वाणिज्य बैंकबाट सुरु गरेँ । त्यसपछि फाइनान्स कम्पनी हुँदै विकास बैंकमा गएँ । त्यहाँबाट मर्जर भई वाणिज्य बैंकमा पुगेँ । फेरि म फाइनान्समा फर्किएको अवस्था छ । मुख्य कुरा जागिरको सन्तुष्टि नै हो । काम गर्दा कहाँ मज्जा आउँछ, कहाँ नतिजा देखाउन सकिन्छ भन्ने हेर्ने हो । संसारको एउटा परिपाटी कस्तो छ भने एक नम्बरलाई मात्र याद गर्छन्, दुई नम्बरलाई याद गर्दैनन् । चन्द्रमामा सबैभन्दा पहिला को पुग्यो, निकै महत्वपूर्ण हुन्छ, हवाईजहाज सबैभन्दा पहिला कसले बनायो, हामीले सामान्य ज्ञानमा पढ्छौ । त्यसपछि दोश्रो कसले बनायो, हामी सामान्य ज्ञानमा पढ्दैनौ र कुनै जाँचमा सोधिन्न । त्यस्तै हो यो कुरा पनि । हिजो वाणिज्य बैंकमा डेपुटी सीइओ थिएँ, जतिसुकै मेहेनेत गरेर काम गरे पनि, जतिसुकै योगदान पुर्याए पनि त्यसको जस वा अपजस प्राप्त हुन्न थियो । सीइओ भइसकेपछि ती दुवै चिजमाथि तपाईको अधिकार हुन्छ । जस पनि तपाईको अधिकार हो भने अपजस पनि तपाईको अधिकार हो । तपाईले खुलेर आफ्नो क्षमता देखाउन पाउनुहुन्छ । त्यही सोंचले वाणिज्य बैंकको डेपुटी सीइओ छाडेर म फाइनान्स कम्पनीमा आएको अवस्था हो र म पूर्ण रुपले सन्तुष्ट छु । हेर्दै जानुहोला आउने २ वर्षमा यूनाइटेड फाइनान्सको पहिचान नै फरक भइसक्नेछ, रंग फेरिनेछ । त्यसले आनन्द दिन्छ । त्यसले सन्तुष्टि दिन्छ ।
अहिले जुन उमेरमा हामी छौ, अब दालभातको जोहो गर्ने भन्दा पनि सन्तुष्टिका लागि काम गर्ने हो । त्यो हिसाबले मेरो यो छनौट निकै उपयुक्त छनौट हो जस्तो लाग्छ ।
-सोमनाथ बास्तोला
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago